पुरानो प्राचीन नगर प्रवेश गर्ने मुख्य आठ वटा द्वारहरूबाट प्रवेश भइसकेपछि अलादीनको गुफाभित्र पसेको आभास पाइन्छ। सहरको मुख्य गल्ली र चोकहरूमा इँटा बिछ्याइएको छ। सहर पुरै सुन्दर नर्तकी जस्तो देखिन्छ। पुरानो काठमाडौँ उपत्यकाको मठ, मन्दिर, पाटी, पौवा, पोखरी, हिति प्रणाली, विहार र चैत्यहरू ठाउँ ठाउँमा भेटिन्छन्। सहरको वास्तुकला, वास्तुविधि, वास्तु शिल्प विधिले हरकोहीलाई आँखै अगाडि तानिरहन्छ।
प्राचीन नेवारी शैलीका घरहरू एकनास लहरै उभिएका छन्। मानौँ कुनै एक कलाकारले हिमालयको शृङ्खला आफ्नो क्यानभासमा रङहरूले सजाएझैँ। तीनदेखि चार तल्ला सम्मको झिँगटीले रातो हुने गरी छाएको घरको छत, एकनास परेका लहरै जोडिएको घरहरू, इँटा, काठ र माटोले जोडिएका पुराना घर र वास्तुकलाले सहरको सौन्दर्य देदिप्य बलिरहे झैँ शोभायमान छ। झ्याल, ढोका र बरन्डाहरूमा एकदम सूक्ष्म बुट्टाको रूपमा आकर्षक, मोहक र उत्कृष्ट बुट्टाहरू मिहिन ढङ्गमा कोरिएका छन्।
भव्य लाग्ने काठको बुट्टेदार झ्याल ढोकामा विभिन्न आकृतिको सामञ्जस्यपूर्ण कुँदाइले जो कोही पनि मोहित भइरहन्छन्। मयूर झ्याल, सूर्य झ्याल, पासुका झ्याल, साँ झ्याल जस्ता अनेकन् झ्य, खापा र लुखाहरूले मानिसको व्यक्तिगत घरहरू पनि कुनै भयङ्कर राजश्री दरबारभन्दा कम लाग्दैनन्।
तीन तल्ले नेवारी घरहरूको होचा झ्याल ढोकाको पनि आफ्नै मौलिक इन्जिनियरिङ र संस्कृति भेटाइन्छ। ढोकाभित्र पस्नुअघि टाउको निहुराउनु पर्छ भन्ने नेवारी संस्कृतिले घरको सम्मान गर्नुपर्ने संस्कृति सिकाएको रहेछ। घरको तापक्रम पनि मौसमअनुसार अनुकूल भइरहने विशेषता नै इँटा, माटो र काठको मौलिक परम्परागत शैलीका घरहरू हुन पुगेका छन्।
विशेषतः भक्तपुरका जनताहरू किसानी खेतीपाती गर्ने ज्यापू वर्ग भएको हुनाले सहरभरि ऋतुअनुसार बाह्रै मास धान, गहुँ, मकै, भटमास, मास, खोर्सानी जस्ता खाद्य सामग्रीको बिस्कुन लगाइएको चोक र खुला ठाउँहरू नै जनजीवनको पर्याय हो। सहरभरिको मनोरम दृश्य नै यही हो। घर अगाडिको उँचो परेको पेटीहरू पनि एकनास लहरै हुन्छन्। जहाँ बसेर छरछिमेक गफगाफ एवम् बसिबसाउ र फुर्सदिलो समयमा परालको सुकुल बुन्ने जस्ता घरायसी कामहरू गरिन्छन्।
शान्त, सौम्य भक्तपुर नगरी प्राचीन प्रतीत हुन्छ। बाटामा बिहान खर्पन र डाँलू बोकेर खेत गइरहेको तथा गोधुली साँझ घर फर्किरहेका ज्यापू ज्यापूनी देखिन्छन्। भक्तपुरका सडकहरू शान्त र आनन्दित छन्। मुख्य बाटोमा फाट्टफुट्ट मान्छेहरू हिँडिरहेछन्। मुख्य सडकको दायाँ-बायाँ पुराना किराना पसलहरूमा घुइँचो देखिन्छ। गल्लीका सडकहरूमा भने दिउँसो शून्य देखिन्छन्। घरबुना कपडा बुन्ने तानको टाक्राङ टुक्रुङ आवाज भने निरन्तर रूपमा गुन्जिरहन्छ। चर्खाको ङ्याइररर आवाज पनि एकोहोरो कर्णप्रिय लाग्दछन्। सहरमा प्राचीन अवशेषहरूको साक्षात्कार हरेक चोक गल्ली र बाटोहरूमा पाइन्छन्।
लहरै टाँसेर बनाइएको नेवारी छाने शैलीको घरहरूको उचाइ पनि धेरै छैन। वरपर भएका मन्दिरहरूभन्दा धेरै उचाइको घर बनाइयो भने घरको वास्तु राम्रो भएको नमानिने र अशुभ ठानिने हुँदा नजिकैको मन्दिरभन्दा घरको उचाइ कम नै छ। घरको झिँगटीको छत मोहडाभन्दा बाहिर चुच्चो परेर निस्किएको छज्जा छन्। काठको तोरणले बाहिरी झिँगटीको छत अड्याइएको छ। सो तोरणमा आकर्षक सागको माला झुन्डाएर बिस्कुन लगाएको प्राय घरहरू छन्। रातो खुर्सानीको लहरै माला गाँसेर तोरणहरूमा झुन्ड्याइएका छन्। त्यति मात्र नभई लसुन, मकै र प्याजका मुठाहरू पनि घरको मोहडामै तोरणको सहायतामा झुन्डाई राखिएको छ। किसानी ज्यापू समुदायको प्रतिबिम्ब स्वरूपमा पुरानो औद्योगिक युग पूर्वको सामाजिक जनजीवन जस्तो लाने यस्तो सहरको प्राचीन सौन्दर्य र विशेषता यी नै कुराहरूमा लुकिबसेका हुन्।
सहरको मुख्य बस्तीभित्र गुचमुच्च परेको घना बस्ती नै भक्तपुर नगरको मुख्य विशेषता हो। भक्तपुर नगर बाहिर मान्छेका बस्तीहरू छैनन्। नगर बाहिरको लिवाली, कमलविनायक क्षेत्र, देको मिवा जस्ता क्षेत्रहरूमा प्रशस्त मौसमी तरकारीहरू हरियो देखिन्छन्। प्रायः यहाँ नै खेतबारीका मौसमी तरकारी किनबेच भइरहेको दृश्य साँझ बिहान देखिन्छ। सहरको सौन्दर्य भनूँ नै यी सानातिना क्रियाकलापको सामञ्जस्यले पूर्ण रूपमा निरन्तरता पाएको छ।
भक्तपुरलाई आठ वटा अष्टमात्रिका गणले अष्टकोण गरी घेरिएको हुनाले नगरबाहिर मुख्य आठ वटा अष्ट मात्रिका गणको पीठहरू र घाटहरू छन्। यी नै अष्टमात्रिका गणको मुख्य बाटोमा प्राचीन नगर प्रवेश गर्ने ढोकाहरू रहेको मान्यता छ। हाल केही प्रवेशद्वारहरू मात्रै अस्तित्वमा छन्। पहाडको थुम्कोमा अवस्थित भक्तपुरको दक्षिणमा हनुमन्ते नदी र उत्तरमा कासाङखुसी नदी स्वच्छ, निर्मल र शान्त भएर अनवरत रूपमा बगिरहन्छ।
भक्तपुरको सूर्यमढी र तालाक्व क्षेत्रमा माटाका भाँडाकुँडाहरूको बिस्कुन लगाइएको छ। विशेषतः प्रजापति कुम्ह समुदायको बाहुल्य रहेको यस क्षेत्रबाट जन्मदेखि मृत्यु संस्कारसम्मको लागि चाहिने माटाको भाडावर्तन उत्पादन भइरहेका छन्। प्लास्टिकको जमान सुरु भइनसकेको अवस्थामा सम्पूर्ण जनताहरू लुगा धुने बाता, पानी भर्ने गाग्री, पानी राख्ने धप जस्ता सामानहरू पनि माटोकै प्रयोग गर्छन्। यहाँ कर्मठ कुम्ह समुदाय माटोमा आफ्नो शिल्पकला र मृतिका कलामा जीवन अर्पण गरिरहेका देखिन्छन्। सहरको ठाउँ-ठाउँमा काष्ठकलाको सामग्री निर्माण गरिरहेका शिल्पकार र ढुंगाको मूर्ति कुदिरहेका शिलाकारहरू पनि देखिन्छन् |
चिसो हावा, शान्त र सौम्य वातावरण, आकर्षक मठ मन्दिरहरू र उत्कृष्ट नेवारी वास्तुशैली र समय समयमा आइरहने चाडपर्व जात्राले भक्तपुर अविच्छिन्न थाक्दैन। पुरानो इँटा माटोको घर निर्माण गर्ने इन्जिनियरिङले धेरै वटा ठुलठुला भूकम्पहरूमा पनि नढली उभिएका छन्। तसर्थ मौलिक ज्ञान प्रणालीबाट निर्माण भएका पुराना नेवारी शैलीको वास्तुकला, पुरातत्त्व र इन्जिनियरिङ अबल सिद्ध भएका कारण यो नेपालको परिवेश सुहाउँदो हावापानी सुहाउँदो भए तापनि यसप्रति न आकर्षण बढ्न सक्यो न यसको महत्त्व। तैपनि ठुला-ठुला मठमन्दिर पाटीपौवा चैत्य र बहबहि प्रशस्त देखिन्छन्।
प्राचीन नेवारी बस्ती विकास प्रणालीको विकसित स्वरूपको प्रारूप भक्तपुर पनि हो। वास्तुशास्त्रको हिसाबले प्राचीन नेवारी बस्ती विकसित भएका छन्। घर, मठमन्दिर, हिति र पाटी पौवाहरू वास्तुशास्त्रको नियमअनुसार निर्माण भएका हुन्छन्। कुनै एउटा टोलभित्र धेरै वटा चोकहरू निर्माण भएको हुन्छ। चोकभित्र प्रवेश गर्ने सहायक गल्लीहरू छिचोल्नु पर्ने हुन्छ। त्यसरी सहायक गल्ली पसेर खुला चोक आइपुगिन्छ। चोकभित्र इनार, प्रशस्त हावा र प्रकाश आउने खुल्ला ठाउँ, सानो-सानो मूर्तिहरू, चैत्य एवम् मन्दिर समेत स्थापित भएका हुन्छन्। यी जम्मै कुराहरू मानव अनुकूल र वातावरण अनुकूल छन्।
मुख्य टोलमा मन्दिर, पाटी र हिति एकै ठाउँमा प्रायः भेटिन्छन्। तिर्खाएको बटुवा हिति तथा इनारको पानीले प्यास बुझाएर छेउकै पाटीमा थकान मेटाउन सक्छन्। टोलको मुख्य सिमाना छुट्टाउन मुख्य रूपमा गणेशका मन्दिर र छ्वासका (क्षेत्रपाल) ढुङ्गाहरू हुन्छन्। प्राचीन समयमा भक्तपुरमा २४ वटा टोलहरू थिए। भक्तपुर वरपर अग्ला-अग्ला किल्लाहरूले घेरिएका थिए। राजा प्रताप मल्लले पटक-पटक आक्रमण गर्दा गर्दा पनि सो किल्ला भत्काएर भित्र छिर्न सकेनन् र आजित भएर फर्किए।
त्यसै गरी पृथ्वीनारायण शाहले पनि भक्तपुर आक्रमण गर्दा सजिलै यी किल्लाहरू फुटाउन सकेनन्। यी यस्ता मजबुत र अभेद्य किल्लाहरू कस्ता थिए? कसरी निर्माण गरिएका थिए? कहाँ कहाँबाट घेरिएका थिए। कति उचाइ थिए? आकार प्रकार कस्तो थियो? एकछिन सोचमग्न भई गम खाइन्छ।
यस्ता मुख्य पर्खालले घेरेर किल्लाहरू निर्माण गरिएको सहर भित्र प्रवेश गर्ने मुख्य द्वार या ढोका बाहिर पनि बास बस्ने पाटी र हितिहरू पाइन्छन्। साँझ घाम डुबिसकेपछि मुख्य प्रवेशद्वार बन्द हुन्छन्। भोलि बिहान घाम उदयसँगै खोलिन्थे। मल्लकालीन किल्लाको निर्माण मजबुत ढङ्गले निर्माण भएका थिए। किल्लामा सुरक्षार्थ द्वारपाल र सैनिकको २४ सै घण्टा पहरेदारी हुन्थ्यो।
नगरभित्र किसानहरू दौरा सुरुवाल वा कछा बेर्छन्। महिलाहरू प्रायः हाकुपटासी र जामा लगाउँछन्। चोली, फरिया र खास्टो नै प्रायः भक्तपुरको नेवारहरूले लगाउने पहिरन हुन्। समय सुहाउँदो गरगहना पनि मुख्य चाडपर्व, व्रतबन्ध र पास्नी जस्ता समारोहमा लगाइन्छन्। काँधमा खर्पन बोकेर खेतीपातीमा लागिरहेको किसानहरू भेटिन्छन्।
घरको छिँडीमा छ्वाली, पराल र दाउरा भण्डारणको लागि प्रयोग हुन्छ। मोहडापट्टिको छिँडीमा पसल र ज्यासलको रूपमा प्रयोग हुन्छ। घरको निर्माण काठ र चुकुलको प्रयोगबाट हुन्छ। भक्तपुरको सुन्दर वास्तुकला, मठमन्दिरहरू मौलिक स्वरूपमा आकर्षक देखिरहन्छन्। घरको बुइँगलमा कुखुराको भाले तथा बोका पनि पालिएको हुन्छ। घरमा वस्तु (जनावर) पाल्नुपर्छ भन्ने मान्यताका कारण बस्तुभाउ नपाल्ने घर हुँदैन। कम्तीमा एउटा भाले त अवश्य पालिन्छ। बिहानीको झिसमिसे उज्यालोमै कुखुरी काँको आवाजसँगै दिनचर्या सुरु हुन्छ।
नजिकैको हिति र इनारमा स्वच्छ निर्मल पानी कलकल बगिरहन्छ। यी नै स्थानबाट बिहानै नित्यकर्मको सुरुबाट हुन्छ। गाग्रीको आवाज, कुखुरी काँ र महिलाहरूको छिनछिन चुराको आवाजबाट बिहानीको सुनौलो प्रहर सुरु हुन्छ। मन्दिरमा एक हुल मानिसहरू भगवान् पुज्न लागिरहेका हुन्छन्। मन्दिरको घण्टाहरू पनि एकनास ट्वाङट्वाङ बजिरहेको प्रहरबाट आम मानिसहरूको दिनको शुभारम्भ हुने गर्दछ।
नोस्टाल्जियाबाट बिउँझिएपछि
नोस्टाल्जियाको निन्द्राबाट बिउँझिएपछि समयको एउटा खण्ड निमेषभरमा विलीन हुन्छ। त्यसपछि नोस्टाल्जिक समयको कालखण्डमा उभिएको प्राचीन स्वरूपको सुन्दर नर्तकी उही हाकुपटासी र ङ्आपुसीख लगाएकी सुन्दर नेवारी केटी जस्तो देखिँदैन। आश्चर्य लाग्दो भक्तपुरको किसानी परिवेशको सौन्दर्यदृष्य पनि उही पुरानो स्वरूपकी हिस्सी परेकी मैँचा जस्तो पनि रहँदैन। नोस्टाल्जियाको तन्द्राबाट उठेपछि अब हाकुपटासी र नेवारी पोसाकमा ठाँटिएकी युवती नभई कालो चस्मा ढल्काएर जिन्समा ठाँटिई ‘पउट’ दिन जानेकी युवती जस्तै भई। अब प्राचीन भक्तपुर नगरी नोस्टाल्जियामा मात्र बाँच्छ।
समय र परिस्थितिको परिबन्धले बाँधिएकी, आफ्नो स्वच्छन्द उच्छ्वासहरूमा खुल्न नसकेकी, रङ खुइलिएको, मुक्त कण्ठले हाँस्न नसकिएको जस्तो पो आभास हुँदो छ ए! किनकि पुरानो झिँगटीका छानाहरू लहरै देखिँदैनन्। त्यसको साटो कङ्क्रिटको घना जङ्गलमा निलो, कालो, हरियो, रङ्गका तातेपाते पानी ट्याङ्कीहरू देखिन्छन्। कौसीबाट पाँच तल्ले मन्दिरको छानो विलुप्त हुन पुग्छ। अतीतको लहरै मिलेका माटो र काठको नेवारी शैलीका घरहरू अब एकाध बाँकी छन्, त्यो पनि खन्जर अवस्थामा।
अब सहर कङ्क्रिटमय भएको छ। पुरानो वास्तुविधिलाई नयाँ प्रविधि र निर्माण सामग्रीले सर्लप्प निलेपछि मौलिक गारोवाला भूकम्प प्रविधि अनुरूपको घर पनि महँगो र समय सकिएको फेसनमा रूपान्तरण भएको छ। केही कङ्क्रिटको घरमा पुरानो टिकी झ्याल, साँ झ्याल र ढोकाहरूले शोभा बढाएता पनि सुगन्ध नआउने प्लास्टिकको फूलजस्ता लाग्छन्, प्राण नभएजस्तो। कङ्क्रिटको घरहरू पनि दाँत नमिलेका ङिच्च परेको हाँसो जस्तो देखिन्छ, निष्प्राण।
सहरमा अब अर्ग्यानिक मौलिक चिजको नाउमा आयातित चीजको थुप्रो भेटिन्छन्। सहर बाहिर असरल्ल हरिया तरकारी उब्जाउ हुने सबैजसो ठाउँहरूमा कङ्क्रिटका घरहरू फल्छन् फुल्छन्। हिस्सी परेर बसेकी, हाकुपटासी लगाएकी सुन्दर नेवारी मैँचा आधुनिक समयसँगै ग्लोबलाइज्ड हुन पुगेकी केटी जस्तै प्राचीन नगरी पनि ग्लोबलाइज्ड हुन पुग्छ।
सहरको गल्लीमा नेपाली तानको ‘टाकराङ टुकरुङ’ आवाज गुन्जिन बन्द भइसकेको छ। पुरानो नोस्टाल्जिक घरको मोहडामा सुकेको सागको माला र खोर्सानीको माला पनि झुन्डिएको देखिँदैन। बिस्कुन लगाइएको टोल कथा भएको छ। खर्पनको कथा बाइसाइकल, मोटरसाइकल हुँदै कारमा बदलिएको छ। प्रजापतिहरूको बाहुल्य रहेको सूर्यमढी टोलमा माटाका भाँडाकुँडाको कुनै नामोनिसाना भेटिँदैन। सहर कोलाहलमय छ। ७२ को भूकम्पपछि सहरको मौलिक स्वरूपमा खलबल हुन पुगेको छ। सहर आफ्नो प्राचीन स्वरूप बिर्सिएर एक्काइसौँ शताब्दीको आधुनिक हुन खोजिरहेछ।
जुन गतिमा जमाना बदल्न खोजिरहेछ, त्यही अनुरूप प्राचीन स्वरूपको भक्तपुरको रूप पनि आधुनिक समयको पदचाप सँगै बदलिरहेछ, यी पदचापहरू रोकेर रोक्न नसकिने अवस्थामा छ। पुरानो परम्परागत परिकारलाई आधुनिक पिज्जा, बर्गर र पानीपुरीको रसास्वादनले निलेजस्तै। सहर आफ्ना मौलिक र प्राचीन स्वरूप भुलेर आजको आधुनिक फेसन जस्तै आफूलाई समयानुकूल रवाफिलो बन्न र बनाउन खोजिरहेछ।
-1760520938.jpg)
-1760520937.jpg)
-1760520937.jpg)
-1760520935.jpg)