ठूलो सरकारलाई सानातिना कुराले छुँदैन। देश खाली हुँदै गएकोमा पनि खासै चिन्ता छैन उसलाई। नवजवान जेनजीलाई देशमा भरोसा जगाउन नसक्दा पलायन रोक्न सकिएन भन्ने विषयमा सुधारात्मक सुझाव सहित धेरै पटक आर्टिकल लेखेँ।
सैद्धान्तिक लेख मात्र थिएनन् ती, व्यावहारिक सुझाव पनि थिए।
तर आज अरूलाई सिकाउने मान्छेको छोराले नै देश छोड्यो! टोलभरि हल्ला चलेछ। सोधे धेरै जनाले! 'बाबु विदेश गएको हो?'
के उत्तर दिनू! दिक्क लाग्यो। कस्तो दु:खद् दिन। यो एउटा सरकारी अधिकृतको मात्र असफलता कि समग्र राज्य विफलता?
टाढाको अफिसबाट घर पुग्दा बेलुकाको ७ बजिसकेछ। खाना खाने मन भएन। बेडमा गएर ढल्केँ। केही क्षण नेपाल टेलिभिजन हेरेको....। मन्त्रीका भाषण सुन्दा दिक्क लाग्यो। त्यो पनि बन्द गरिदिएँ। राजनीति नसुधारिएसम्म युवा पलायन रहिरहन्छन्। मनमा यस्तै यस्तै कुरा खेलाउँदै थिए। निदाएछु।
सरकारको प्रतिनिधि हुँ म पनि। सेलेक्टेड सरकारको अधिकृत! आफ्नै छोरालाई देशमा रोक्न नसक्ने सरकारी अधिकृतबाट जनताका छोराछोरीले के भरोसा पाए होलान्? के सिके होलान्? धिक्कार छ। सरकारको एक प्रतिनिधि भएकोले माफी माग्छु म! 'माफ गर नवजवानहरू' यो देश तिमीहरूको लागि होइन; बूढाहरूको हो। रिसले मन थाम्न सकिनँ। 'नबस देशमा, जाओ विदेश'। हैट, त्यसो होइन।आक्रोश आफैले शान्त पार्न खोजेँ। परिवर्तन सम्भव छ।
पहिलो र दोस्रो विश्वयुद्धमा देशले सेना निर्यात गर्यो। भाडाका सेनाका रूपमा मानव पुँजी बाहिरियो। अरूका लागि युद्ध लडेर 'वीर गोर्खाली' को दर्जा पाए। वास्तवमा वीर गोर्खाली थिएनन्। नूनको सोझो गर्ने आदेश पालक थिए। रोजगार नपाएर भौंतारिएकाहरू थिए ती। पहिलो र दोस्रो विश्व युद्ध सकियो। सेना निर्यातको काम बन्द भयो। निर्यातको रूप बद्लियो तर रोकिएन। श्रमिक र विद्यार्थी निर्यात हुन थाल्यो। हिजोसम्म सावाँ राखेर ब्याज निर्यात हुन्थ्यो। अब मूलधन 'सावाँ' नै निर्यात हुन थाल्यो। लाखौं लाख खर्च गरेर उत्पादन गरेका युवाहरू सस्तो मूल्यमा अरूले पाइरहेका छ्न्। राज्यका लागि यो घाटाको विषय हो। यो कसले बुझ्ला? देशमा छिट्टै जनसंख्या र मानव पुँजीको अभाव हुने निश्चित छ।
एउटा छोरो! बुढेसकालको भरोसा थियो ऊ। बुबाको मुख हेर्ने अघिल्लो दिनमा उसले देश छोड्यो। अभाव थियो? अहँ थिएन! बाँच्नका लागि संघर्ष थियो? थिएन! भविष्यका लागि कमाउनुपर्ने थियो? खास त्यस्तो पनि थिएन। आफ्नो लागि कमाए पुग्थ्यो। अरू सबै बाले कमाइदिएका थिए।राजधानीमा उसैको हक लाग्ने घरजग्गा थियो। त्यो के काम अब? सम्पत्तिले रोकेन उसलाई। उड्यो ऊ। रोगी श्रीमती र मेरो सहारा भगवान भए अब। सरकारी अधिकृतको एक्लो छोराले देश मात्र छोडेन; बाआमालाई पनि छोड्यो। के का लागि र कसका लागि सम्पत्ति जोडेको होला? सम्पत्ति जोड्ने प्रणाली प्रति पनि वितृष्णा लाग्यो! गाह्रो भो मन बुझाउन !
आफैले एउटा निष्कर्ष निकालेँ। अभावले मात्र युवाहरूले देश छोडेका होइन रहेछन्। देशमा बस्ने जति युवा असक्षम भन्ने मानक रहेछ! देशप्रति विकर्षणको प्रमुख कारण राजनीतिक प्रणाली र कुशासन रहेछ। राजनीतिले आशा जगाएन। बरू निराशा थप्दै गयो। त्यो कुशासन प्रवाहमा मेरो पनि थोर बहुत योगदान होला। थुइक्क! राजीनामा दिन्छु! खान्नँ जागिर।
छिमेकीका घरमा छोराछोरी बाबाको मुख हेर्न आए। छुट्टै रमझम त्यहाँ। ठूलो चाडपर्व हो यो। आफ्नो छोरो भने त्यही मुख हेर्ने अघिल्लो दिन विदेशियो। टामाटुमी छ घरमा। छैन कुनै चहलपहल। श्रीमती मात्र होइन, म पनि बिरामी छु। नियमित औषधि सेवनबाट जिन्दगी धकेलिएको छ।सहारा कसले देला? बिरामी भएर थला परे कसले स्याहार्ला?
श्रीमती गृहिणी मात्र हो। दुनियाँका धेरै कुरा थाहा छैन उसलाई। सोध्छे मलाई। 'छोरो पुग्यो?' उत्तर दिएँ मैले 'आज बेलुकीसम्म पुग्छ।' छोरो उडेपछि मुख उज्यालो छैन। श्रीमती खासै मोबाइल चलाउँदिनन्। आँखा पोल्ने समस्या छ। गाह्रो छ उसलाई दिन काट्न।
छोरो सरकारी जागिरे बनोस! विदेश नजाओस् भनेर कयौं पटक सम्झाएँ।
भन्यो उसले — बाबा, म लोक सेवा पास गर्न सक्दिनँ। त्यो घोकन्ते छ। त्यो प्रणालीप्रति गहिरो निराशा छ। पास गरे भने पनि त्यसले सन्तुष्टि दिँदैन। देशमा उद्यम गर्ने वातावरण छैन। त्यसैले विदेश जान्छु।
नरोक्नु भन्दै कर गर्यो।
रोक्नै सकिनँ। केही लागेन मेरो। यसो सोचेँ ! राष्ट्रपति, मन्त्री, नेता र उच्च पदस्थका छोराछोरी देशमा छैनन्। तिनैले राष्ट्र निर्माणका ठूला ठूला गफ दिँदा ताजुब लाग्छ। कसका लागि राष्ट्र निर्माण गर्छन् तिनीहरूले? मेरो त के हिसाब...! फुच्चे एउटा अधिकृत न थिएँ!
एक्लो छोराले देश छोडेपछि सोचमग्न भएँ। असफल सरकारी अधिकृत मात्र होइन असफल बाबा पनि हुँ! ग्लानी छ मलाई! चित्त बुझाउन अनेक कोसिस गर्छु। सक्दिनँ। घरीघरी त्यही कुरा आउँछ मनमा। फेरि उत्तर दिन्छु। यो मेरो एकल असफलता हो र? समग्र राज्यको असफलता हो। जबसम्म युवामा आशा र भरोसा जगाउन सकिँदैन तबसम्म अरू सबै कुरा फिक्का हुन्छन्। युवाहरू निरन्तर बाहिरिन्छन्। रोक्न सकिँदैन।
त्यसो भए सबै कुरा बिग्रियो? खत्तम भयो? समाधानका उपाय छैनन त? अवश्य छन्। आशा जगाउन सकिन्छ। सुधार गर्ने पहिले बिन्दु राजनीति हो। राजनीति सुधारेर अरू क्षेत्र सुधार गर्न सकिन्छ। पुरानो सोच र प्रवृत्ति पुग्यो अब। 'इनअफ इज इनअफ'। जेल बसेका र लामो राजनीति गर्नेलाई भन्दा राष्ट्र निर्माणको भिजन भएकालाई अगाडि बढाउनु पर्छ अब!
लाखौ सचेत युवा देश बाहिर छन्। अनलाइन भोटिङको व्यवस्था गरिदिए कुरा अर्कै हुन्थ्यो। त्यस्तो काम किन गर्थे र? गर्दैनन्। त्यसलाई काउन्टर दिन २०८४ को चुनावताका विदेशिएका नवजवानहरू देश फर्किनु पर्छ। यसलाई एउटा अह्वान र अनुरोध माने पनि हुन्छ।
मिल्नेसम्म सबै फर्किनुस्। ६/७ लाख मत नै निर्णाक मत हुँदो रहेछ। विगतका निर्वाचन आँकडाले त्यही देखाउँछ। त्यसैले २०८४ एउटा मिसन हो। त्यसलाई परिवर्तन र आशाको वर्ष बनाउनु पर्छ। त्यसको लागि युवाहरू देश फर्कन जरूरी छ। हामीले नगरे कसले गर्ने? अब नगरे कहिले गर्ने? भन्दै थिएँ। सिरानीमा राखेको मोबाइलमा अलार्म बज्यो। बिहानको ६ बजिसकेछ। भाद्र महिना भए पनि आकाश पूरै खुलेछ आज। सूर्यको मधुर किरण कोठा भित्रसम्म छिरेछ। मनै चंगा भो!
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)