हङकङमा 'गोर्खाज् फाइनान्स लिमिटेड' को शुभारम्भ गरिएको छ।
उक्त शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र नेपालीहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गरे।
कम्पनीको नेतृत्व डीके दाहाल, आकाश बन्जारा, बिबश सुवेदी लगायत ४७ जना अन्य सेयरधनीहरुको टोलीले गरिरहेको छ। नेपालबाट नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली र युवा उद्यमी हिकमत जंग कार्कीसमेत कार्यक्रममा गएका थिए।
कार्यक्रममा कम्पनीका अध्यक्ष डीके दाहालले सम्पूर्ण लगानीकर्ताहरूलाई यसलाई बैंक बनाउन एकजुट भइ काम गर्न आह्वान गरे। उनले 'गोर्खाज फाइनान्स' लाई बैंकको रुपमा परिणत गर्न सबैजना एकढिक्का भएर एउटै रेखामा उभिएर जोडिनुपर्नेमा जोड दिए।
संचालक आकाश बन्जाराले हङकङमा नेपालीहरुका लागि आफ्नै बैंक नभएर अभाव खट्किएको अवस्थालाई मध्यनजर गर्दै 'गोर्खाज फाइनान्स' ले नेपाली समाजलाई एकताबद्ध बनाएर एक नेपाली बैंकको सुरुवात गर्ने उद्देश्यका साथ अघि बढेको स्पष्ट पारे। उनले कम्पनीले रेमिटेन्स लगायतका विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दै भविष्यमा हङकङमा एउटा अग्रणी नेपाली बैंकको रुपमा स्थापित हुने लक्ष्य राखेको बताए।
सोही अवसरमा ६ महिनाभित्र नबिल बैंकको प्रतिनिधि कार्यालय हङकङमा स्थापना गरिने घोषणा पनि गरिएको थियो।
कार्यक्रममा भारत, चीन, मकाउ र ताइवान लगायतका अन्तर्राष्ट्रिय पाहुनाहरुका साथै हङकङका व्यवसायी र सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो।