केही दिनदेखि स्वदेश विदेशमा बस्ने हामी नेपालीको बिचमा इन्काउन्टरको बारेमा बढो चर्चा भइरहेको छ। एउटा अवोध बालकको अपहरण पश्चात हत्या गरिए लगत्तै उक्त अपहरण र हत्यामा संलग्न अपराधी प्रहरी कारबाहीमा मारिएका छन्।
त्यही प्रहरी कारबाहीलाई इन्काउन्टरको संज्ञा दिएर यो वा त्यो कोणबाट चर्चा भइरहेको छ। जस्तोसुकै चुस्त दुरूस्त सुरक्षा व्यवस्था र अवस्थामा पनि घटनालाई पूर्णतः रोक्न सकिदैन अझै यस्तो अमानवीय घटना त तबसम्म भइरहन्छन् जबसम्म कतिपय मानवरूपी शरीरमा लोभ, लालच र स्वार्थले जन्माएको दानवको बास भै रहन्छ। यद्धपि त्यसो भनेर घटनालाई सानो र हल्का रुपमा लिनुपर्छ भन्ने विल्कुल हुनसक्दैन। र यस घटनालाई पनि समग्रतामै गम्भीरतापूर्वक नै लिइएको पाइयो।
त्यस्तो क्रुर र अमानवीय अपराधमा संलग्नहरुको पहिचान समयमा हुने मात्रै नभएर उनीहरु विरुद्ध कारबाही पनि तत्काल हुनुले सरकारी गम्भीरता झल्काउँछ भने उक्त घटना घटाउने अपराधीविरुद्धको प्रहरी कारबाहीको पक्षमा देखिएको जनमतले पनि केही नरपिचासमा हराएको भए पनि समग्रतामा मानवीयता जीवित छ, आम नागरिक अपराध नियन्त्रणको निम्ती चलिने कडा भन्दा कडा कदमको पक्षमा उभिने छन भन्ने प्रष्ट सन्देश दिएको छ।
यद्धपि बालक अपहरणमा संलग्नहरू प्रहरी कारबाही (इन्काउन्टर) मा मारिएको विषयलाई कतिपयले मानव अधिकारको दृष्टिकोणबाट अनुचित रहेको तर्क पनि गरिरहेका छन् भने अपहरणकारी हत्याराका परिवारजनहरुले राष्ट्रिय मानवअधिकार आयोगमै उजुरी दिएको अवस्था छ।
संवैधानिक सर्वोच्चतासहितको कानुन राज भएको मुलुकमा एउटा अपराधीले पनि कानुनले दिएको हक अधिकार पाउने, आफूले गरेको अपराधको सम्बन्धमा अदालतमा हाजिर भएर आफ्नो दलिल राख्न पनि पाउने हुँदा उनीहरूलाई गैरन्यायीक ढङ्गले हत्या गरिएको हो कि भन्ने लाग्दा त्यसको सत्य तथ्य खोज्ने कामलाई अन्यथा मान्नु मिल्दैन। त्यसरी गरिएका आशंकाहरु जायज हुन वा होइनन् भन्ने विषयमा निस्पक्ष छानविन हुन प्रहरी कारवाहीलाई मानव अधिकारको हनन देख्ने मानवअधिकारवादी र आफ्नो परिवारको सदस्यको गैर न्यायिक हत्या भएको ठान्ने आफन्तको निम्ति मात्रै नभएर आफ्नो जिउ ज्यान दिएर घटनाको छानविन गर्ने प्रहरी कर्मचारीहरुकै निम्ति पनि आवश्यक हुन्छ।
नेपाल प्रहरीले स्वदेश तथा विदेशमा अनेकन तालिमहरू गर्दै गराउँदै आफ्ना सदस्यहरूलाई थप व्यवसायिक र पेशागत बनाएको कुरो अतियुक्ति नभएर तथ्य हो र त्यो तथ्यमा टेकेर यति भन्न जरुर सकिन्छ कि जसरि वाहिर आइरहेको छ।त्यसरी प्रहरीले कसैको ज्यान लिने विषय चाही पत्याउन मिल्ने खालको छैन। तर, पनि प्रहरीको आफ्नै सम्मान अनि जोखिम मोलेर गरिएको अप्रेसन र अप्रेसनमा सहभागीहरुको मेहेनतको सम्मान र पहिचानको खातिर पनि अनुसन्धान हुँदा राम्रै हुन्छ।
प्रहरी इन्काउन्टर भन्दा प्रहरी कारवाही भन्दा उचित हुने यस्ता खालको घटनाहरुमा मानव अधिकारको सन्दर्भ जोडेर हेर्ने हामी सबैले केही कुरालाई मध्यनजर गर्नुपर्छ। प्रहरीले कसैलाई गोली चलाउने अवस्था भनेको कुनै चलचित्रको सिन जस्तो प्रहरी पछाडि पछाडि, अपराधी अगाडि अगाडि कुद्दै गरेको हुनुपर्छ। अनि अपराधीले लखेट्दै आएको प्रहरीमाथि गोलि हानेपछि मात्रै प्रहरीले फायर खोलेको अवस्था हुनुपर्छ भन्ने हुँदैन।
प्रहरीले कुनै व्यक्ती वा समूहबाट आफू वा अन्यलाई तत्काल खतरा रहेको ठहर गरेको अवस्थामा गोली प्रहार गर्नसक्छ। यद्धपि अपराधीलाई कसैप्रति जवाफदेही हुनुपर्दैन तर प्रहरी जिम्मेवार सुरक्षा निकाय भएको हुनाले उसले गर्ने हरेक गतिविधिमा सबैको चासो हुन्छ अनि आफ्ना कामहरुको विषयमा पूर्णत जिम्मेवार र जवाफदेही हुनुपर्छ।
त्यसै कारणले गर्दा पनि सूचना, प्रविधिको विकास र प्रयोग अनि जनचेतनाको स्तर अत्यन्त माथि पुगेको वर्तमानमा प्रहरीले लहडमा कसैलाई गोलि हानेर मार्ला भनेर पत्याउन सकिँदैन।
प्रहरी इन्काउन्टरमा अपहरणकारी हत्याराहरुको मृत्युसँगै सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले अपराधीहरु प्रति जनतामा व्यापक घृणा छ, उनीहरु प्रति थोरै मानवीय संवेदना समेत मानिसहरुमा छैन। साथै अपराध नियन्त्रणको दौरान प्रहरीले चाल्ने कदममा जनताको दह्रो साथ हुनेरहेछ भन्ने पनि देखियो।
इन्काउन्टरले सिर्जना गरको जनसमर्थनको लहरले उत्साहित अनि सकारात्मक नकारात्मक ढङ्गले उठान गरिएको छानविनको माग र उठान गरिएको मानवअधिकारको सन्दर्भले अलिक अल्मलिएको प्रहरीले यस घटनाबाट बुझ्नुपर्छ कि जनसरोकारलाई सम्वोधन गर्ने काम गर्दा प्रहरीले कसैसँग डराउनुपर्ने अवस्था छैन।
अहिले देखिएको जनसमर्थनमा लुकेको शक्तिको पहिचान गर्दै त्यसलाई सञ्चित गर्दै अगाडि बढ्ने हो भने अब प्रहरीले कुनै पनि अपराधी विरुद्ध कारबाही गरिरहँदा निजको सम्वन्ध कुन नेता, प्रशासक वा व्यापारीसँग छ भनेर खोज्नुपर्ने छैन।
खैर जे होस अपहरणकारीको कथित इन्काउन्टरले एकै पटक थुप्रै काम गरेको छ। पहिलो त यसले अपराधीहरु प्रति सहनाभूती शून्य छ भन्ने प्रष्ट पारेको छ जसले गर्दा अपराध गर्नु अगाडि जसले पनि थुप्रै पटक सोच्नेछ। दोस्रो, अपराधीहरु प्रति निर्मम हुन असहजता कम सहजता ज्यादा भएको छ। राजनीतिक वा कुनै शक्तीको आडमा कुनै पनि अपराधी जोगिन मुश्किल हुनेछ।
इन्काउन्टरसँगै प्रहरी संगठन भित्र भत्कँदै गएको भातृत्वको प्रष्ट चित्र छताछुल्ल भएको छ।
आफ्नो प्रतिस्पर्धीलाई विवादमा ल्याउन कुनै वाहना पाउनासाथ तयार रहने प्रहरीको विकृत प्रवृति घिनलाग्दो ढंगले सतहमा मात्रै आएन, प्रहरीको आन्तरिक विवाद र खिचातानीमा कतिपय मिडियासमेत कसरी जानी नजानी सहायक बन्छन् भन्ने पनि देखियो।
यो चाहिँ गलत हो, प्रहरी भनेको एउटै नीति , सिद्धान्त र कार्यशैली बोकेर चल्नु पर्ने संस्था हो। यस भित्र रहेको खिचातानीको अन्त्य गर्दै भातृत्वलाई सवल बनाउन सबैले कोशिश गर्नुपर्ने देखिन्छ।
अत; यस इन्काउन्टरसँगै उब्जिएका कैयौं सवालहरुको निदान गर्दै भएको सत्य तथ्य सबैले थाहा पाउने गरेर वाहिर आउनु त अनिवार्य नै हुन्छ नै। त्यसरी सत्य तथ्य वाहिर आउँदा प्रहरीले अकारण कसैको गैर न्यायिक हत्या गर्छ कि भन्ने आशंका र भ्रम पक्कै दुर हुने नै छ। आफ्ना हरेक गतिविधिहरुमा चैतार्फी नजर हुनाले जुनसुकै काम पनि विधि पुर्याएर गर्नु अनिवार्य हुन्छ भन्ने सन्देश समेत प्रवाहित हुनेछ।
समग्रतामा यो इन्काउन्टरले समाजमा सकारात्मक प्रभाव पार्ने र अपराधको न्यूनीकरण गर्दै थप सवल , सक्षम र जिम्मेवार प्रहरीको ग्यारन्टी गर्नेछ भन्ने आशा गर्नु गलत हुनेछैन।