काठमाडौंमा जन्मी–हुर्की बढेको कारणले होला यहाँका खाल्डोलाई राम्ररी नियाल्ने मौका मिल्यो।
त्रिसठ्ठी वर्षे यो उमेरमा कहिलेकाहीँ केटाकेटी अवस्थामा देखेको काठमाडौंका विभिन्न ठाउँको दृश्यहरू एकपछि अर्को गर्दै आउन थाल्दा सम्झन्छु– पहिले देखेका धेरै दृश्यहरू अब परिवर्तन भइसके। पहिलेको काठमाडौं खोजेर अब पाइँदैन। मेरो पुस्तापछिका लागि अहिलेको काठमाडौं पहिलेदेखि नै यस्तै थियो होला भन्ने लाग्न सक्छ। तर, कैयन् परिवर्तनहरू हेर्दाहेर्दै भए र अधिकांश भूदृश्यीय परिवर्तन केही वर्षयताका सृजनाहरू हुन्। अहिले पुरानो प्राकृतिक छटाको अभाव खडकिँदो छ।
सामाजिक परिवेशहरू परिवर्तन भएका छन्, रहनसहन, भेषभूषा त्यसैगरी फेरिएका छन्। बस्ती, बजार विस्तार हुँदै गएका छन्। आर्थिक क्षेत्रमा मानिसको पहुँच र संलग्नता बढ्दै गइरहेको छ। घरको आयतन, परिमाण र शैली बढदै गएको मात्र होइन, प्रत्येक पन्ध्र–बीस वर्षको अवधिमा शैली र स्वरूपमा पनि परिवर्तन आएको देखिँदै छ। हेर्दाहेर्दै छँदाखाँदाका खेतीयोग्य जग्गाहरू घर–भवनहरूले भरिए। धान फल्ने फाँटहरूमा कंक्रिटका घर–भवनहरू ठडिए। डाँडा–पाखा, काँठ–भीरका पाखो जग्गाहरूमा अब मानिसको आँखा लाग्न थालेको देखिँदो छ।
इतिहासको विद्यार्थीहरूका लागि मात्र होइन,बस्ती विकासको दृष्टिकोणले पनि काठमाडौं खाल्डोको बस्तीको इतिहास भविष्यको लागि महत्वपूर्ण हुन सक्ने देखिन्छ। विश्वका अरू देशमा भए त्यसका हरेक प्रवृत्तिको अभिलेख हुन्थ्यो। हामीकहाँ त्यस प्रकारको वैज्ञानिक अभिलेखहरू राख्ने चलन नभएकोले दुःख–कष्ट सहेर कसले अध्ययन–अनुसन्धान गर्ने? अनुसन्धान गरेर त्यसको प्रयोग हुने ठाउँ नभएकोले पनि यस्ता प्रवृत्तिको अध्ययनतिर कमैको ध्यान गएको पाइन्छ। पहिले हजुरबुवादेखि नातिपुस्तासम्म एउटै घरमा अप्ठ्यारो भए पनि बस्ने ‘संयुक्त परिवार प्रथा’ अहिले एकादेशको कथाजस्तो हुन थालेको छ। यसमा पूर्णतः परिवर्तन भइसक्यो भने हुने अवस्था छ। पुस्तान्तर अत्यधिक छ। सानो परिवारमा बस्न रमाउने, छुट्टिएर बस्ने प्रचलन बढेकोले परिवारको संख्या हरेक घरमा सानो र थोरै हुने प्रवृत्ति बढेको छ।
पहिले सहर भन्यो कि असन, इन्द्रचोक केन्द्रित थियो। खाद्यान्न, मरमसलाको लागि असन, भोटाहिटी थियो। लत्ता–कपडाको लागि बटुटोल र इन्द्रचोक, बिजुली एवम् तत्सम्बन्धित वस्तुहरूको लागि न्यूरोडक्षेत्र। अरू सामान्य वस्तुहरूको लागि स–साना किराना पसलहरू टोल–टोल र बस्ती–बस्तीमा छरिएर रहेका थिए।
यो प्रवृत्ति झण्डै वि.सं. २०५० सालसम्म थियो। भनौं भने यो प्रवृत्तिको केही झलक सातसालदेखि नै देखापरेको हो भन्दा हुन्छ। आफ्नो नजिकको पसलमा पाइए पनि मानिसलाई असनतिर बजार जाँदा मात्र बजार गएको जस्तो हुने नत्र ठगिन्छ कि भन्ने थियो। सहर भनेकै असन, इन्द्रचोक, न्यूरोड थियो। अझ भनौं, असनतिर गुणस्तरीय सामान पाइन्छ, अरूतिर पाइने नक्कली पर्छन् भन्ने भान थियो। थोरै सामान किन्नु पर्दा पाटनका बासिन्दाहरू मङ्गलबजारलाई नै बजार हो भन्ने तथा भक्तपुरका बासिन्दा सुकुलढोका वरपरको बजारलाई मात्र विश्वास गर्थे। धेरै परिमाणको किन्न परे चाहिँ असन, इन्द्रचोक, न्यूरोडतिरै पुग्ने प्रचलन पछिसम्म थियो। त्यसो त आ–आफ्ना बस्तीमा स–साना किराना पसलहरू पनि हुन्थे। तर, त्यहाँ विश्वास कम हुन्थ्यो।
पछिल्लोपटक वि.सं. २०३२–३३ सालदेखि काठमाडौं खाल्डोको विकासले केही झिनो गतिमा जग्गा जमिनको खरिद–बिक्रीमा पाइला सार्न थालेको अनुभव हुन्छ। पुरानो सहर कहलिएको विष्णुमतीपूर्व टेकु, उत्तर सोह्रखुट्टेदेखि दक्षिण रानीपोखरी र पश्चिमको सीमा जुन मल्लकालमा यल र यम्बुको रूपमा थियो, त्यहाँका बासिन्दाहरूमध्ये केही या त आफ्नो जग्गा या खरिद गरेर त्यो चौघेरालाई नाघेर बाहिरिन चाहे।
पहिलोपटक जङ्गबहादुरले सहरबाट बाहिर निक्लने आँट गरेर थापाथलीमा आफ्नो विशाल दरबार बनाए। त्यसपछि वीरशमशेर, चन्द्रशमशेर गर्दै जुद्धशमशेर लगायतले काठमाडौं–पाटनका विभिन्न ठाउँमा आफ्ना छोराछोरीहरूलाई घरबार जोडेर सहरमा कोचिएर बस्नु हुँदैन भन्ने सन्देश दिएको भान हुन्छ। त्यसपछि के चाहियो? सर्वसाधारण पुगिसरी आएका जनता जनार्दन पनि पुरानो सहरको चार किल्लाबाट बाहिर निस्किन थाले। आफ्नो रैथाने थातथलो छोड्नु हुँदैन भन्ने पुरानो भनाइमा केही परिवर्तन आउन थाल्यो। विस्तारै काठमाडौंमा जागिर खाएर आएका वा पढ्न बसेकाहरूमा पनि राजधानी भनेको राजधानी हो सस्तोमा पाए जग्गा खरिद गरिराख्नुपर्छ भन्ने एक किसिमको लहर आयो।
वि.सं. २०१२/२०१३ तिरको कुरा गर्ने हो भने कीर्तिपुरमा विश्वविद्यालय बन्ने भएपछि रोपनीको २०० रुपैयाँमा अहिले त्रिभुवन विश्वविद्यालय रहेको कीर्तिपुरको जग्गा अधिग्रहण गरिएको थियो। एक किसिमले त्यतिखेर जग्गाको मूल्य नै थिएन भने हुने अवस्था थियो। काठमाडौं र ललितपुर सहरको नजिकमा रहेको कीर्तिपुरको त त्यो अवस्था थियो भने सहर, बजारबाहिरको जग्गाको कुरा त के गर्नु, विस्तारै बैंक तथा वित्तीय संस्थाहरूको बृद्धि तथा घर–जग्गा खरिदमा ऋण दिने व्यवस्थाले घर–जग्गा कारोबारलाई निकै सघायो।
वि.सं. २०३५ सालतिर एक जना अधिकृतको तलब महिनाको ६०० थियो भने कार्यालय सहयोगीको तलब २५०। नेपाल सरकारको विशिष्ट श्रेणीको सचिवको तलब १५० थियो। त्यसबेला काठमाडौंको डिल्लीबजार, मैतीदेवी, महाराजगञ्ज, पानीपोखरी, पुतलीसडकको भित्री सडकतिर सात–आठ हजारमा एक रोपनी जग्गा पाइन्थ्यो। वि.सं.२०३६ सालतिर कुमारीपाटी, जावालाखेलको मूल सडकमा महंगो भएर रोपनीको पचास हजारमा जग्गा पाउँदा मानिसहरू जग्गा महँगिएर आकाश छोएको कुरा गर्थे।
वि.सं.२०४६ मा एयरपोर्टपश्चिमको तिलगंगामा रोपनीको लाख–सवा लाख रुपैयाँमा जग्गा पाइन्थ्यो। पशुपति क्षेत्र विकास कोषले पहिलोपटक जग्गा अधिग्रहण गर्दा तिलगंगामा बाटो नभएको भित्री जग्गाहरू, जुन एयरपोर्टको पश्चिममा पर्थे त्यहाँ रोपनीको पचहत्तर हजारदेखि लाख रुपैयाँमा पाइन्थ्यो। त्यहाँ गरिएको अधिग्रहणको सुरूमा खुब बिरोध भयो। पछि अधिग्रहणमा पर्नेहरूलाई चलेको भन्दा राम्रो मूल्य दिने नीति बनाएर रोपनीको सवा लाखमा मूल्यांकन गर्दा विरोध गर्नेहरू नै बाँकी जग्गा पनि लिइदिन प¥यो भनेर कोषको कार्यालयमा अनुरोध गर्न आएको अहिले पनि सम्झन्छु।
त्यहीँ नजिकको जग्गा पशुपति क्षेत्र विकास कोषको लागि पछिल्लो पटक वि.सं. २०६८/२०६९ मा अधिग्रहण हुँदा सडकछेउको जग्गा प्रतिआना तेत्तीस लाखमा, गोरेटोभित्रको बाह्र लाखमा मूल्याङ्कन भई अधिग्रहण भयो। व्यक्ति विशेषहरूले सामान्यतया अहिले आनाको चालीस–पचास लाखमा किनबेच गरेको सुनिन्छ। जग्गाको भाउ काठमाडौंमा कसरी आकासिदै गयो? जो कोहीलाई ताजुब लाग्न सक्छ। यसको प्रभाव देशभर बढ्दै गएको अहिले देखिँदो छ।
सस्तो जग्गा हुँदा पनि एकथरीलाई सधैं यस्तै सस्तोमा पाइन्छ भन्ने लाग्यो। अर्काथरीको लागि सस्तो भए पनि आफ्नो क्षमताले पुग्ने अवस्था थिएन। कति जना कल्पन्छन्, पहिले यस्तो सस्तो थियो, उस्तो सस्तो थियो भनेर। सबैलाई आफू चुकेँछु भन्नेजस्तो लाग्छ। अतिरिक्त आम्दानी नहुने, व्यापार–व्यवसाय नहुनेका लागि काठमाडौं खाल्डोभित्र जग्गा–जमिन खरिद गाह्रै थियो। सरकारी कर्मचारीहरूको लागि पनि निकै कठिन थियो। विभिन्न जिल्लाहरूबाट आएकाहरूको पनि हैसियतले भ्याउने अवस्था थिएन। उता धेरै बेच्दा यता थोरै जग्गा–जमिन जोरिन्थ्यो।
जग्गाको महत्व बुझ्दै गएपछि आ–आफ्नो क्षमताअनुसार मानिसले जग्गा–जमिन जोर्ने प्रचलन बढ्दै जाँदा कालान्तरमा काठमाडौं खाल्डोमा जहाँ जाऔँ घरैघर बन्न पुगे। विकासको दृष्टिले पुरानो बस्ती वा बजारभन्दा नयाँ–नयाँ ठाउँमा बस्ती विस्तार हुने प्रवृत्ति बढ्यो। यसले गर्दा कुनै बेला अनकन्टार सम्झिएका काठमाडौंको नाग्लेभार हुन् कि ललितपुरको देउराली, भट्टेडाँडा सबैतिर मानिसको आँखा गयो र हिजोआज त्यस्तै अनकन्टार ठाउँ खोज्ने प्रवृत्तिमा बढोत्तरी आएको छ।
वि.सं. २०४६/४७ को आन्दोलनपश्चात् काठमाडौंबाहिरका मानिसहरू अब राजनीतिक परिवर्तनले राजधानीको उन्नति हुन्छ, विकास हुन्छ भन्ने अभिप्रायले अनुकूल देखियो कि जग्गा खरिद गर्न थाले। त्यसले गर्दा महंगी पनि दिनानुदिन बढ्दै गयो। स्थानीयहरूको लागि पनि जीवन चलाउन पर्ने भएकोले आ–आफ्ना जग्गा गर्जो टार्नको लागि बेच्न थाले। न्यूनतम् दुई आना, दुई पैसामा घर बनाउन पाइने भएपछि सहरी भेगमा पनि मानिसको ध्यान जान थाल्यो।
धनकुटामा वि.सं. २०३५ तिर म राष्ट्रिय विकास सेवाको विद्यार्थी भएर गएको थिएँ। त्यतिखेर त्यहाँको डाँडा–पाखा असाध्यै सुन्दर लाग्थे। हिलेदेखि ताङख्वासम्मको कुनै पनि एउटा डाँडा छान्नुस् तपाईंको तीन महिनाको पारिश्रमिकले एउटा डाँडो खरिद गर्न पुग्छ भन्थे। त्यतिखेर रा.वि.से. विद्यार्थीलाई महिनाको पारिश्रमिक ३०० थियो। मेरो बुबा भन्ने गर्नुहुन्थ्यो, बत्तीसपुतलीस्थित धोवीखोलाको किनारमा रहेको ढिस्को जग्गा बालुवाबारीको रूपमा प्रसिद्ध थियो। केटाकेटीमा हामी लुकामारी खेल्न कहिलेकाहीँ त्यहाँ जान्थ्यौँ।
एक्लैदुक्लै जान चाहिँ डर लाग्थ्यो। नरकट्घारी र स–साना झाडीले कान्लापाखा ढाकेको हुन्थ्यो। झन्डै त्यहाँ १५ रोपनी जग्गा थियो। वि.सं. १९९० तिर त्यो जग्गाको मालिक आएर पचास रुपैयाँ दिनुस् जग्गा किन्नुस् भन्न आएका थिए रे। तर घरमा सल्लाह हुँदा त्यस्तो वालुवाबारी किनेर के फल्छ? बदम र सखरखण्डबाहेक केही नफल्ने जग्गा जोडेर के काम भन्ने भएपछि नकिनेको भनेर सुनाउनुहुन्थ्यो। अहिले त्यो जग्गामा ठूलो बस्ती बसेको छ। आनाको चालीस–पचास लाखमा किनबेच भइरहेको छ हिजोआज।
मेरो पिताजीको जागिरे जीवन कहिले क्षेत्रीय अदालत, कहिले सर्वोच्च अदालत र कहिले तात्कालिक अख्तियार दुरुपयोग निवारण आयोगको कर्मचारी हुँदै बित्यो। उहाँसँग विभिन्न ठाउँका मान्छेको भेट हुने, फुर्सदमा अनेक ठाउँको अवस्था र खेतीपातीको कुरा हुने भएकोले पनि होला हामीलाई कहिलेकाहीँ विभिन्न ठाउँको जग्गा–जमिनको भाउ र भविष्यमा त्यसले पर्ने प्रभावको बारेमा सुनाउनुहुन्थ्यो। पिताजीबाट हामीले पनि धेरै ठाउँको अवस्थाबारे सुन्ने मौका पायौं। यसैले जग्गा विषय परिवारका सबैजसोको लागि चासोको विषय हुन्थ्यो।
केही जोगाड गरिएको पैसा छ भने जग्गामा हाल्दा घाटा हुँदैन भनी मेरो पिताजी भन्ने गर्नुहुन्थ्यो। लगभग अहिलेसम्म त्यस्तै स्थिति अधिकांश सहरी क्षेत्रहरूमा छ। हुन पनि अरू व्यापार–व्यवसायले स्थान कम पाइरहेको अवस्थामा जग्गाको कारोबारले आफ्नो किसिमको स्थान लियो। पहिले जग्गाको काम गर्नेलाई जग्गा दलाली भन्दा अपशब्द बोलेको भन्ठान्थे। पछि गएर यो शब्द पचाउन थाले। आजकल घर–जग्गाको कारोबार गर्नेलाई ‘रियलस्टेट’को व्यवस्थापक भन्दा गर्ब गर्न थालेको अवस्था छ।
बत्तीसपुतली भेगतिर मैले थाहा पाउने हुँदा अर्थात् वि.सं. २०१७/१८ सालतिर जम्माजम्मी ३०–३५ घर पनि थिए कि थिएन जस्तो अवस्था थियो। हाम्रो घरको वरपर आठ घर जति थिए। त्यसदेखि समुच्चा बत्तीसपुतलीमा अरू बाँकी २०–२५ घर थिए। जताततै मकैबारी, नर्कट र काँडाघारी, बाग्मती, विष्णुमती, मनोहरा, धोवीखोला, हनुमन्तेको दायाँ–बाँया दुबैतिर पूरै खेत थिए। समयानुसार धान र तरकारी मुख्य खेती थियो। यो वि.सं. २०३२÷३३ सम्मको अवस्था हो।
रहँदा बस्दा विभिन्न जिल्लाहरूबाट कोही विराटनगर, कोही जनकपुर, कोही सर्लाही, महोत्तरी, धनुषा, कोही खोटाङ, ओखलढुंगा, कोही काभ्रे, कोही रामेछाप, कोही दोलखा, कोही भोजपुर, कोही उदयपुर, कोही धादिङबाट आएका व्यक्तिहरूले अनुकूलअनुसारको जग्गा किन्न थाले। एक जनाले खरिद गरेपछि आफ्ना इष्टमित्र, नातेदार, साथीभाइलाई ल्याए। हेर्दाहेर्दै पहिलेको मकैबारी, धानखेत, पाखो, ढिस्को सबै सकियो।
त्यसमा पनि २०५०/२०५१ देखि नेपालमा सुरु भएको द्वन्द्वले गाउँ–घरमा बस्न नसक्ने अवस्थाको सुरुवात एक किसिमले भयो। त्यसको कारण हुने खानेहरू, पुगिसरी आउनेहरू र गाउँ–घरमा बस्न नसक्नेहरू सदरमुकाम र सहरी क्षेत्र, जहाँ केही सुरक्षाको अनुभूति छ, ती ठाउँमा बसाइँसराइँ गर्ने प्रवृत्ति बढ्यो। काठमाडौं खाल्डो धेरैको लागि पहिलो रोजाइ बन्यो, जसको कारण डाँडा–पाखा, भीर, खेत मूल्यवान् बन्दै गए। घर–भवनहरू विस्तार हुँदै गए।
कहिलेकाहीँ पुरानो समयको अवस्था मानसपटलमा खेल्छ, सम्झदा कथाजस्तो लाग्छ। आफैंले हजार, लाखमा बेचेको जग्गा अरूले लाखौं मात्र होइन करौडौंमा बेचेको सुन्दा, थाहा पाउँदा आश्चर्य लाग्छ। समय कसरी बित्दो रहेछ! कालखण्ड कसरी परिवर्तन हुँदो रहेछ, बुझ्नै नसक्ने पो रहेछ भन्ने जस्तो लाग्छ। पहिले बूढाबूढीहरूबाट बसिबियाँलोमा सुन्ने सुनाउने कुराहरू साँच्चै नै भएको जस्तो लाग्थ्यो। आज आफैंले जीवनकालमा देखेभोगेको अनुभव अरूलाई सुनाउँदा उसलाई दन्त्यकथाझैं लाग्ने अवस्था बन्न पुगेको छ।
काठमाडौं खाल्डोको यो प्रवृत्ति, केही विकट र सुदूर क्षेत्रलाई छोडेर, देशभर देखिन थालेको छ। सडक सञ्जालले जोडिएका ठाउँमा बढ्दै गएको विकासत रङ्गलाई सही ढङ्गले अगाडि बढाउन सरकारका विभिन्न निकायले सहयोग गर्ने हो भने सन्तुलित विकासको लागि ठूलो योगदान पुग्न सक्ने अवस्था बढ्दै गएको अनुभूति हुन्छ। मात्र नागरिकले चाहेका छन् राजनीतिक स्थिरता, आवश्यकता अनुसार सरकारी निकायबाट सडक, विद्युत, खानेपानी, टेलिफोन, सिँचाइजस्ता संरचनागत विकासमा लगानी बढ्दै जाओस्।
देशमा उद्योगधन्दा, व्यापार–व्यवसायको वातावरण बनोस्, भष्ट्राचारी, घुसखोरीलाई जरैदेखि निर्मूल गरी इमान्दारी र सत्यनिष्ठामा आधारित शासन चलोस् भन्ने कामना नै सर्वसाधारण नेपालीको मन मष्तिष्क र ढकढुकीमा छ। यसको लागि राजनीतिमा लाग्नेहरूले अनुकूलको वातावरण बनाउन जति सकिन्छ आ–आफ्नो क्षेत्रबाट योगदान दिनु अपरिहार्य छ। मुखले बोल्नेभन्दा पनि व्यवहारमा देखाउन सकियो भने त्यसको सार्वकालिक महत्त्व हुन्छ कुरालाई हेक्का राख्नु चाहिँ जरुरी छ।
लेखक पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव हुन्।