मेरो दिन अक्सर धोबी खोलाबाट सुरू हुन्छ। म आबद्ध कलेजको छेउबाट बग्ने त्यो सानो खोलाले केही तल झरेपछि बागमती भेट्छ।
हरेक दिन बागमती पार गरेर घर–कलेज गर्दा बाटोमा विष्णुमती नदी भेटिन्छ, जुन तल गएर उही बागमतीमा मिसिन्छ।
बागमती जसलाई मैले वर्षौंदेखि देख्दै आएको छु — बर्खामा लेदो, हिउँदमा धमिलो। स्वच्छ देख्ने तराई नै झर्नुपर्छ!
तर यही धमिलो बागमतीले एउटा कम्पनी जन्मायो, त्यो पनि नेपालमा होइन बेलायतमा।
१२ वर्षअघि क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूको एउटा टोली नेपाल आयो। उद्देश्य थियो— बागमतीको प्रदूषण जाँच गर्ने।
अनुसन्धानबाट थाहा भयो, प्रदूषणको मूल कारण कार्पेट उद्योगमा प्रयोग हुने रङ रहेछ। अध्ययन गर्दै जाँदा विश्वभर नदीहरूको प्रदूषणको प्रमुख कारक कपडा उद्योगको रङ लगाउने प्रविधि भएको थाहा भयो।
क्याम्ब्रिजका वैज्ञानिक त्यतिमै रोकिएनन्। 'समस्या पत्ता लगायौं' भनेर कागजमा रिपोर्ट लेखेर फर्किएनन्। उनीहरूले आफैलाई प्रश्न सोधे— अब के गर्ने?
यो त्यही प्रश्न हो, जसले 'कलरीफिक्स' भन्ने कम्पनी जन्मायो। यही कम्पनीले विकास गरेको डिएनए सिक्वेन्सिङ प्रविधिले कपडा रंगाउन पानी, ऊर्जा र रसायनको प्रयोग नाटकीय रूपमा घटायो। आज कलरीफिक्सले 'एच एन्ड एम' जस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग साझेदारी गर्दै विश्व बजारमा आफ्नो समाधान पुर्याइरहेको छ।
नेपालमा देखिएको एउटा समस्या नदी प्रदूषणले प्रेरित गरेको अनुसन्धान आज विश्वकै ठूलोमध्येको एक फेसन उद्योगलाई परिवर्तन गरिदिने प्रविधि बनेको छ। र, यही हो उद्यमशीलताको शक्ति।
उद्यमशीलताले समस्या पहिचान गर्छ, समाधान खोज्छ, उद्यम जन्माउँछ र उद्यममार्फत समाजको रूपान्तरण गर्ने तागत राख्छ।
कक्षा कोठाबाट उद्यम
जसरी क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापकले बागमतीको प्रदूषण अध्ययन गरेर समाधान खोज्दै कलरीफिक्स जस्तो कम्पनी जन्माए, त्यस्तै कथा 'सारङ' को पनि छ।
फरक यत्ति हो — कलरीफिक्स बेलायतमा जन्मियो, सारङ नेपालकै कलेजको कक्षाकोठामा।
कोभिडको समय, यताउता जान नपाइने, रातदिन घरमै बस्नुपर्ने। यो दैनिकीबाट सचिन डाँगी दिक्क भइसकेका थिए। घुम्न मन पराउने व्यक्ति उनी लामो समय कतै जान पाएका थिएनन्।
जब लकडाउन खुल्यो, सचिन र उनका साथी स्कुटरमा चिसापानी गढी गए। त्यहाँ पुग्दा ढोका बन्द थियो।
त्यति धेरै टाढाबाट आइएको छ, नहेरी कसरी फर्किने — सचिनले आफैलाई प्रश्न गरे र फोन गरेर पुजारीलाई बोलाए।
त्यसपछि अवलोकन गर्ने उनीहरूको धोको पूरा भयो। त्यहाँ नेपाल अंग्रेज युद्धमा प्रयोग भएको अग्लो तोप देखे। भैरव मन्दिरमा दर्शन गरे। मन्दिरबारे किम्बदन्तीहरू पनि सुने।
चिसापानी गढी अवलोकन गरेर फर्किँदै गर्दा सचिनलाई लाग्यो — यी कथा र किस्सा त त्यहाँ पुगेपछि मात्रै थाहा हुन्छ। अन्य पर्यटक आउँदा कहिलेकाहीँ ढोका बन्द हुन सक्छ। पुजारी नभेटिन सक्छन्। भाषा बुझ्न पनि गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा के गर्ने?
अब यहाँ उनको उद्यमी सोचले काम गर्न थालिसकेको थियो। आफूले महसुस गरेको समस्याको समाधान खोज्न थाले सचिन।
उनलाई लाग्यो — सम्पदाहरूको कथा र जानकारी दिने सजिलो माध्यम भनेको क्युआर हो।
यहीँबाट सारङको जन्म भयो। सारङको क्युआर स्क्यान गरेर मानिसहरूले ठाउँहरूबारे जानकारी लिन सक्छन्।
सुरू सुरूमा सारङ टिमले साना कार्यक्रम र बुटक्याम्प आयोजना गरेर अनुभव बटुल्यो।
जब उनीहरू आफ्ना आइडियामाथि काम गर्न थाले, त्यति बेला प्रस्ट भयो — नेपालको पर्यटन क्षेत्रमा सबभन्दा ठूलो समस्या भनेको जानकारीको अभाव हो। विशेषगरी हेरिटेज (सम्पदा) पर्यटनमा। यात्रुहरू सम्पदामा आउँथे तर इतिहास, संस्कृति र स्थानीय कथा बुझाउने सजिलो माध्यम थिएन।
यही समस्या समाधानका लागि उनीहरूले सूचना बोर्ड विकास गरे।
बिहान कक्षा सकिए पनि बेलुकासम्म कलेजमा बसेर डिजाइन, कन्टेन्ट र प्रोटोटाइपमा काम गर्थे उनीहरू। निरन्तर मेहनतको नतिजा — करिब एक वर्षमै सयभन्दा बढी ठाउँमा सूचना बोर्ड राख्न सफल भए।
थप एक वर्ष यसरी इन्कुबेसन सेन्टर (उद्यम विकास केन्द्र) मा घोत्लिएपछि सारङ थप परिपक्व हुँदै गयो। आज सारङको आफ्नै कार्यालय छ। अहिलेसम्म २५० भन्दा बढी ठाउँमा बोर्ड स्थापना भइसकेको छ।
सारङको गति यत्तिमै रोकिनेवाला छैन। डिजिटल समाधान र नयाँ उत्पादनहरू विकास गर्ने तयारी भइरहेको छ।
आज सारङसँग आठ जनाको टिम छ। पढाइ सकिएपछि सचिनको समूहलाई जागिर खोज्नुपर्ने अवस्था आएन। आफ्नै उद्यममार्फत करिअर निर्माण गर्दैछन्।
'सारङ' र 'कलरीफिक्स' को कथाको निचोड एउटै हो — शिक्षा, समुदाय र उद्यमशीलता एउटै ठाउँमा जोडिँदा मात्र वास्तविक उद्यम जन्मिन्छ। समस्या देख्ने आँखा, समाधान सिर्जना गर्ने आँट र त्यसलाई टिकाउ उद्यममा रूपान्तरण गर्ने क्षमता नै उद्यमशीलताको असली शक्ति हो।
नेपालकै कलेजमा जन्मिएको सारङ जस्तो उदाहरणले देखाउँछ — जब कक्षाकोठा र 'इन्कुबेसन सेन्टर' (उद्यम विकास केन्द्र) समाजसँग जोडिन्छन्, त्यहाँबाट नयाँ सम्भावना जन्मिन्छ। अझै धेरै ठाउँमा पनि यस्ता अवसर लुकेका छन्, जसलाई विद्यार्थीहरूको जिज्ञासा र ऊर्जामार्फत उजागर गर्न सकिन्छ।
ल्याबभित्र सीमित ज्ञान
गत वर्ष म आफ्ना अनुभव बाँड्न एउटा विश्वविद्यालय पुगेको थिएँ। उद्यमशीलताको विषयमा छलफल चल्दै थियो।
मैले विज्ञानमा स्नातकोत्तर पढिरहेका विद्यार्थीलाई सोधेँ — तपाईँहरू दिनभर के गर्नुहुन्छ?
जबाफ आयो — हामी ल्याबमै हुन्छौं।
त्यो उत्तरमा कतै गर्व पनि थियो, कतै अज्ञानता पनि। तर त्यही उत्तरमा एउटा उकुसमुकुस लुकेको थियो — ल्याबमा बसेर समाजको समस्या र सम्भावनाहरू कसरी देख्ने?
ल्याबको भित्ताभित्र सीमित ज्ञानले डिग्री त दिन्छ, तर समुदायको समस्याको समाधान जन्माउन समाजसँगको सामिप्यता चाहिन्छ। विश्वविद्यालय केवल डिग्री बाँड्ने स्थान मात्र होइन, यो त नयाँ विचार अंकुराउने, समाजका अनगिन्ती सम्भावना देख्ने, समाजमा रहेका ज्ञान, सीप र प्रविधिबाट गहिरो रूपमा बुझ्नुका साथै समस्या पहिचान गर्ने र समाधान खोज्ने र 'इन्नोभेसन हब' बन्न सक्ने ठाउँ हो।
हाम्रो शिक्षा प्रणाली भने अझै पनि धेरैजसो 'पेपरमा के लेख्यौ' भन्ने प्रश्नमै अडिएको छ। विश्वका अग्रणी विश्वविद्यालयले भने 'तिमीले कुन/कति समस्या हल गर्यौ' भन्ने प्रश्न केन्द्रमा राखेका छन्।
त्यसैले हाम्रा विश्वविद्यालय र कलेजले पनि अब आफ्ना विद्यार्थीलाई केवल पुस्तक पढेर उत्तर लेख्न होइन, समाज र जीवनका वास्तविक प्रश्न हल गर्न प्रोत्साहित गरे भने—त्यसले रिपोर्ट मात्र होइन, समाधान पनि जन्माउनेछ। डिग्री मात्र होइन, उद्यम पनि जन्माउनेछ।
अबको शिक्षा
हामीले अब बुझ्नुपर्ने कुरा सरल छ — पढ्नु भनेको सम्भावना र समस्या देख्नु, समाधान सिर्जना गर्नु र त्यसलाई समाजमा लागू गर्नु हो।
तर मुख्य प्रश्न चाहिँ यस्तो शिक्षा कसरी दिने भन्ने हो। यो लेखमा म यसैबारे छोटो चर्चा गर्छु।
अमेरिकी शैक्षिक सिद्धान्तज्ञ तथा प्राध्यापक डेभिड ए. कोल्बले अनुभवमा आधारित सिकाइ चार चरणको चक्रबाट पूरा हुन्छ भनेका छन्।
पहिलो, विद्यार्थीले समाजमा घुलमिल गरी वास्तविक समस्या अनुभव गर्ने।
जस्तैः एक विद्यार्थी आफ्नो गाउँघरमा घुलमिल हुन जान्छ। त्यहाँ उसले पहिले स्थानीय बाजागाजा अति नै समृद्ध भएको तर अहिले लोप हुँदै गएको देख्छ।
दोस्रो, अवलोकन गरेको कुरा मन्थन गर्ने।
जस्तैः विद्यार्थीले स्थानीय बाजागाजा लोप भएको अनुभूतिलाई प्रश्न गर्दै मानिससँग छलफल गरेर कारण खोज्छ। र, सत्यनिकट रहेर विश्लेषण गर्छ।
तेस्रो, मन्थन र विश्लेषणपछि सैद्धान्तीकरण गर्ने।
जस्तैः विद्यार्थीले संसारमा स्थानीय बाजागाजा किन लोप हुन्छन् र कसरी संरक्षण गर्न सकिन्छ भन्ने सिद्धान्तहरू खोज्छ।
चौथो, सैद्धान्तीकरण गरेपछि उपयुक्त रूपमा कार्यान्वयन गर्ने।
जस्तैः विद्यार्थीले आफ्ना साथीसँग मिलेर बाजागाजाका नयाँ धुन उपलब्ध गराउँछ।
यत्ति मात्र गर्न सके, हामीले दिने शिक्षा धेरै हदसम्म चिन्तनमुखी, अभ्यासमुखी र समाधानमुखी हुन्छ। यसले विद्यार्थीलाई ज्ञान उपभोग गर्ने मात्र होइन, ज्ञान सिर्जना गर्ने र ज्ञान लागू गर्ने पनि बनाउन ठूलो भूमिका खेल्छ। उसको वरिपरि रहेको समाज पनि विद्यार्थीका लागि 'सिकाइ ल्याब' हुन्छ।
अनि विद्यार्थीले समस्या देख्ने मात्र होइन, समाधान गर्ने र ज्ञान वा सीपलाई उत्पादन वा सेवामा रूपान्तरण गर्न सक्छ।
आज हामीलाई चाहिएको यस्तै उद्यमशील शिक्षा हो।
परम्परागत शिक्षा किताब र परीक्षामा केन्द्रित हुन्छ। विद्यार्थीलाई एउटा निश्चित कुरा पढेर जबाफ लेख्न मात्र सिकाउँछ। यसले अनुभव, चिन्तन, सिर्जनात्मकता र समस्या समाधान क्षमता दबाएर राख्छ।
उद्यमशील शिक्षा भने अनुभव, चिन्तन, छलफल र प्रयोग गर्दै अनिश्चितता, अस्पष्टता तथा अन्योलमा पनि सिक्ने, प्रयोग गर्ने तथा अगाडि बढ्ने क्षमतामा आधारित हुन्छ। यसले असफलतालाई पनि सिकाइको हिस्सा मान्छ।
चर्चित अमेरिकी उद्यमी 'द स्टार्टअप स्क्वाड' का संस्थापक ब्रायन विसफेल्डले आफ्नो टेडएक्स प्रस्तुतिमा यो कुरा स्पष्ट पारेका छन्। उनको अनुभवमा, उद्यमशील शिक्षाले सबै विद्यार्थीलाई तीन वटा जीवनोपयोगी सीप सिकाउँछ।
पहिलो, समस्या समाधान — समस्या देख्ने र नवीन समाधान सिर्जना गर्ने क्षमता।
दोस्रो, लचकता — असफलता आए पनि फेरि उठेर प्रयास गर्ने दृढता।
तेस्रो, आत्मविश्वास — परिवर्तन गर्न सक्ने आफ्नै क्षमतामा विश्वास।
यी व्यवसायका मात्र सीप होइनन्, जीवनका आधारभूत सीप हुन्। जब विद्यार्थीलाई वास्तविक जिम्मेवारी दिइन्छ, उनीहरूले उत्पादन वा सेवा मात्र बनाउँदैनन्, उनीहरूले आफूमाथि विश्वास गर्न सिक्छन्। यही मानसिकताले उनीहरूलाई भविष्यका लागि तयार पार्छ।
हामीले यसबीच केही आशाप्रद कदमहरू चाल्न थालेका छौं।
इन्कुबेटर (विकास केन्द्र), पिच (आइडिया ल्याउने/भन्ने) प्रतियोगिता र नवप्रवर्तन प्रयोगशालाहरू देखा परिरहेका छन्। तर यी प्रयास अझै छरिएका र ऐच्छिक मात्र छन्।
वास्तविक प्रभावका लागि उद्यमशीलतालाई सिकाइको केन्द्रमा राख्नुपर्छ। समस्या पहिचान गर्ने, त्यसलाई हेरेर नबसी समाधान गर्न जिम्मेवारी लिने मानसिकता हुनुपर्छ।
अहिले हाम्रो समाजको हरेक क्षेत्र; राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, मिडियामा उद्यमशील सोचको खाँचो छ। मेरो तर्फबाट समाज रूपान्तरणका लागि अहिलेभन्दा कसरी राम्रो गर्न सकिन्छ भन्ने सोचको आवश्यकता छ।
उद्यमशीलतालाई नयाँ उद्यम सुरू गर्ने कार्य वा पैसासँग मात्र जोडेर सीमित गर्न हुँदैन। सामाजिक रूपान्तरण, सांस्कृतिक पहिचान र स्थानीय नवप्रवर्तनसँग पनि जोडेर हेर्नुपर्ने बेला आएको छ।
एउटा कल्पना गरौं — जनकपुरमा फाइन–आर्ट्स पढ्ने एक युवती छन्। उनी कलेजमा रङ र रेखाका आधुनिक सिद्धान्त पढ्छिन्। घरमा आमाले मिथिला कलाको चित्रहरू बनाइरहेको देख्छिन्।
अब उनले आफ्नो पढाइ र सीपलाई मिथिला कलासँग जोडेर उद्यम गरिन्। डिजिटल प्रविधि प्रयोग गरेर परम्परागत चित्र सारीमा उतारेर नयाँ फेसन सुरू गरिन्। अब त्यो कला केवल त्यो समुदायमा सीमित हुने छैन, विश्व बजारसम्म पुग्नेछ। कुनै समुदायको एउटा सांस्कृतिक पहिचान आर्थिक आत्मनिर्भरता र उद्यमशीलताको आधार बन्न सक्छ।
अनि उद्यमशीलतालाई पैसासँग मात्र होइन, सामाजिक रूपान्तरण र स्थानीय नवप्रवर्तनसँग जोडेर हेर्ने हो भने, नेपालका हरेक प्रदेशबाट नयाँ सारङ र कलरीफिक्स जन्मिन सक्छन्।
नेपाललाई समृद्ध भविष्यतर्फ डोहोर्याउने बाटो शिक्षा र उद्यमशीलताबाटै सुरू हुन्छ। उद्यमशीलताको उच्च शिक्षाका लागि सफल मार्गचित्र, स्पष्ट दृष्टि र रणनीतिक प्रतिबद्धता आवश्यक छ।
शैक्षिक संस्थाहरूले उद्यमशीलतालाई आफ्नो मिसनको मुख्य भागका रूपमा स्थापित गर्नुपर्छ। नेतृत्व, संकाय र विद्यार्थीहरूलाई पनि यसको महत्त्व बुझाउनुपर्छ। यो दृष्टिकोणले उद्यमशील संस्कृतिका लागि आधार तयार गर्नेछ। विकास तथा संस्थागत प्राथमिकताहरूलाई मार्गदर्शन पनि गर्नेछ।
अर्को चरण भनेको व्यवसाय, प्रविधि, सामाजिक विज्ञान, डिजाइनको सोच एकीकृत गर्ने अन्तर्विषयगत पाठ्यक्रम डिजाइन गर्नु हो।
धेरै विषय जोडेर, विद्यार्थीले बहुमुखी सीप विकास गर्छन्। यसले उनीहरूलाई अवसर पहिचान गर्न, रचनात्मक रूपमा सोच्न र विभिन्न दृष्टिबाट समस्या समाधान गर्न सहयोग गर्छ। जटिल, वास्तविक विश्वका चुनौती सामना गर्न तयार गर्छ र नवप्रवर्तन गर्ने क्षमता बढाउँछ।
यो दृष्टिकोणको केन्द्रविन्दुमा समस्या र परियोजनामा आधारित शिक्षण सिकाइ छ। यसले अनुभावात्मक सिकाइमा जोड दिन्छ। विद्यार्थीहरूले वास्तविक विश्वका समस्या समाधान गर्न समूहमा काम गर्छन्। सहकार्य, आलोचनात्मक सोच र व्यावहारिक सीपलाई बढावा दिने 'ह्यान्ड्स–अन' परियोजनाहरूमा संलग्न हुन्छन्। यो विधिले सिकाइ विशुद्ध सैद्धान्तिक हुँदैन। विद्यार्थीलाई अनिश्चितता सामना गर्न र प्रभावकारी रूपमा नवप्रवर्तन गर्न सक्षम पार्नेछ।
यसमा व्यावहारिक अनुसन्धान अर्को महत्त्वपूर्ण पक्ष हो। यसले विद्यार्थी र संकायलाई विचारहरू परीक्षण गर्न, प्रोटोटाइपहरू विकास गर्न र व्यावहारिक उद्यमशीलताका पहलहरूमा संलग्न हुन सक्षम बनाउँछ। अनुसन्धानलाई समाज र बजार आवश्यकताहरूसँग जोड्दा नवप्रवर्तनलाई प्रोत्साहन मिल्छ। शैक्षिक कार्यका मूर्त परिणामहरू सुनिश्चित हुन्छन्। यसले आर्थिक विकास र संस्थागत वृद्धि दुवैमा योगदान पुर्याउँछ।
उद्योग र समुदायका साझेदारसँगको सहकार्यमा पनि विशेष जोड दिइनुपर्छ। व्यवसाय, गैरसरकारी संस्था र नागरिक संगठनहरूसँग सहकार्य गर्दा इन्टर्नसीप, नयाँ अवसर, आवश्यक सुझाव र संयुक्त परियोजनाहरूमा काम गर्न सकिन्छ। यस्तो सहकार्यले शैक्षिक कार्यक्रम, सामाजिक र आर्थिक आवश्यकताहरूसँग सान्दर्भिक हुने सुनिश्चित गर्छ।
नेपालका उच्च शिक्षा अध्ययन गराउने संस्थाहरूले विद्यार्थीको सिकाइ र वृद्धि थप बढाउन अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान संस्था र उद्योगहरूसँग पनि सहकार्य गर्न सक्छन्। यस्ता सहकार्यहरूमा आदानप्रदान कार्यक्रमहरू, संयुक्त अनुसन्धान परियोजनाहरू र उद्योग साझेदारीहरू समावेश हुन सक्छन्। यसले विद्यार्थीहरूलाई विश्वव्यापी उत्कृष्ट अभ्यासहरू, उन्नत प्रविधिहरू र विविध सांस्कृतिक दृष्टिकोणहरूमा उजागर गर्छ।
विद्यार्थीहरूले इन्टर्नसिप र प्रायोगिक परियोजनाहरूमार्फत व्यावहारिक अनुभव प्राप्त गर्छन्। संयुक्त अनुसन्धान पहलहरूले प्राविधिक र विश्लेषणात्मक सीप बलियो बनाउँछन्। यस्ता सहकार्यले विद्यार्थीलाई विश्वव्यापीकरण भएको संसारमा प्रतिस्पर्धी, नवप्रवर्तक र सामाजिक रूपमा जिम्मेवार हुन तयार गर्छ।
नेपाल कम्युनिभर्सिटी: उच्च शिक्षाको एक नयाँ मोडल
सिकाइलाई यथार्थपरक बनाउने दृष्टिकोणको एउटा आशाजनक नेपाली पहल हो — नेपाल कम्युनिभर्सिटी।
किंग्स कलेजले सुरू गरेको यो मोडलले शैक्षिक प्रक्रियामा शिक्षाकर्मी, उद्योग, सरकार र समग्र समुदायबीचको विद्यमान दुरी न्यूनीकरणमा जोड दिन्छ।
कम्युनिभर्सिटीको एउटा उदाहरण हेरौं।
सन् २०२५ जनवरीदेखि आठ सातासम्म कम्युनिभर्सिटीले 'सामाजिक नवप्रवर्तन फेलोसिप – २०२५' कार्यक्रम सञ्चालन गरेको थियो। फेलोसिपका दौरान विद्यार्थीहरू नेपालका हिमाल, पहाड र तराई; हेलम्बू, पाँचखाल र जनकपुर पुगे। त्यहाँ दुई–दुई साता बसाइमा उनीहरूले स्थानीय ज्ञान प्रणाली, सामर्थ्य र चुनौतीहरू अन्वेषण गरे।
त्यसपछि आफूलाई मन छोएको कुनै एक चुनौतीका लागि सान्दर्भिक समाधान निकाल्न लागि परे। यसका लागि स्थानीयसँग घुलमिल हुने, अन्तर्क्रिया गर्ने, विज्ञहरूको कुरा सुन्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्ञानको खोजी गर्दै स्थानीयकृत समाधान तयार गरे।
चार पर्खालभित्र जकडिएको शिक्षाको चरम असन्तुष्टिबाट जन्मिएको यो मोडलले शिक्षालाई जीवन्त पारिस्थितिकीय प्रणालीको प्रक्रियाका रूपमा परिकल्पना गरेको छ। यो प्रणालीमा पाठ्यक्रम समुदायसँग जोडिएको हुन्छ जहाँ औपचारिक उपाधि नभएका किसान, वृद्धवृद्धा र समुदायका हरेक मानिसहरूलाई ज्ञानको स्रोत मानिन्छ।
समुदायका हरेक औपचारिक वा अनौपचारिक संघसंस्थाहरू पनि सिकाइको स्रोत हुन्छन्।
अर्को महत्वपूर्ण कुरा, यो मोडलमा सिकारूहरूले आफ्नै विचार र प्रोटोटाइप परीक्षण गर्छन्, परिस्कृत गर्छन्। प्रयोग गर्न सक्छन्, गल्ती गर्न सक्छन्। अनुसन्धान कागजमा मर्नु हुँदैन, बरू आफ्नै वास्तविकतामा आधारित हुनुपर्छ भन्नेमा यसले जोड दिन्छ।
यसैगरी, पछिल्ला वर्षहरूमा नेपालका उच्च शैक्षिक संस्थाहरूमा उद्यमशीलता र नवप्रवर्तनको एकीकरणमा उल्लेखनीय वृद्धि भएको छ। व्यवसाय, इन्जिनियरिङ, प्रविधि, कृषि र शिक्षा जस्ता विविध शैक्षिक विषयहरू समेट्ने धेरै विश्वविद्यालय र कलेजहरूले उद्यमशील मानसिकता र क्षमताहरूलाई बढावा दिन समर्पित विशेष पाठ्यक्रम र कार्यक्रमहरू सक्रिय रूपमा सुरू गरेका छन्।
विभिन्न संस्थाहरूले औपचारिक पाठ्यक्रमभन्दा बाहिर गएर इन्कुबेसन कार्यक्रम, बजारको अध्ययन, बिउपुँजीको प्रावधानसहित बलियो समर्थन पारिस्थितिकीय प्रणाली स्थापना गरेका छन्।
यो राष्ट्रिय प्रयासमा एक महत्त्वपूर्ण उत्प्रेरक विश्वविद्यालय अनुदान आयोग (युजिसी) को 'इन्टरप्राइज सपोर्ट प्रोग्राम' भएको छ। यो रणनीतिक पहलले सात विश्वविद्यालय र प्रभावशाली ६३ कलेजलाई इन्कुबेटर स्थापना र सञ्चालनमा महत्त्वपूर्ण सहयोग गरेको छ।
यो कार्यक्रमले हालसम्म कुल ४२ उदयीमान स्टार्टअपहरूलाई प्रति उद्यम ४० लाख रूपैयाँसम्मको बिउपुँजी दिएर उद्यमशील परिदृश्यलाई आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलिसकेको छ।
यी प्रयासहरूले नवप्रवर्तनमा आधरित अर्थतन्त्र विकास गर्न र उद्यमशील नेताको नयाँ पुस्ता तयार गर्न देशको प्रतिबद्धता देखाउँछन्।
हाम्रो उच्च शिक्षालाई सम्पूर्ण रूपमा उद्यमशील बनाएर अगाडि बढ्ने हो भने हामीले निम्नानुसारका मार्गचित्र कोर्नुपर्छ।
१. समुदायसँग जोडिएको सिकाइ
सिकाइ कक्षाकोठाभित्र सीमित नभई समुदायमा विस्तार हुनुपर्छ। जब विद्यार्थीहरू गाउँ, सहर र आफ्नै समुदायसँग जोडिन्छन्, उनीहरूले किताबले नदिने ज्ञान पाउँछन्। फिल्ड भ्रमण, सहकार्यात्मक परियोजना र समस्या समाधानमार्फत उनीहरूले समानूभुति निर्माण गर्न र व्यावहारिक सीप विकास गर्न सक्छन्।
२. अन्तर–अनुशासनात्मक पाठ्यक्रम
समस्याहरू कुनै एउटा विषयले मात्र हल गर्न सक्दैनन्। व्यवसाय, विज्ञान, कला, कृषि र सामाजिक विज्ञान एकै ठाउँमा भेटिँदा मात्रै नयाँ समाधान जन्मिन्छ। समाधानका लागि यी फरक फरक धारलाई एउटै धागोले गाँस्नुपर्छ। जटिल समस्या समाधान गर्न अन्तर–विषयक अध्ययन/अनुसन्धान र सञ्चार आवश्यक पर्छ।
३. प्रयोग र प्रायोगिक अनुसन्धान
प्रायः नवप्रवर्तनहरू प्रयोगशालामै मर्छन्। त्यसैले विद्यार्थीले आफ्ना सोच प्रोटोटाइपमा रूपान्तरण गर्ने, परीक्षण गर्ने र पुनः सुधार गर्ने अवसर पाउनुपर्छ। स्थानीय समस्या र सम्भावनासँग गाँसिएको अनुसन्धानले नै हाम्रो नवप्रवर्तनलाई दीर्घकालीन बनाउनेछ।
४. स्थानीय ज्ञान र प्रविधिको उत्खनन
उद्यमशील शिक्षा हाम्रो भूमि, हाम्रो परम्परा र हाम्रो सीपबाट सुरू हुनुपर्छ — मिथिला कलादेखि धातु, काठको काम, परम्परागत कृषि प्रविधिसम्म। जब हामी स्थानीय ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्छौं, तब वैश्विक स्तरको नवप्रवर्तन जन्मिन्छ।
जनकपुरको मिथिला कलादेखि रोल्पाको लोकसंगीतसम्म—समस्या र सम्भावना हाम्रै आँखा अगाडि छन्। हाम्रो शिक्षाले यिनलाई देख्ने बनाउनुपर्छ।
क्याम्ब्रिजले बागमतीलाई समस्या मात्र होइन, अवसरका रूपमा देख्यो। त्यसैले कलरीफिक्स जन्मियो। सारङले सम्पदा पर्यटनमा सूचना अभावलाई समस्या मात्र होइन, समाधानको बिउ पनि देख्यो र त्यसैले उद्यम जन्मियो।
यी उदाहरण प्रमाण हुन् — शिक्षा, समुदाय र उद्यमशीलता एकै ठाउँमा भेटिँदा समाज मात्र होइन, विश्व नै बदलिन्छ।
नेपालको उच्च शिक्षा अझै कक्षाकोठाभित्र सीमित छ तर ज्ञान र समस्या समाजमा छ। त्यसैले हामीले शिक्षालाई परीक्षाको तयारी होइन, अर्थपूर्ण सिकाइ र समस्या समाधानको तयारीसँग जोड्नुपर्छ।
हरेक दिन धोबी खोला, विष्णुमती र बागमती हुँदै हिँड्दा मेरो मनमा यही आउँछ — धमिलो नदीमा पनि सम्भावना लुकेको हुन्छ, हामीले आँखा खोल्यौं भने देखिन्छ। शिक्षालाई उद्यमसँग, उद्यमलाई समुदायसँग र समुदायलाई भविष्यसँग जोडयौं भने, बागमती मात्र होइन, हाम्रो भविष्य पनि स्वच्छ भएर बग्नेछ!
(लेखक नरोत्तम अर्याल किङ्स कलेजका प्रेसिडेन्ट हुन्)
नरोत्तम अर्यालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।