यस वर्षको दसैँ गुल्मीमा समग्र रमाइलो तरिकाले मनाइयो। सहरको चिसो कोठाबाट छुट्टी लिएर बुबाआमाको न्यानो काखमा फर्कँदा त्यो पुरानै रमाइलो, स-साना बच्चा बच्चीहरू सहर छाडेर पहाड जाँदाको त्यो खुसीको पल, दसैँको टीका र आत्मीयताको स्वादले गर्दा छुट्टै प्रकृतिको महसुस गर्न पाएँ।
काठमाडौँको साँघुरो कोठामा कैदी जस्तै थुनिएर बसेका ती बालबच्चाहरू त्यो प्राणभन्दा प्यारो जन्मभूमिमा रमाएको देख्दा साँचिनै गद्गद भएको थियो यो मन र सबैले छाडेर हिँडेको त्यो पहाडको घर। भर्खरै फलेका ती कलिका काँक्रा, फर्सी र इस्कुसका मुन्टा अनि बा-आमाले आफ्ना सन्तान सरह पालेका ती पशुपक्षी; गाईको सानो बच्चासँग लड्दै बढ्दै गर्दा हप्ता दश दिनको बिदा सकिएको पत्तै भएन र ती बालबच्चा रमाएको देख्दा साँचिनै बालपन झलझली देखिन्थ्यो।
टीकाको दिन बिहानैदेखि घरमा चहलपहल थियो। आँगनमा रेखा कोरियो, टीका थाप्न दाजुभाइ, छरछिमेकहरू आइपुगे। बुबाले मलाई टीका लगाउँदै आशीर्वाद दिँदै हुनुहुन्थ्यो त्यही क्षण, आमाले मुस्कुराउँदै भन्नुभयो, ‘अब त छिट्टै बिहे गर है बाबु, अर्को वर्ष बुहारीसँगै टीका लगाउन पाइयोस्।’
बुबाले पनि समर्थन जनाउँदै थप्नुभयो, ‘यो साल घरभित्र बुहारीको पाइला पर्ने हो भने यो आँगन झन् पवित्र हुने थियो।’
बुबाआमा, दाइभाउजू र छिमेकी सबैको टीकाको क्रममा एउटै कुरा दोहोरियो, ‘अब चाँडै बिहे गर, अर्को वर्ष बुहारीसँग टीका लगाउन पाइयोस्।’
यो आशीर्वाद थिएन केवल, एक किसिमको सामाजिक अपेक्षा पनि थियो। उमेरले पनि थिच्दै छ र समाजले पनि। म खिस्स मुस्कुराएँ, जवाफ भने दिइनँ। त्यो एकछिनको मौनता जुन टीकारूपी आशीर्वादको साथमा एउटा सामाजिक सन्देश बन्यो।
मैले निधारमा टीका लिँदै सोचेँ, ‘दसैँ मात्र होइन, अब विवाह पनि पारिवारिक अपेक्षाको एक महत्त्वपूर्ण अध्याय बन्न लागेछ।’
सामान्य दिनमा खासै नबोल्ने छरछिमेक, चाडबाडमा भने सोधपुछ गर्नेहरूको लर्को नै लाग्छ।
‘बिहे कहिले गर्ने?’
‘बिहे नगरी बस्ने हो र?’
‘जागिर मात्र सबै थोक हो र?’
‘बाआमाले पनि त नाति खेलाउने धोको राखेका होलान् नि!’
यी वाक्यहरू सायद हजारौँ युवाले दसैँमा सुनेका होलान्। तर ती शब्दले मनमा असर पार्छन्; कहिले मिठो अपेक्षा बनेर, कहिले मनोवैज्ञानिक दबाबको रूप लिएर।
बिहे गर्नु सजिलो कुरा होइन। न सम्बन्धको कुरा मात्रै हो, न त प्रेमको मात्र। अब त ‘सुनको रेट’ ले पनि ‘सुन जस्तो सम्बन्ध’ बनाउन नदिने भइसकेछ। आज सुन तोलाको २ लाख ५० हजार पुगेको छ। एउटा जोडी औँठी मात्रै किन्न खोज्दा वर्षौँको तलब जोहो गर्नुपर्छ। म मेरो ३४ हजार ७ सय ३० रुपैयाँ तलब हेर्छु अनि दुलहीको औँठीको मूल्य तुलना गर्छु। लाग्छ, म त सुनले होइन, तनावले टन्न थिचिएको छु।
महँगो जीवनशैली, चुलिँदो महँगी अनि समाजको दबाब यी कुराले अहिलेको पुस्तालाई सम्बन्धभन्दा पहिला खर्चको हिसाब गर्न बाध्य बनाइरहेका छन्।
के बिहे अब भावना होइन, बजेट बनिसकेको हो?
के आमा–बुबाको ‘बुहारी हेर्ने सपना’ सुनको मूल्यसँग साटिन थालेको हो?
यस्ता कुराहरू यो मनमा खेल्ने गर्दछन्। हाम्रो पुस्ता दुबिधामा छ। प्रेम गर्न हिम्मत छ तर त्यो स्वयमवरको औँठी किन्न धौधौ छ। सँगै जीवन बाँध्न चाहनेहरू छन् तर पहिला किस्ताबन्दी र करको डरले तर्साउँछ। यो दसैँ, मलाई टीकाको रङले भन्दा सुनको भाउले बढी रङिएको लाग्यो।
बिहे पक्कै गर्छु मनले, माया गरेर तर सायद अलिकति समय लाग्ला। किनभने हाम्रो पुस्ताले ‘माया’ भन्दा पहिला ‘महँगी’सँग सम्झौता गर्नुपर्छ। बिहे सजिलो छैन, अब त झनै बिहे, सम्बन्ध, प्रेम यी कुरा कागजमा जति सहज देखिन्छ, व्यवहारमा त्यति सजिलो छैन। अझ अहिलेको आर्थिक परिस्थितिमा त झनै।
आज सुनको रेट तोलाको साढे २ लाख रुपैयाँ पुगेको छ। दुई तोला सुनको औँठी किन्न खोजे ५ लाख अनि साथमा बेहुलाको सुट, बेहुलीको सारी, फोटोग्राफर, हल, केटरिङ, झ्यालीम्याली हिसाब गर्न थाल्दा मेरो पहाडको घर खेत बिक्री गरेर पनि नपुग्ने अवस्था छ। म मेरो मासिक तलब हेर्छु। त्यो तलब कति दिन टिक्छ? काठमाडौँको सहरमा महिनाको एउटा कोठाको आठ/दश हजार भाडा, खाना, समयानुसार पोसाक, औषधि उपचार, पर पाहुना अनि घरमा आस गरेर बसेका बाआमाका रहर र चाहना अनि कहिलेकाहीँ साथीभाइसँग भेटघाट।
त्यही तीसदेखि पैँतीस हजारको जागिरबाट गर्नु छ विवाह, हुर्काउनु छ बालबच्चा, जोड्नु छ जग्गा जमिन, तिर्नु छ स्कुल कलेजको शुल्क।
अन्त्यमा...
दसैँ सकियो, काठमाडौँ फर्कने तयारी पनि भयो। झोलामा आमाले कोसेली राखिदिनु भयो। घ्यू, गुन्द्रुक, भटमास, कोदाको पिठो र अनि आफ्नै हातले बनाएको सेलरोटी। तर मनमा भने उनले टीका लगाउँदा दिएको त्यो एउटा वाक्य भरिएको थियो- ‘छिट्टै बुहारीसँगै टीका लगाउन पाइयोस्।’ सायद त्यो केवल शुभकामना मात्र होइन, आफ्नो सन्तानको लागि एक आमाबुबाको जीवनभरको सपना हो।
सायद अर्को वर्ष, त्यो आँगनमा दुई जोडी एकसाथ टीकाको रङले रङिनेछन्। सायद त्यो निधारमा लगाइने टीका, केवल जमरा र रातो अक्षता होइन, पूरा परिवारको पर्खाइ र खुसीको मेल हुनेछ। त्यो पर्खाइ मेरो जीवनसाथीको हुनेछ। त्यस दिनको पर्खाइमा म यस वर्षको दसैँलाई सम्झँदै छु जुन केवल टीका र जमराको चाड थिएन, एक जीवन चरणतर्फ डोर्याउने मूक सन्देश पनि थियो।