संगीतकार आलोक श्री सुपरिचित नाम हो। नेपाली सुगम संगीतको क्षेत्रमा उनी अग्रस्थानमा गनिन्छन्। धेरैले उनलाई 'बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्...' बोलको गीतबाट पनि सम्झिन्छन्।
उनले संगीत भरेको २६ वर्षअघिको यो गीत आज पनि लोकप्रिय छ।
हालै उनले आफ्नो अर्को परिचयको नयाँ क्षेत्र रोजेका छन् कृषि–पर्यटन। उनले आफ्नो गृहजिल्ला गोर्खाको पालुङटार नगरपालिका, ठाटीपोखरीमा रिसोर्ट खोलेका छन्।
'मिड हिल एग्रो फार्म रिसोर्ट' नामको यो रिसोर्टको निर्माण काम भर्खरै सकिएको हो। औपचारिक उद्घाटन नभए पनि गत माघ १ गतेदेखि सेवा दिन थालेको छ।
रिसोर्टमा आगन्तुकहरूको सेवाका लागि २० जना कर्मचारी छन्। रिसोर्टले ६२ रोपनी क्षेत्रफल ओगटेको छ। एक सय जनाभन्दा बढी अटाउने सभा हल छ। रेस्टुरेन्ट, बार र स्वीमिङ पुल छ। रिसोर्ट तीनतले छ, जम्मा २२ वटा बेडरूम छन्। प्रत्येक बेडरूममा बरन्डा छ। बरन्डामा एकापट्टिबाट बन्दीपुरको समथर फाँट देखिन्छ। अर्कोपट्टिबाट उनको गीतमा भनिएझैं हिमालहरू देख्न सकिन्छ। रिसोर्ट परिसरमा बाल उद्यान पनि छ।
रिसोर्टको मुख्य विशेषता स्थानीय कृषि उत्पादनका परिकारको स्वाद लिन पाउनु हो। ताजा तरकारी खुवाउन २० रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी लगाइको छ। खाद्यान्न स्थानीय किसानसँग किनिन्छ। बिस्तारै विभिन्न फलफूल लगाउने र बाख्रा–कुखुरा पाल्ने योजना पनि छ।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/BIA/midhill%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/BIA/midhill%20%284%29.jpg)
'रिसोर्टमा बस्ने ग्राहकका लागि आवश्यक तरकारी, माछा–मासु हामी आफैं उत्पादन गर्छौं,' आलोक श्रीले भने, 'एभोकाडो, ड्रागन फ्रुट लगायत फल लगाउने योजना छ।'
लमजुङ, तनहुँ र गोर्खाको सिमानामा पर्छ पालुङटार। यहाँ सुविधा सम्पन्न होटल चल्ने सम्भावना देखेर रिसोर्ट खोलेको उनले बताए। कृषि फार्म भने नौ वर्षअघि नै सुरू भएको हो।
आलोक श्रीका अनुसार अध्ययन र भ्रमणको सिलसिलामा विदेश जादाँ त्यहाँ देखेको उन्नतिले उनमा कृषिमा लाग्ने सोच विकास भएको हो।
'विदेशमा कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छन्। हाम्रोमा हेपिएको पेसा भएको छ,' उनले भने, 'तरकारी फलाएर पैसा कमाउन सकिन्छ भनेर कृषिमा लागेको हुँ।'
उनले जन्मथलोमा केही नौलो काम गर्ने उद्देश्यले २०६७ सालमा दुई करोड रूपैयाँ लगानीमा २० रोपनी जग्गा किनेका थिए। मुख्य उद्देश्य कृषि फार्म सञ्चालन गर्नु नै थियो। सांगीतिक क्षेत्रमा व्यस्त रहने उनले तत्कालै फार्म सञ्चालन गर्न सकेनन्। तीन वर्षपछि २०७० सालमा सुरू गरे। फार्ममा काम गर्न १० जना सहयोगी राखे।
जग्गा पाखो थियो, सुख्खा पनि। पानीको समस्या थियो। उनले खोलामा डीप-बोरिङ गरेर फार्ममा पानी पुर्याए। मौसमी र बेमौसमी तरकारी खेती गरेर बजार लगे। उत्पादन गोरखा, तनहुँ र लमजुङका बजारसहित काठमाडौं पनि पुग्यो। केरा, अम्बा लगायत केही फलफूल पनि लगाए। हाल २२ वटा टनेलमा तरकारी लगाइएको छ। बेर्ना उत्पादनका लागि नर्सरी पनि आफ्नै छ।
उनका अनुसार तरकारी र फलफूल खेती निकै राम्रो भएको छ।
'उत्पादन बेच्न कहिल्यै समस्या परेको छैन। वार्षिक एक करोडको तरकारी र फलफूल बेच्छौं,' उनले भने।
खेती सुरू भए पनि आफू बस्ने घर थिएन। घर सोच्ने क्रममै रिसोर्टको अवधारणा आएको हो।
'फार्ममा दिनभरि काम गरेर रात बस्न बन्दीपुर पुग्नुपर्थ्यो,' आलोक श्रीले भने, 'यही कारणले रिसोर्ट खोल्ने सोच आएको हो। त्यहाँ अहिले पनि सुविधा सम्पन्न अरू रिसोर्ट छैनन्।'
रिसोर्ट चलाउने निर्णयमा पुगेपछि उनले २०७५ सालमा थप जग्गा किने। फार्म सुरू गरेको नौ वर्षपछि उनी रिसोर्ट सुरू गर्न सफल भएका हुन्। हालसम्म जग्गाबाहेक २५ करोड रूपैयाँ लगानी भएको उनले बताए।
आफ्नो रिसोर्ट राम्ररी चल्छ भन्नेमा उनी विश्वस्त छन्। उनका अनुसार पालुङटारमा एनजिओ (गैरसरकारी संस्था) र आइएनजिओ (अन्तर्राष्ट्रिय गैरसरकारी संस्था) का थुप्रै कार्यक्रम हुन्छन्। पालुङटार मध्यपहाडी लोकमार्गले छोएको व्यापारिक केन्द्र पनि हो। अन्नपूर्ण पदयात्राका यात्रुहरू पनि आफ्नो रिसोर्टको ग्राहक बनेको उनको भनाइ छ।
'रिसोर्ट पदयात्रा मार्गमै पर्छ। अब बास बस्न बन्दीपुर गइराख्नु पर्दैन,' उनले भने, 'हाम्रो रिसोर्टबाट राइनासकोट, बेँसीसहर, बन्दीपुर जान सहज हुन्छ।'
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/BIA/aalok%20shree%20%281%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/BIA/midhill%20%283%29.jpg)
स्थानीय स्तरमा उत्पादन हुने मह, दाल, भटमास लगायतका खाद्य वस्तुको पसल राख्ने पनि उनको योजना छ।
आलोक श्रीले २०४६ सालमा भरत बमजनद्वारा रचित 'तिमी जति टाढा भए पनि...' बोलको गीतमा संगीत गरेर सांगीतिक यात्रा सुरू गरेका थिए। यसपछि उनी अध्ययनका लागि विदेश गए। २०५३ सालमा फर्केपछि उनले कालीप्रसाद रिजालद्वारा रचित 'बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्...' बोलको गीतमा संगीत भरे। रामकृष्ण ढकालले गाएको उक्त गीत चर्चित भयो। त्यसयता उनको सांगीतिक यात्रा निरन्तर उकालो लागेको हो।
आलोक श्री २०६७ सालमा गठित 'संगीत नाट्य एकेडेमी' को प्रारम्भिक कालका सदस्य पनि हुन्। उनी गीतसंगीतका विभिन्न गतिविधिहरूमा संलग्न पनि हुन्छन्। धेरै पुरस्कारहरू पनि पाएका छन्।
'संगीत क्षेत्रलाई सेवा दिइसकेँ। अब कृषि-पर्यटनमा काम गरौं भनेर लागेको हुँ,' उनले भने।
खेती र रिसोर्टमा लागे पनि उनले संगीतकर्म छोड्ने छैनन्।
'अहिले रिसोर्ट र अर्गानिक खेतीमा लागेको छु। संगीतमा लाग्न पाएको छैन,' उनले भने, 'यता अलिक सहज भएपछि फेरि संगीतलाई समय दिन्छु।'
व्यवसायमा बढेको व्यस्तताकै कारण ५० वटाभन्दा बढी गीत श्रोतासमक्ष आउन बाँकी रहेको पनि उनले बताए।
आलोक श्रीले कृषि फार्म र रिसोर्टमा निकै मेहनत गरेका छन्, समय पनि धेरै लगाएका छन्।
'यो एकै पटक बनेको होइन। यसमा मेरो १५ वर्षको मेहनत परेको छ। अब यसलाई राम्रो बनाउनु नै मेरो मुख्य काम हुनेछ,' उनले भने।
उनलाई आजकाल संगीत र कृषिकर्म उस्तैउस्तै लाग्न पनि थालेको छ।
भन्छन्, 'संगीतमा कहिले नसोचेको गीत हिट भइदिन्छ, कहिले हुँदैन। कृषि पनि त्यस्तै हो। कहिले राम्रो फल लाग्छ, कहिले लाग्दैन।'
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/BIA/aalok%20shree%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/BIA/midhill%20%285%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/BIA/midhill%20%281%29.jpg)