मनास्लु पदमार्गको ‘नुब्री फोर सिजन रिसोर्ट’ मा वेटर बनेर पर्यटकलाई खाना बाँडिरहेका वा कफीको ग्लास माझिरहेका व्यक्ति नै रिसोर्टका साहुजी हुन् भन्ने थाहा पाउँदा सबै छक्क पर्छन्। अनि तिनै साहुजी लाक्पाढुण्डुप लामासँग सेल्फी खिच्छन्।
लामा स्थापित पर्यटनकर्मी हुन्। नामरूङको नुब्री फोर सिजन रिसोर्ट उनकै हो। पदमपुर, चितवनमा रहेको मुनाल–मयुर रिसोर्ट पनि उनकै समूहको हो। काठमाडौंको स्वयम्भुमा उनको आधुनिक महल छ। सहरमा कतै यात्रा गर्नुपर्दा निजी गाडीमा हुँइकिन्छन्।
पाहुनालाई खाना दिँदै लाक्पाढुण्डुप लामा।
सिंगापुर व्यापारको कमाई, चितवनको जग्गा व्यवसाय, पर्यटनको आम्दानी र यार्चागुम्बा व्यापार नै उनको आम्दानीका मुख्य आधार हुन्।
उनको काम प्रेरणादायी छ। उनले आफू मात्र कमाएका छैनन्, जन्मथलो मनास्लु क्षेत्रको विकासमा पनि ठूलो योगदान पुर्याउँदै आएका छन्।
उनको योगदानको चर्चा गर्नुअघि पुराना दिन खोतलौं है त!
सन् २०१० मा पुंगेनमा लाक्पाढुण्डुप लामा।
नौ वर्षकै उमेरमा नाङ्गै खुट्टा बुबाको बख्खु समातेर भोटखोलाबाट काठमाडौं झरेका थिए उनी। बिरानो काठमाडौंमा बाँच्न उनले के मात्र गरेनन्, डोकोमा राखेर आँप बेचे। फुटपाथमा कपडा बेचे। भोकभोकै पनि बसे। उनको संघर्षका कथा उधिन्ने हो भने एउटा पुस्तकको ठेली नै बन्छ।
जीवन संघर्ष गर्दागर्दै उनी सिंगापुर पुगे। सुरूका दिनमा मजदूरी गरे। पछि व्यापार व्यवसामा चम्किए। करिब १७ वर्ष त्यतै बसेर फर्कंदा उनको गाउँ नामरूङ उस्तै थियो। डोकोनाम्लो छुटेकै थिएन। त्यसैले उनले जन्मथलो नुब्री भ्यालीका लागि केही गर्ने अठोट गरे।
नाम्ला गुम्बामा लामा जिग्मेका साथमा लाक्पाढुण्डुप लामा।
‘म सिंगापुरबाट फर्कँदा मलाई नपुग्दो केही थिएन। तर मेरो गाउँमा विकास पुगेकै थिएन। अझै मोटर बाटो पुगेको छैन’, उनले भने, ‘त्यसैले गाउँलेको दुःख कम गराउन भनेर म गाउँ फर्केको हुँ।’
सन् २००८ मा नेपाल फर्केपछि उनले नुब्री भ्यालीका युवालाई संगठित गरेर ‘नुब्री सांस्कृतिक युवा उत्थान समिति’ गठन गरे।
गाउँगाउँमा आमा समूह र युवा समूह बनाए। ती समूहलाई आफ्नै खल्तीको पैसा सहयोग गरे। समूहले सांस्कृतिक र पर्यटन चेतना बढाउन ठूलो काम गर्यो।
मुठ्ठी कस्ने भन्दा मुठ्ठी खोलेर दान गर्नेकै मन शान्त हुन्छ। आत्मीय आनन्द मिल्छ। यो सत्य बुझेका लाक्पा मिठोसँग निदाउँछन्।
मनास्लु क्षेत्रमा विशेषतः दुइटा भ्याली पर्छन्–चुम भ्याली र नुब्री भ्याली। तिब्बतसँग सिमा जोडिएका कारण सुरक्षा संवेदनशीलताको नाउँमा मनास्लु संरक्षण क्षेत्रलाई अर्धनिषेधित क्षेत्रका रूपमा राखेको थियो। त्यसलाई खुला गरेर पर्यटकीय चहलपहल बढाउन उनले लबिङ गरे। यसैका लागि उनीहरूले सिंहदरबार घेराउ गरे।
नुब्री फोर सिजन रिसोर्टको प्रवेशद्वार।
त्यसअघि उनले सन् २००९ देखि नै राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरूलाई मनास्लु क्षेत्र घुमाउँदै आएका छन्। तिनताका मिडियामा मनास्लु क्षेत्रका दुःखका खबर मात्र आएनन्, सम्भावनाका कुरा पनि उजागर भए। यसरी उनले आफ्नै निजी खर्चमा केही वर्ष पत्रकारलाई घुमाए। पत्रकारलाई घुमाउँदा लाखौं खर्च भयो होला, उनले त्यसको हिसाब राखेका छैनन्। उनले नुब्री भ्यालीको वृत्तचित्र पनि बनाए। उनको मुटुमा नुब्रीको माया छ।
मनास्लु महोत्सवमा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईलगायत अतिथिहरू।
पर्यटनकर्मी निमा लामाको अगुवाईमा चुम भ्याली पहिले नै चर्चित थियो। लाक्पाढुण्डुपको अगुवाईमा पर्यटन बजारमा नुब्री भ्याली पनि स्थापित भयो। चिनियो।
मनास्लु महोत्सवमा स्थानीय नृत्य।
अर्को महत्वपूर्ण कुरा, उनले सन् २०११ मे ९ देखि ११ गतेसम्म मनास्लु पदमार्गको सामागाउँमा ‘मनास्लु महोत्सव’ मनाए। जापानी राजदूत, नेपालका मन्त्री, पर्यटनविद् र पत्रकारहरूको टोलीलाई निम्त्याएर मनाइएको महोत्सवले मनास्लु पदमार्गको प्रचारमा ठूलो टेवा पुर्यायो। महोत्सवमा पनि उनले ठूलो धनराशी खर्च गरे।
पर्यटनविज्ञहरूको जमघट।
उनको कामबाट प्रभावित भएर ‘ग्रेट हिमालय ट्रेल विकास कार्यक्रम’ ले गोरखा जिल्लाको पर्यटन पूर्वाधार विकासको परियोजना उनकै संस्थालाई दियो। त्यसबाट दुई वर्षसम्म तालिम, जनचेतना र पदमार्ग सुधारका उल्लेखनीय काम भए।
मनास्लु महोत्सवमा पाहुनाको स्वागतमा उभिएका स्थानीय।
विस्तारै पर्यटक बढ्दै गए। यसै बीचमा ७२ सालको भुइँचालोले अबरोध गर्यो। पछि कोरोनाले सतायो। कोराना शान्त भएसँगै पर्यटक बढ्नेमा आशावादी छन् गाउँले।
गाउँलेलाई पर्यटन कर्ममा लाग्न हौस्याएर, राम्रो प्रचारप्रसार गरेपछि उनले पनि जन्मथलो नामरुङमा ‘नुब्री फोर सिजन रिसोर्ट’ बनाए। रिसोर्टसँगै भोटको जीवन झल्काउने संग्रहालय बनाउने काम पनि गरिरहेका छन्।
सन् २०११ मा मनास्लु महोत्सवमा युवा कलाकार।
गुम्बा, माने र काने बनाउन उनले पुर्याएको सहयोग पनि उल्लेखनीय छ। पोहोर सालदेखि नामरूङ मुन्तिर पोर्टको ३ सय रोपनीमा इटालीबाट ल्याइएका स्याउ रोपेका छन्। यसै वर्षदेखि स्याउको राम्रो उत्पादन सुरू भइसकेको छ। स्याउबाट जुस, वाइन र जाम बनाउने उनको योजना छ।
उनी भुइँमान्छे हुन्। आफ्नै बलबुतामा सफलताको भर्याङ चढ्दै गरेका। उनी करोडौंका मालिक भैसके तर आफ्नो धरातल बिर्सेका छैनन्। सरल र आत्मीय छन्। रिसोर्टका पाहुनालाई आफैं खाना सर्भ गर्न पछि पर्दैनन्। यसरी कहिले वेटरको काम गर्छन् भने कहिले भाँडा माझिरहेका भेटिन्छन्। अनि कहिले डोकोमा भारी बोकेर उकालो चढिरहेका हुन्छन्।
पाहुनासँग लाक्पाढुण्डुप लामा–२०७१ चैत।
‘कुनै पनि काम आफैंमा सानो वा ठूलो हुँदैन’, कर्मयोगी लामा भन्छन्, ‘हामीले समयलाई त्यत्तिकै खेर फाल्नु हुँदैन। सकेको काम गर्नुपर्छ।’
उनको रिसोर्टमा हिमाली संस्कृतिको सुवास पाइन्छ। भिल्ला शैलीमा ढुंगा र काठबाट बनेका भवन। त्यसमा बौद्ध धर्मको झल्को दिने चित्र बनाइएको छ। काठमा बुट्टा कुँदिएको छ।
रिसोर्टको बेड।
तीन वर्षअघि सञ्चालनमा आएको रिसोर्टमा एकै पटक १५० जना बास बस्न सक्छन्। उनी गाइड र पोर्टरलाई पदमार्गका ‘हिरो’ मान्छन्। उनीहरूका लागि छुट्टै ‘हिरो बिल्डिङ’ पनि बनाएका छन्।
नुब्री फोर सिजन रिसोर्टका भिल्ला।
सम्भवतः मनास्लु पदमार्गकै सबैभन्दा आधुनिक र सुविधायुक्त रिसोर्ट हो उनको। तातोपानी सुविधासहितका अट्याच बाथरूम, अर्गानिक साउना, कफी विथ बेकरी सुविधा छ। त्यति मात्र होइन, अल्टिच्यूड सिक्नेस भएकालाई आराम मिल्ने लोठसल्लाबाट बनाइएको विशेष कोठा छन्। रिसोर्टमा १५ र २० जना बस्न मिल्ने सभा हल पनि छन्।
ब्रेकफास्ट फापरको रोटी सेट।
‘नुब्री फोर सिजन रिसोर्ट’ मा फापरको रोटी र सिस्नुको सुपसहित ढिँडो सेटका साथै याक सिजलर, याक बर्गरलगायत स्थानीय अर्गानिक परिकार पनि पाक्छ। रिसोर्ट मुन्तिर बगैंचाको स्याउबाट उनी एप्पल पाई र मफिन पनि बनाउँछन्।
उनले स्याउ बगैंचामा पनि होटल बनाउँदैछन्। त्यहाँ स्याउसँगै तरकारी रोपिएको छ। पर्यटकले बारीको उत्पादन आफैं टिपेर आफैं पकाएर खान सक्ने सुविधा दिँदैछन्।
एप्पल पाई।
उनले तराई र हिमाल जोड्ने अभियान पनि चलाएका छन्। चितवनमा रहेको मुनाल–मयुर रिसोर्ट र नामरुङको नुब्री फोर सिजन रिसोर्टबीच समन्वय गरेर तराईबाट हेलिकप्टरमा पर्यटकलाई मनास्लु ल्याएर घुमाउने क्रमको शुभारम्भ गरिसकेका छन्।
अर्गानिक स्याउ।
सडक विकासको पूर्वाधार हो। यसलाई रोक्न सकिंदैन। तर सडक बनेसँगै पदमार्ग मासिन्छ। पदमार्ग मासिन्छ भनेर सडक नै बनाउनु हुँदैन भन्न मिल्दैन। सम्भवत दश वर्षभित्र नुब्री भ्यालीमा जीप गुड्न थाल्नेछन्। त्यतिबेला पनि लामो पदयात्रा गर्न चाहनेहरूलाई डुलाउन उनले वैकल्पिक पदमार्गको खाका कोरिसके। जस्तो कि गाप गाउँबाट प्रोक हुँदै कालताल भएर हिमालचुली बेसक्याम्प पार गरेर नामरूङ झर्ने पदमार्ग। अनि नामरुङबाट हिनाङ भ्याली हुँदै ल्हो गाउँ झर्ने पदमार्गको अध्ययन भइसक्यो।
सूर्योदयका बेला मनास्लु हिमाल।
फर्केर हेर्दा मनास्लु क्षेत्रमा पछिल्लो दश वर्षमा केही परिवर्तन भएको छ। पर्यटनको घाम लागेको छ। पर्यटनबाट सबै गाउँलेको अनुहारमा खुसी ल्याउन भने बाँकी नै छ। त्यसका लागि उनी निरन्तर क्रियाशील छन्।
उनको रिसोर्ट आफैंमा मुलुकले गर्व गर्नलायक प्रोडक्ट हो। त्यतिले मात्र उनी प्रेरणाश्रोत बनेका होइनन, मनास्लु क्षेत्रको प्रवद्र्धन र विकासका लागि उनले ठूलो धनराशी र समय खर्चेका छन्। उनको कामबाट सबैले सिक्नुपर्छ।