कास्कीको पर्यटकीय गाउँ ताङतिङका शिक्षक एवं पर्यटन अभियन्ता ओमप्रकाश गुरुङको संस्मरणात्मक कृति ‘ताङतिङ मेरो गाउँ’ प्रकाशित भएको छ। पुस्तकमा ताङतिङको प्रकृति, संस्कृति, जीवनशैली, विकास र जनजीवनका विषयमा लेखिएका तीस वटा निबन्ध छन्।
मादी गाउँपालिका–२ ताङतिङ (१,६६० मिटर) को हिमालय मिलन मा.विमा प्रधानाध्यापकका रुपमा कार्यरत गुरुङको पुस्तकमा लाहुरे संस्कृति, ग्रामीण जीवनका सुखदुःख र गाउँ विकासका कथा सरल भाषामा लेखिएको छ।
लाहुरे संस्कारमा हुर्के/बढेका गुरुङ गाउँमा बसेर शिक्षा दान गर्दै आएका छन्। पछिल्लो समय उनी ताङतिङलाई पर्यटनधाम बनाउने अभियानका नायक समेत बनेका छन्। त्यसैले आज ताङतिङ चम्किएको छ।
एउटा गाउँको विकास कथा नयाँ पुस्ताका लागि महत्वपूर्ण हुन्छ। त्यसैले पुस्तकको भूमिकामा राजनीतिक विश्लेषक एवं लेखक झलक सुवेदी सुवेदी लेख्छन्, ‘यो पुस्तक मादी गाउँपालिकाका विद्यालयको सामाजिक शिक्षा विषयमा रिफ्रेन्स बुकका रुपमा अध्ययन गर्न लगाउनु एकदमै राम्रो हुन्छ। यो नयाँ पुस्ताका लागि प्रेरणादायी पुस्तक बन्नेमा म विश्वस्त छु। यसमा हाल गाउँपालिकाका अध्यक्ष रहेका प्रकाशका दौंतरी वेदबहादुर गुरुङले सहयोग गर्न सक्नुहोला भन्ने मेरो आशा छ।’
पुस्तकका रुपमा आउनुअघि नै गुरुङका निबन्धहरू सेतोपाटी डटकम, नागरिकलगायतमा प्रकाशित भएर लोकप्रिय भइसकेका थिए।
पुस्तकको सम्पादक पर्यटन पत्रकार अमृत भादगाउँले हुन्। पुस्तकमा भादगाउँले लेख्छन्, ‘आफ्नो श्रम, सीप र विवेकबाट स्वदेशमै सुन फलाउन सक्रिय उनको जीवनकथा प्रेरणादायी छ। पछिल्लो समय ताङतिङलाई ग्रामीण पर्यटनको नमुना गन्तव्य बनाउने अभियानमा समर्पित गुरुङले समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्दै आएका छन्। हरेक गाउँमा उनीजस्ता एकएक जना मात्र सामाजिक अभियन्ता भइदिएमा समाजले छिट्टै फड्को मार्न सक्छ।’
आउँदो माघमा पोखरामा छोटो/मिठो कार्यक्रम गरेर पुस्तक लोकापर्ण गर्ने तयारी भैरहेको गुरुङले बताए। ‘ताङतिङ मेरो गाउँ’ उनको पहिलो कृति हो, दोस्रो कृति ‘हर्कजङ गुरुङ’ पनि भर्खरै प्रकाशित भैसकेको छ।
पुस्तक प्रकाशक नेत्रकुमारी गुरुङ हुन्। एक सय ६४ पेजको ‘ताङतिङ मेरो गाउँ’ पुस्तकको अन्तिम खण्डमा रंगीन तस्बिरहरू समेटिएको छ। पुस्तक मोल ३ सय रुपैयाँ राखिएको छ।
सम्पर्कः ओमप्रकाश गुरुङ–९८५६०२८८२७
हेर्नुहोस् गुूरूङका केही आलेख