'पल्लम घरे साइलोले ए मलाई… ए म त ढले ढले .....।'
लगभग आठ–नौ वर्षका बालबालिकाहरू विद्यालयको मञ्चमा सामूहिक रूपमा नृत्य प्रस्तुत गरिरहेका छन्।
उनीहरूको नृत्यमा प्रस्तुत हाउभाउ र भावभंगी परिपक्व उमेर समूहको जस्तो देखिन्छ किनभने उनीहरूलाई त्यही शैलीमा नाच्न अभ्यास गराइएको हुन्छ। लगत्तै त्यस्तै भाव बोकेको अर्को गीत बज्छ, 'अरली काँडैले मलाई ......, बालबालिकाहरू त्यही शैलीमा नाचिरहन्छन्। नृत्य सकिएपछि दर्शकदीर्घाबाट तालीको गडगडाहट उठ्छ। सतही रूपमा हेर्दा कार्यक्रम निकै आकर्षक देखिन्छ धेरैको प्रतिक्रिया थियो 'आहा! बच्चाहरूले कति राम्रो नाचे।'
यस्ता शब्दहरू बोकेका गीतमा साना बालबालिकाहरू नाचिरहेका र रमाइरहेका दृश्यहरू आजकल विद्यालयहरूमा प्रायः देख्नु धेरैलाई नौलो विषय रहेन।
गहिरो रूपमा हेर्दा केही गम्भीर प्रश्नहरू पनि उठ्छन्, जसमा सचेत वर्ग र सरोकारवालाहरूले ध्यान दिनु आवश्यक छ। यस्ता खालका गीतहरू धेरैजसो बालबालिकाको उमेरसँग मेल खाने खालका हुँदैनन्। ती गीतका भाव र त्यसअनुसार सिकाइने नृत्यका चालहरू पनि उनीहरूको बालसुलभ स्वभावसँग सुहाउने खालको देखिँदैनन्।
ती बालबालिकाहरूका लागि शब्दहरूले तत्काल ठूलो अर्थ नराख्न सक्ला, तर सामाजिक दृष्टिले यसको दीर्घकालीन प्रभाव उनीहरूको मानसिकता र सोचमा पर्न सक्ने कुरा बुझ्न आवश्यक छ। यहाँ नृत्य गर्नु गलत हो भन्न पटक्कै खोजिएको होइन।
नृत्य आफैमा सृजनात्मक अभिव्यक्ति हो, कला हो, व्यायाम हो, तनाव व्यवस्थापन गर्ने कला पनि हो। तर चासोको विषय यो हो कि, यदि बालबालिकाको उमेर समूहलाई सुहाउने गीतहरू बजाएर, उनीहरूको बालपनसँग मेल खाने शैलीमा नृत्य गर्न प्रोत्साहित गर्न सके सिकाइ क्रियाकलापमा सकारात्मक प्रभाव पर्छ।
कुनै पनि व्यक्तिको चरित्र निर्माणमा सामाजिकीकरणको योगदानको हिस्सा सबैभन्दा बढी रहन्छ अर्थात् उसले सानैदेखि के सुन्दै आएको छ, के देख्दै आइरहेको छ, अरूले उसलाई के कुराबाट प्रेरणा दिइरहेका छन् भन्ने कुराले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भूमिका रहेको हुन्छ।
यदि सानै उमेरदेखि बालबालिकालाई गीतका शब्द, हाउभाउ र प्रस्तुतिको माध्यमबाट महिलालाई केवल सजिने, आकर्षक देखिने वा अरूको नजरका लागि प्रस्तुत हुने वस्तुका रूपमा देखाइयो भने भविष्यमा उनीहरूको सोचमा त्यसको नराम्रो प्रभाव पर्नु स्वाभाविक हुन्छ। हामी यस्ता गीतहरूमार्फत पुरूषले महिलालाई हेर्ने दृष्टिकोण कस्तो बनाउँदै गइरहेका छौँ?
किनभने बालबालिकाको चेतना निर्माणको चरणमा देख्ने, सुन्ने र अनुभव गर्ने प्रत्येक कुराले उनीहरूको सोच र व्यवहारमा गहिरो छाप छोड्छ।
आजको सन्दर्भमा बालबालिकाले आफ्नो जीवनको ठूलो हिस्सा विद्यालयमै बिताउँछन्। यो केवल अभिभावकको चाहना मात्र नभई परिस्थितिले सिर्जना गरेको बाध्यता पनि हो।
अहिलेको समयमा पहिले जस्तो चौतारीमा बसेर गफगर्ने संस्कृति, साथीभाइसँग खुला मैदानमा खेल्ने बानी वा गाउँघरको सामूहिक जीवनशैली अहिले सहरी क्षेत्रमा धेरै कम छ।
गाउँघरतिर पनि निकै हदसम्म हराउँदै गएको छ। घरको सीमित घेरा र प्रविधिले भरिएको दिनचर्याबीच बालबालिकाको संसार प्रायः विद्यालयमै सीमित हुन थालेको छ। यस्तो अवस्थामा विद्यालयले बालबालिकालाई के सुन्ने, के हेर्ने र के सिक्ने अवसर दिइरहेको छ भन्ने प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ अर्थात् सिकाइ अन्तर्गत उनीहरूले के सिकिरहेका छन्? ग्रहण गरिरहेका छन्? भन्ने कुरालाई सबैको सरोकारको विषय हुनुपर्छ।
विद्यालयमा यस्ता गीतहरू बजाइँदा बालबालिकाहरूको उमेर सुहाउने गीतहरू छनोट गर्न सकिन्छ नि! भनेर मैले एकपटक प्रतिक्रिया राखेकी थिएँ। त्यसको जबाफ आयो—'खोलो जता बग्यो, हामी पनि त्यतै बग्ने होइन र?' अर्को प्रतिक्रिया थियो—'तपाईं त निकै परम्परागत सोचको मान्छे हुनुहुँदोरहेछ।'
बालबालिका अथवा विद्यालयमा नृत्य गराइने गीतका शब्द र दृश्यहरूले केही गम्भीर प्रश्नहरू जन्माउँछन्। हामी बालबालिकालाई कस्तो प्रकारको सामाजिक सन्देश दिइरहेका छौँ? विशेषगरी साना नानीहरूलाई कसरी प्रस्तुत गर्न सिकाइरहेका छौँ?
कहिलेकाहीँ गीतका शब्द, हाउभाउ र प्रस्तुतिका शैलीले यस्तो संकेत दिन सक्छ कि नारी केवल सजिने, आकर्षक देखिने वा अरूको नजरका लागि प्रस्तुत हुने वस्तु हो। शरीरका अङ्गहरूलाई भाव व्यक्त गर्ने माध्यमभन्दा पनि प्रदर्शनको वस्तुजस्तो बनाइन्छ।
बालबालिकाको चेतना निर्माणको चरणमा यस्ता सन्देशहरू कत्तिको उपयुक्त छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।
विद्यालय जस्तो स्थानमा कला प्रस्तुत गर्दा त्यसले बालबालिकाको उमेर, संवेदनशीलता र सामाजिक सन्देशलाई ध्यानमा राख्नु आवश्यक देखिन्छ।
यदि हामी केवल गलत बहावसँगै बगिरह्यौँ भने स्वस्थ समाजको निर्माण कसरी सम्भव होला? सृजनशील सोच र कलाको वास्तविक विकास कसरी सम्भव होला?
कला देखाउनु पर्छ तर, गलत बहावमा तिनीहरू बग्दा, समाज र सृजनशीलता दुवै थन्किने जोखिम हुनुहुँदैन। दुर्भाग्यवश, आज धेरै विद्यालयहरू यस्ता विषयमा गम्भीर देखिँदैनन्। विशेष गरी निजी विद्यालयहरूमा नाफाको दबाबले कहिलेकाहीँ मूल्य र संस्कारभन्दा प्रदर्शनलाई प्राथमिकता दिएको देखिन्छ।
यो कुरा स्वीकार्न गाह्रो लागे पनि, अधिकांश निजी विद्यालय नाफाकै उद्देश्यले खोलिएका हुन् भन्ने यथार्थलाई नकार्न सकिँदैन। कहिलेकाहीँ हामी यस्ता विषयहरूको दीर्घकालीन असरको बारेमा सोच्नुभन्दा पनि त्यसलाई बेवास्ता गर्न खोज्छौँ।
समाजले त्यस्ता गीतलाई सहजै ग्रहणगर्नु र स्वीकारोक्ति दिनु भनेको त्यस प्रवृत्तिलाई अझ बलियो बनाउने सहयोग गर्नु हो। गीत–संगीतको समाजसँग गहिरो सम्बन्ध हुन्छ, त्यसैले गीतले समाजको सोच र संस्कारलाई पनि प्रभाव पार्छ।
'राम्री छु, फूलभन्दा के चाहियो र यो भन्दा?' जस्ता शब्दहरूले नारीको मूल्य केवल बाहिरी सौन्दर्यमा सीमित गर्छन्। यसले नारीको क्षमता, बुद्धि र व्यक्तित्वलाई ओझेलमा पार्ने जोखिम पनि उत्तिकै हुन्छ। यस्ता गीतहरूको माध्यमबाट पुरूषत्वको एक पक्षीय बयान गरिन्छ र नारीलाई वस्तुकरण गर्ने संस्कृतिलाई झनै बल पुर्याइन्छ।
महिलालाई उनीहरूको सौन्दर्य र देहकै आधारमा विश्लेषण गर्ने परिपाटी चली रह्यो र समाजले यसलाई स्थापित गरिरहे भने हामी उनीहरूको भित्री शक्ति उजागर गर्नसक्ने शक्ति कसरी दिन सक्छौँ?
मनोरञ्जनको नाममा प्रस्तुत हुने यस्ता गीतहरूको प्रभावबारे समाजले सचेत भएर सोच्न आवश्यक छ।
'केटीलाई यही मन पर्छ' भन्ने धारणालाई यस्ता गीतहरूले झन् सामाजिक रूपमा जोडबल गरिरहेका हुन्छन्। विस्तारै यस्तो सोच समाजमा सामान्य जस्तै मानिन थाल्छ। त्यसपछि हाम्रो मनस्थितिमा पनि यसको प्रभाव पर्छ।
यदि हामी विद्यालय जस्तो शिक्षाको थलोमै यस्ता गीतहरूमा नृत्य सक्छौँ, प्रस्तुत हुन सक्छौँ भने घर, भोजभतेर वा अन्य सार्वजनिक कार्यक्रममा पनि त्यसरी नृत्य स्वाभाविक जस्तो लाग्नथाल्छ। यसरी मनोरञ्जनको नाममा प्रस्तुत हुने गीत–संगीतले बालबालिकाको सोच, व्यवहार र समाजको दृष्टिकोणमा गहिरो प्रभाव पारिरहेको हुन्छ।
विद्यार्थीलाई सिकाउने आयामहरू समयसँगै निरन्तर परिवर्तन हुँदै आएका छन्, र बदलिदो समयको मागअनुसार यसले पनि परिवर्तन हुनु आवश्यक छ। आजको शिक्षाप्रणाली र प्रविधि बीस वर्षअघिको सिकाइ शैलीभन्दा धेरै फरक छ। यसले शिक्षक र विद्यार्थी दुवैका लागि नयाँ चुनौती र अवसर सिर्जना गरेको छ। विशेष गरी प्रविधिकको सदुपयोग सँगै त्यसले सँगै ल्याउने नकारात्मक असरहरूलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा आज मुख्य चुनौतीको रूपमा देखा परेको छ।
शिक्षकले देखाउने व्यवहार, सिकाइको शैली र दृष्टिकोणले विद्यार्थीमा प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले शिक्षकको भूमिका केवल ज्ञान हस्तान्तरण मात्र होइन। उनीहरूले विद्यार्थीमा धैर्यता, सोच्ने क्षमता, निर्णयक्षमता र आत्मविश्वास विकास गर्ने वातावरण तयार गर्नु आवश्यक छ।
आजका विद्यार्थी भविष्यको समाजका नेतृत्वकर्ता हुन्, र उनीहरूको चेतना, संवेदनशीलता र मूल्यहरूको निर्माण विद्यालय र शिक्षण प्रक्रियाले धेरै दृष्टिकोणबाट दिशानिर्देश गर्दछ।
विद्यालय सिकाइको मुख्य थलो हो। यहाँ केवल पाठ्यपुस्तकका ज्ञान मात्र दिइँदैन, जीवनका मूल्य, दृष्टिकोण र सामाजिक व्यवहार पनि सिकाइन्छ। त्यसैले विद्यालयमा के सिकाउनु पर्छ, कसरी सिकाउनु पर्छ र त्यसले बालबालिकाको सोच र व्यवहारमा कस्तो प्रभाव पार्छ भन्ने कुरा हेक्का राख्नु अत्यन्त आवश्यक छ।
यदि विद्यालयले नै यी पक्षमा संवेदनशीलता देखाएन भने भने भविष्यमा सभ्य समाज निर्माण नहुने जोखिम अहिले नै देखिन्छ । अन्ततः प्रश्न केवल यति होइन कि विद्यालयले प्रोत्साहित गरिरहेका गीतका शब्द या नृत्य कस्ता छन्?
प्रश्न यो पनि हो कि हामीले आफ्ना बालबालिकालाई कस्तो समाज निर्माणका निम्ति तयार गर्दैछौं? यदि आजको शिक्षा र संस्कृतिले उनीहरूलाई संवेदनशील, सृजनशील र जिम्मेवार नागरिक बन्न प्रेरित गर्न सकेन भने भोलिको समाजले कस्तो रूप लिनेछ भन्ने प्रश्न हामी सबैका सामु उभिनेछ। कला र साहित्य सधैं समाजको प्रतिबिम्ब हुन्। समाज जस्तो छ, कला पनि त्यस्तै ढङ्गले अभिव्यक्त हुन्छ। समाजलाई कस्तो बनाउने भन्ने कुरामा पनि कलाको ठूलो भूमिका हुन्छ। त्यसैले यी दुईबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ। कला केवल मनोरञ्जन मात्र होइन, समाजलाई दिशा दिने महत्वपूर्ण माध्यम पनि हो।
यो लेखमार्फत एउटा प्रश्न छोड्न चाहन्छु—कम्तीमा पनि उनीहरूको उमेर, संवेदनशीलता र आत्मसम्मानलाई ध्यानमा राख्दै सुरक्षित र सृजनात्मक प्रस्तुति सुनिश्चित गर्नसक्छौँ?
नारीलाई वस्तुकरण गरिएका गीतहरूका विकल्पमा उमेर सुहाउने बाल गीत, उत्प्रेरणा जगाउने, संस्कृति जोगाउन चेतना दिने गीत बजाउन र नृत्य गर्न र गराउन सकिँदैन? गीतहरू चयन गर्दा विद्यालयमा 'ए ससुरा बा, मलाई साली मन पर्यो…' वा 'तिम्रो फिगर कोका कोला ...' जस्ता गीतहरू बजाउनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने कुरामा हामी सबैले गम्भीरतापूर्वक सोच्न आवश्यक छ।
गीत र नृत्यलाई सहभागिता, सहिष्णुता, समुदाय भावना र मानवीय मूल्यहरू सिकाउने माध्यमका रूपमा प्रयोग गर्ने अभ्यासमा जोड दिनुपर्छ। विद्यालयमा प्रस्तुत गरिने गीत–संगीतले बालबालिकाको उमेर, चेतना र गरिमासँग मेल हुनु जरूरी छ भन्ने कुरा हेक्का राख्नु आवश्यक छ।