चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ३.४ प्रतिशत हाराहारी छ। यसलाई लिएर धेरैले चिन्ता गरिरहँदा भने बैंकरहरूलाई नै भने खासै चिन्ता लागेको देखिँदैन।
बैंकरहरूका अनुसार यो खुद खराब कर्जा नभएर कुल खराब कर्जा भएकोले पनि धेरै गम्भिर रूपमा लिनु नपर्ने बताउँछन्।
उनीहरूका अनुसार कुल खराब कर्जा देखाएको कारण पनि खराब कर्जाको दर धेरै देखिएको हुन्छ। बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण हेर्ने हो भने एउटा नबिल बैंकले मात्रै कुल खराब कर्जा र खुद खराब कर्जा दुवै तथ्यांक देखाएको छ।
यस बैंकको कुल खराब कर्जा ३.६९ प्रतिशत छ भने खुद खराब कर्जा मात्रै १.५८ प्रतिशत देखिन्छ।
आखिर के हो त यी दुईबीचको अन्तर?
अहिले नेपाली बैंकहरूले ३ महिनादेखि भाका नाघेको कर्जालाई निष्क्रय कर्जा अर्थात् खराब कर्जाको रुपमा देखाउनु पर्छ।
यो व्यवस्थाअनुसार ३ महिनादेखि ६ महिनासम्मको भाका नाघेको कर्जालाई कमसल कर्जा, ६ महिनादेखि बढीमा एक वर्षसम्म भाका नाघेको कर्जालाई शंकास्पद र १ वर्ष बढीको भाका नाघेको कर्जालाई खराब कर्जा भनेर वर्गीकरण गरिएको छ।
त्यस्तै, कमसल कर्जा अन्तर्गतको २५ प्रतिशत बराबर रकम प्रावधानको रुपमा राख्नुपर्छ। शंकास्पदमा ५० प्रतिशत र खराबमा एक सय प्रतिशतसम्म प्रावधान राख्नुपर्छ।
यसरी गरिएको वर्गीकरण अनुसार राखिएको प्रावधान रकमलाई निष्क्रिय कर्जा बराबरको रकमबाट घटाउँदा खुद खराब कर्जा आउँछ। यसरी प्रावधान रकमलाई नघटाई निष्क्रिय कर्जा अन्तर्गतको उठ्न बाँकी रहेको कर्जा रकमलाई भने कुल खराब कर्जा भनिन्छ।
खुद खराब कर्जालाई बैंकले अहिले व्यहोरी रहेको वास्तविक नोक्सान मानिन्छ। किनभने यस्तो कर्जाबाट थप आर्जन भइहरेको हुँदैन। यस्तो वास्तविक नोक्सानको अनुपात कम रहेकोले पनि आत्तिन नपर्ने बैंकरहरूले बताउँदै आएका छन्।
नेपालको बैंकिङ क्षेत्रको खराब कर्जाकै कारण डराउनु पर्ने अवस्था नरहेको विदेशी बैंकरहरूले समेत बताइरहेका छन्।
नेपाल बैंकर एसोसिएसनको आयोजनामा आजसम्म चलेको एशियन बैंकरहरूको सम्मेलनमा एसोसिएसनका अध्यक्ष इयुजेन आसेभेडोले यस्तो बताएका हुन्।
'नेपाली बैंकहरूको कुल खराब कर्जा ३.५ प्रतिशत हाराहारी भनेको धेरै होइन,' आसेभेडोले भने, 'हाम्रै मुलुकमा बैंकहरूको खराब कर्जा यसको दोब्बर छ।'