घर बनाउन सकेको छैन, 
तर भन्छ— ‘देश बनाउँछु!’
समाज चिनेको छैन
तर भन्छ— ‘विश्व चिनेको छु!’
घरमा जीवित भगवान् छन् 
तर भगवान खोज्दै मन्दिर धाउँछ!
लोक सेवामा पास हुन नसकेपछि— 
‘देशमा बस्ने वातावरण नै छैन’ भन्छ! 
जब हातमा पीआर र ग्रीन कार्ड पर्यो 
अनि 
अनि 
ऊ साँच्चिकै राष्ट्रवादी भयो रे!