विगत केही दशकयता प्रविधिमा भएको तीव्र विकासले मानव जीवनलाई सहज, सरल र सुविधाजनक बनाएको छ। मोबाइल फोनको आविष्कारले विश्वलाई हातको हत्केलामा झारेको जस्तो महसुस गराएको छ।
पहिले सञ्चारको एक साधनको रूपमा सुरु भएको मोबाइल आज सूचना, शिक्षा, मनोरञ्जन, व्यवसाय र दैनिक जीवन सञ्चालनको केन्द्रीय माध्यम बनेको छ। तर यही प्रविधिको अत्यधिक प्रयोगले अहिले आम मानिसहरूलाई फाइदाभन्दा पनि लततर्फ धकेलिरहेको अवस्था देखिन्छ।
मोबाइलको लत अर्थात् आवश्यकताभन्दा धेरै समय र ऊर्जा मोबाइलमा खर्च गर्नु, जुन हाम्रो शारीरिक, मानसिक, सामाजिक र पारिवारिक जीवनमा नकारात्मक असर पार्दछ। बिहान उठ्ने बित्तिकै मोबाइल हेर्ने, सुत्नुअघि मोबाइल नछोड्ने, केही समय खाली हुनासाथ स्क्रोल गर्न थालेको बानी सामान्य जस्तो देखिए पनि यो लतको सूचक हो।
विशेष गरी युवापुस्ता र बालबालिकामा मोबाइलको अत्यधिक प्रयोगले पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने, आँखाको समस्या, निद्राको कमी, चिडचिडेपन र एक्लोपन जस्ता समस्या निम्त्याएको छ। हिजोको पुस्ताले कलम समाउँदै शिक्षा सुरु गर्यो, आजको पुस्ता टच स्क्रिनमै आँखा गाडेर 'लर्निङ' भनिरहेको छ।
हामीले जुन प्रविधिलाई सुविधा मान्यौँ, आज त्यो सुविधा आवश्यकता मात्र नभई परनिर्भरता हुँदै लतमा रूपान्तरण हुँदै गएको देखिन्छ। अनि यति बेला एक गम्भीर प्रश्न उब्जन्छ, के प्रविधिको उपयोगमा सन्तुलन राख्न हामी सक्षम छौँ त?
७२ वर्षे मेरी आमा पहिले मोबाइल चलाउने कुरामा डराउनु हुन्थ्यो। हरियो बटनले उठाउने र रातो बटनले काटिने बुझ्न पनि समय लाग्थ्यो। तर आज उहाँ फेसबुक, म्यासेन्जर, युट्युब, टिकटकजस्ता एपहरू आत्मविश्वासपूर्वक चलाउनुहुन्छ। कोही आफन्त भेट्दा भन्नुहुन्छ, ‘बाबु, फेसबुकमा आइडी के छ? मलाई एड गर न।’
यसैले लाग्छ, समयसँगै पुस्ता परिवर्तन मात्रै होइन, सोच र अभ्यास पनि डिजिटल हुँदै छ।
मेरो पाँच वर्षे छोराले भ्लग बनाउँछु भनेर मोबाइल ठड्याउँछ। ‘आज हामी के खानेछौँ, स्कुल गइयो, खेल्न गइयो’ सबै कुरा उसले मोबाइलमा कैद गर्छ। ऊ सिर्जनात्मक छ तर कहिलेकाहीँ लाग्छ, के ऊ यति सानो उमेरमै भर्चुअल संसारमा अल्झिँदै त छैन? मोबाइल उसले रमाइलो गर्न प्रयोग गर्छ तर अब त्यो रमाइलो उसकै संसार नबनोस् भन्ने चासो अभिभावकको रूपमा लाग्छ।
हामी अभिभावकहरू पनि बच्चालाई भनेका हुन्छौँ- ‘मोबाइल धेरै नचलाऊ, बाहिर निस्क, साथीभाइसँग खेल, मोबाइलले खत्तम बनायो।’ तर आफैँलाई हेरेका छौँ त? हामी मोबाइल नहेरी खाना खान सक्छौँ? मोबाइल नलिई ट्वाइलेट जान सक्छौँ? बिछट्ट गफ गर्छौँ। अचेलका बच्चा बिग्रिए भन्ने तर त्यो बिग्रन दिने लत बसाउने काम कसको हो?
हाम्रो दोहोरो चरित्रले बच्चामा असर पार्दो रहेछ। आज बालबालिका मात्र होइन, वृद्ध, युवा, सबै उमेर समूह मोबाइलको मोहमा परेका छन्। सामाजिक भेटघाटको स्थान ग्रुप च्याट बनेको छ। साक्षात् भेटभन्दा जुम मिटिङ सजिलो लाग्छ। विद्यालयको गृहकार्यभन्दा युट्युब आकर्षक लाग्छ। अनि जब यस्ता व्यवहार नियमित बन्छन्, तब त्यो लत बन्छ।
मोबाइल हाम्रो हातमा रहने वस्तु हो तर अहिले हामी नै मोबाइलको नियन्त्रणमा पर्न थाल्यौँ। मोबाइल अब जीवनको सहयोगी होइन हाम्रो मालिक बन्न खोज्दै छ। हामीले मोबाइल चलाउने भन्दा पनि मोबाइलले हामीलाई चलाउन खोज्दै छ।
प्रविधि दोषी होइन, दोषी हाम्रा प्रयोगका शैली हुन्। मोबाइल शिक्षा, सञ्चार, सिर्जनाका लागि एक अमूल्य साधन हो। तर यसको प्रयोगमा विवेक र सन्तुलन आवश्यक छ। अभिभावकले आफ्ना व्यवहारमा अनुशासन ल्याएर उदाहरण बन्नुपर्छ। बच्चालाई मोबाइल दिनुअघि प्रयोगको सीमा तय गर्नु जरुरी छ। समय तालिका, सामग्री छनोट, र वैकल्पिक सिर्जनात्मक क्रियाकलापद्वारा सन्तुलन कायम गर्न सकिन्छ।
प्रविधिले जीवन सहज बनाएको छ तर सजिलोसँगै संवेदनशील पनि। मोबाइलले पुस्तालाई जोडेको छ तर लतले छुट्टाएको पनि छ। हामी आफैँले परिवर्तनको थालनी नगरेसम्म सुधार सम्भव छैन। सन्तुलित प्रयोग, आत्मनियन्त्रण र सचेत अभिभावकत्व नै आजको प्रविधिकालीन युगमा हाम्रो मार्गदर्शन बन्नुपर्छ। किनकि बालबालिकाले हाम्रो उपदेश होइन, व्यवहार सिक्छन्।
हामी स्मार्टफोनको युगमा छौँ तर फोन स्मार्ट भए पनि हामी मूर्ख बनिरहेका छौँ। प्रविधि हाम्रो सहारा हो, त्यसको गुलाम होइन। बच्चाले हामीलाई हेरेर सिक्छन्, त्यसैले उपदेश दिनुभन्दा पहिला हाम्रै आचरण सुधारौँ। मोबाइल नचल्दा त बाँचिन्छ तर मोबाइलमै हराउँदा जीवन बाँकी रहँदैन।