गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने बताएकी छन्।
सामाजिक संजालमा बिहिबार एक पोष्ट गर्दै उनले यस अगाडि २४ अक्टुबर २०२१ मा सार्वजनिक आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुनयमा लेखिएको बताएकी छन्।
उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिनँ। २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिएँ। अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु।’
गत २४ अक्टोबरमा उनले पल र आफ्नोबीच अभिभावकको सम्बन्ध भएको भन्दै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्रहत्या भएको बताएकी थिइन्। तर बिहिबारको पोष्टपछि उनले शो स्टाटस नै झुट भएको बताएकी हुन्।
मिडियाले पलसँग जोडेर आफ्ना बिभिन्न समाचार र गसिफ लगातार बनाएपछि उनले फेसबुकमार्फत स्पष्टिकरणका रुपमा पल र आफूबीच कुनै सम्बन्ध नरहेको भन्दै २४ अक्टोबरमा एक पोष्ट गरेकी थिइन्।
यस्तो थियो त्यतिबेलाको स्टाटस
नमस्कार
मलाई समिक्षा अधिकारी बनाउनुहुने मेरा सम्पूर्ण दर्शक श्रोताज्युहरूमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरू आएका छन् यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरू मिडियामा आएका छन्। जसले मेरो चरित्रहत्या भएको छ। यसका साथ साथै पलजीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिराको छन्। यसो नगर्नुहुन अनुरोध गर्दछु।
बिना स्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारितृक रूपमा निकै नै असर पुर्याएको छ। यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौं। एउटै इण्डस्ट्रीजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ। मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाँको सदैव फ्यान पनि हुँ। र, हजुरहरूको माया रहेसम्म सधै राम्रो काम गरिरहनेछौं। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावक हरूले पनि यसरी मानहानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु। मैले यो अपेक्षा गरेको थिएन।
म जे छु जहाँ छु यो सब मेरा भगवानरूपी दर्शक स्रोताको देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन। मेरो बारेमा मिडियामा आएका झुटा समाचारहरू प्रति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु।
अन्त्यमा सम्पूर्ण पत्रकारज्युहरूलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आँच आउने मान हानी तथा चरित्रहीन हुने किसिमको समाचार नबनाउनुहोला।
सबैलाई धेरै धेरै माया
धन्यवाद।