ग्लोबल नेपाली
इलामकी रजिना मगरले दक्षिण कोरिया जानुअगाडि सुनेकी थिइन् — विमानस्थलबाट तालिम केन्द्र पुगेर तालिम सकिएपछि रोजगारदाताहरू लिन आउँछन्। बडो प्रेमपूर्वक कार्यस्थलमा पुर्याउँछन्!
त्यहाँ पुगेपछि उनले त्यस्तै देखिन् पनि।
रोजगारदाताहरू उत्साहित हुँदै, बडो प्रेमका साथ नेपाली श्रमिकहरूलाई स्वागत गरिरहेका थिए। लामो समय छुट्टिएर भेट भएका आफ्नै परिवारका सदस्य जसरी। त्यो माहोलले देश छाड्दाको पीडामा थोरै मलम लागेको अनुभव भयो उनलाई।
रजिना पनि आफ्ना रोजगारदातालाई खोज्न थालिन्। निकै लामो प्रतीक्षापछि एक जना आए। तर ती व्यक्ति रजिना काम गर्ने कम्पनीका थिएनन्। अर्कै कम्पनीका व्यक्ति थिए जो आफ्नो श्रमिकको स्वागतमा आएका थिए। तिनैले रजिनालाई पनि कार्यस्थल पुर्याइदिए।
'मलाई धेरै नरमाइलो लाग्यो। आफ्ना साहुसाहुनी लिन आउँछन्। आफ्नै छोराछोरीलाई जस्तो माया गरेर लैजान्छन् भन्ने आशा थियो,' उनले त्यो क्षणको निराशा सुनाइन्, 'स्कुल छुट्टी भएपछि अरूका बाआमा लिन आउने तर आफ्ना नआउने हुँदा जस्तो अनुभव हुन्छ त्यस्तै भयो। एकदमै नरमाइलो लाग्यो।'
काम गर्ने ठाउँमा पुगेपछि उनको मन झनै भाँचियो। बारीमा टिनको डब्बाजस्तो छाप्रोमा सुत्नुपर्ने रहेछ, खाना पकाउने-खाने बाहिर। शौचालय पनि टाढा, बिग्रिएको ढोका डोरीले बाँधेर अड्याउनु पर्ने!
'अरू साथीहरू त कन्टेनर (कोठा) पनि व्यवस्थित देखाउँथे। हाम्रो कन्टेनर त टिनको डब्बा मात्रै थियो, कुचुक्क परेको,' उनले त्यहाँको दृश्य बयान गरिन्, 'खाना पकाउने भाँडाकुँडा त हामीले सुँगुरलाई चारो तताउने, बाख्रालाई खोले दिने जस्ता! चक्कु पनि भाँचिएको!'
धन्य! एक जना नेपाली साथी रहिछन्। केही आड भयो। टिनको डब्बाभित्र दुइटा ओछ्यान लगाउन पुग्ने ठाउँ थिएन। मुस्किलले एकै ठाउँमा सुत्ने व्यवस्था मिलाए।
'घरका मान्छेले कोरियामा बसाइ कस्तो रहेछ, हेरौं न त भन्दा देखाउन पनि लाज लाग्ने थियो,' रजिनाले भनिन्।
रजिना रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कृषिको कामका लागि सन् २०२२ अप्रिलमा कोरिया गएकी हुन्। उनलाई स्ट्रबेरी टिप्ने काम भनिएको थियो। काम पनि त्यही थियो। तर तलब र अन्य सुविधा सम्झौता अनुसार थिएन। न बिदा सुविधा थियो।
हरेक दिन घण्टौं खटेर काम गर्दा एक लाख ९० हजार रूपैयाँ तलब हुन्थ्यो।
काम जेजस्तो भए पनि अव्यवस्थित बसाइका कारण रजिना र उनकी साथीले त्यो कम्पनी छाड्ने निधो गरे। कोरियामा रहेका अग्रजहरूसँग कुरा गरे।
दोस्रो कम्पनी पाइयो जहाँ च्याउ खेतीको काम थियो। साथीहरूले पनि यो काम सहज हुन्छ भनेका थिए। भनिएको तलब पनि चित्तबुझ्दो नै थियो। नयाँ कम्पनीका साहु बडो असल देखिए। रजिना र उनकी साथीलाई प्रेमपूर्वक स्वागत गरे। बस्ने ठाउँ चिटिक्कको थियो।
उनीहरू खुसी थिए तर त्यहाँ पनि छलछाम भयो। काम च्याउ खेतीसँगै ढुंगागिटी पनि बोक्नुपर्ने रहेछ। उनीहरू खंग्रङ्ग भए।
अर्को विकल्प थिएन। ढुंगागिटी बोक्नैपर्ने भयो।
त्यहाँ केही नेपाली पुरूषहरू अवैधानिक ढंगले काम गर्दै रहेछन्। चिनजान भयो। केही भरोसा पनि भयो। रजिनाका लागि ढुंगा बोक्ने काम यसै पनि कठिन थियो, अझ धेरैजसो त राति दुई बजेसम्म पनि काम लगाउने!
'कहिलेकाहीँ घुमाउन पनि लैजान्थे। च्याउ गोड्ने काम चाहिँ रातको दुई बजेसम्म पनि लगाउँथे,' उनले भनिन्, 'नेपालमा कहिल्यै राति दुई बजेसम्म जागा त बस्नुपरेको थिएन। कोरियामा च्याउ गोड्नुपर्यो!'
अर्काको देशमा नाइँनास्ती गर्ने छुट थिएन। जे काम लगाए पनि गर्नैपर्थ्यो। सुरूमा भनेको जति तलब पनि पाएनन्।
त्यहाँ काम गरिरहेका नेपाली पुरूषहरू केही दिनपछि भागेछन्। रजिना र उनकी साथी मात्र बाँकी रहे। आखिर उनीहरूको पनि मन बिथोलियो।
रजिनाले भनिन्, 'हामी छोरीमान्छे मात्रै भयौं। त्यहाँ काम गर्न मन लागेन। फेरि अर्को कम्पनी खोज्यौं।'
तीन महिना ढुंगागिटी बोकेपछि उनीहरूले तेस्रो कम्पनी भेटे। त्यो कम्पनी चाहिँ च्याउखतीकै थियो, निकै ठूलो। त्यहाँ फिलिपिनो, कम्बोडियन, नेपाली लगायत विभिन्न मुलुकका सय जनाभन्दा बढी आप्रवासी कामदार थिए।
रजिना र उनकी साथी पनि मिसिए। दैनिक १५ घण्टा काम गर्नुपर्थ्यो, बिहानदेखि राति अबेरसम्म। अत्यधिक चिसो थियो, घुँडासम्म हिउँ पर्थ्यो। धेरैजना कामदार भएकाले ठट्टामजाक गर्दै काम गर्दा समय बितेको पत्तै हुँदैन थियो।
दसैंतिहार जस्ता चाडपर्व पनि नेपालमा जसरी नै मनाउँथे। बिदाको मौकामा घुमफिरमा जान्थे। कामको दुःखका बीच पनि रमाइलो थियो। दिन बित्दै थियो तर केही मान्छेको व्यवहारका कारण रजिनालाई दुःखको पहाडले थिचेजस्तो भयो।
उनले भनिन्, 'कोरियामा दुःख हुन्छ भन्ने त मैले पहिले साथीहरूबाट पनि सुनेकी थिएँ। यति धेरै दुःख हुने रहेछ भन्ने चाहिँ भोगेरै थाहा भयो।'
खासमा उनलाई थिच्ने दुःखको पहाड कम्पनीले सिर्जना गरेको थिएन। नेपाली कामदार नै त्यसका कारण थिए।
'केही नेपाली कतिसम्म नराम्रो नियतका हुँदा रहेछन् भन्ने थाहा पाएँ,' रजिनाले भनिन्।
उनका अनुसार त्यहाँ धेरैजसो नेपालीहरू सहयोगी थिए। थोरै थिए जो उनको व्यक्तिगत मामिलामा चासो राख्थे। निकै माथिल्लो पदमा पुगेका नेपाली नै कम्पनीका मालिकलाई कुरा लगाएर नराम्रो देखाउने प्रयास गर्थे।
'बरू गिटी नै बोक्दा गाह्रो भएको थिएन, नेपालीहरूकै व्यवहारले गाह्रो भयो,' उनले भनिन्, 'कामले भन्दा पनि मान्छेको व्यवहारले गर्दा मानसिक रूपमा कमजोर भएँ। मर्छु होला भन्नेसम्म भएको थियो।'
रजिनाले त्यो कम्पनीमा झन्डै दुई वर्ष काम गरिन्। दिनको १५ घण्टा काम गर्दा मासिक साढे दुई लाख रूपैयाँसम्म पाउँथिन्।
बिदामा नेपाल आएपछि उनले कम्पनी पनि छाडिन्। रोजगारदाताले त नछाड भनिरहेका थिए, तर उनलाई त्यहाँको व्यवहार सहन गाह्रो भयो।
दुई महिनाअघि उनी कोरिया फर्किइन्। हाल चौथो कम्पनीमा काम गर्दैछिन्। त्यहाँ क्याप्सिकम (भेडे खुर्सानी) खेतीमा काम गर्नुपर्छ भनिएको थियो। तर उनी क्याफेमा काम गरिरहेकी छन्।
'साहुको कम्पनी कृषिसम्बन्धी नै हो। क्याप्सिकम खेती छ, क्याफे पनि चलाएका छन्। मलाई क्याफेमै काम लगाएका छन्,' उनले भनिन्।
रजिनाका अनुसार दक्षिण कोरियामा कृषिको कामका गएका श्रमिकलाई अर्को क्षेत्रको काम लगाउनु गैरकानुनी मानिन्छ। तर कतिपयले आफूखुसी काम गराउँछन्।
भाषा राम्रो भएकाले आफूलाई क्याफेमा काम लगाएको उनले बताइन्। हाल क्याफेमा तीन जना नेपाली छन्। दैनिक १० घण्टा काम गर्नुपर्छ। तलब महिनाको दुई लाख रूपैयाँ छ।
रजिनाले कोरियामा काम गर्न थालेको तीन वर्ष भयो। अहिलेसम्म कमाएको पैसा भाइबहिनी पढाउन र घरखर्चमा सकिएको उनी बताउँछिन्। उनी कोरिया गएपछि परिवारको आर्थिक अवस्था सुधार भएको छ।
'विदेश पुगेपछि मान्छेलाई निद्रा र पैसाले नपुग्दो रहेछ। मरीमरी काम गर्दा पनि पैसाले पुगेको छैन,' उनले भनिन्, 'मैले पैसा पठाइरहेकी छु। म कोरिया आउनुअघिको र पछिको आर्थिक अवस्था तुलना गर्दा अहिले पैसा बचाउन नसके पनि खुसी छु।'
रजिनाको परिवारमा बुबाआमा र उनीसहित पाँच जना छोराछोरी छन्। उनका एक जना दाजु खाडी मुलुकमा रोजगार छन्। बाआमा इलाममै खेती गर्छन्। दुई जना भाइ इलाममा पढ्दै छन्।
एक भाइ र एक बहिनीले काठमाडौंमा पढे। अब थप पढाइका लागि विदेश जाने तयारीमा छन्।
उनले भनिन्, 'मैले साह्रै दुःखले पढेकी थिएँ। आफूलाई सम्झेर पनि मैले भाइबहिनीको पढाइमा अभाव हुन दिएकी छैन।'
रजिनाले १२ कक्षासम्मको पढाइ पूरा गरेकी छन्। केही समय विद्यालयमा पढाइन्।
उनका बुबा पनि कुनै समय रोजगारीका लागि विदेश गएका थिए तर केही वर्ष हराएर रित्तोहात फर्किए। परिवारको आर्थिक अवस्था नाजुक थियो।
खासमा रजिना कामका लागि विदेश जाने विचारमा थिइनन् तर घरको कमजोर आर्थिक अवस्थामा आफन्त र साथीको सल्लाहमा दक्षिण कोरिया जाने निर्णय गरेकी थिइन्।
'कोरिया जान धेरै प्रतिस्पर्धा थियो। भाषा पढेर पार लगाउन सक्छु जस्तो लागेको थिएन,' उनले भनिन्, 'एक जना दिदीले एकपटक प्रयास गर भनेपछि इलाममै भाषा पढेँ। काठमाडौं पुगेर परीक्षा दिएँ। पास भएँ।'
उनले २० वर्षको उमेरमा, सन् २०१७ मै इपिएस भाषा परीक्षा पास गरेकी थिइन्। तर उनलाई कोरोना भएको रिपोर्ट आयो, जान पाइनन्। यसपछि कोरिया जान पाउने आशा कमजोर हुँदै गयो। उनी तनावमा परिन्। दुबई जाने विचार गर्दै थिइन्। तैपनि भिसा आइहाल्छ कि भन्ने आशामा काठमाडौंमै बसेकी थिइन्। ट्युसन पढाएर, एउटा पसलमा काम गरेर करिब पाँच वर्ष गुजारिन्।
भाषा परीक्षा पास गरेको पाँच वर्षपछि तनाव, थोरै आशा र धेरै निराशाबीच भिसा आएपछि उनको कोरिया यात्रा सुरू भएको हो।
'कतिपय साथीहरू त कोरियामा काम गरेर घरजग्गा जोडेँ भनेर सुनाउँछन्। मैले गर्न सकेको छैन, बचत पनि छैन,' उनले भनिन्, 'अहिले म बिरामी भएर उपचार गर्नुपर्यो भने पनि पनि पैसा छैन।'
रजिना अब दुई वर्ष कोरियामा काम गरेर फर्किन चाहन्छिन्।
भन्छिन्, 'मसँग ठूलो सपना छैन। आफ्नै मेहनतले बाच्न पाइयोस् भन्ने मात्र छ।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्)
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com