सरकारले आज ३१ जना व्यवसायीलाई विशेष सम्मान गर्दैछ। महत्त्वपूर्ण व्यवसायी व्यक्ति (सिआइपी) का रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यक्रमका बीच उनीहरूलाई सम्मान गर्दैछन्।
यो सम्मानलाई लिएर निजी क्षेत्र उत्साहित देखिन्छ। सरकारले हरेक दुई वर्षमा यस्तो सम्मान दिने गर्छ।
‘सिआइपी सम्मान पाउने दिन निजी क्षेत्रको लागि एक विशेष पर्वको दिन जस्तै हो,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भने, ‘यसले हामीमा उत्साह दिन्छ, हौसला बढाउँछ, थप लगानी गर्न उत्प्रेरित गर्छ।’
महासंघ अध्यक्ष ढकालले यो सम्मान तथा सुविधा सरकारले अतिरिक्त ठूलो रकम खर्च नगरेर पनि व्यावसायिक वातावरण बनाउन ठूलो सहयोग पुगेको बताए।
कसले के काम गरेको आधारमा यो सुविधा पाउँछ भन्ने विषय पहिले नै निर्क्यौल गरिएको छ। यसको अर्थ, सरकारी उच्च अधिकारीसँग विशेष सम्बन्ध भएको आधारमा वा सोर्सफोर्सको आधारमा यो सम्मान पाइँदैन।
सरकारको तर्फबाट यस्तो सम्मान पत्र पाउनुले नै व्यवसायीलाई प्रोत्साहन त गर्छ नै, उनीहरूले आगामी दुई वर्षको लागि विशेष सुविधा पनि पाउने गर्छन्।
उनीहरूलाई दिइने विशेष १० सुविधा:
सरकारको तर्फबाट विशेष परिचय पत्र, प्रतीक चिह्न, र प्रमाणपत्र दिएर सम्मान गरिन्छ।
प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू र अन्य वरिष्ठ सरकारी अधिकारीहरूसँग औपचारिक भेटघाटका लागि विशेष प्राथमिकता दिइन्छ।
यस्तो सम्मान पाउने व्यवसायीलाई दुई वर्षसम्म सिंहदरबार प्रवेशका लागि अन्य पास चाहिँदैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदा र जाँदा विशेष प्रतीक्षालय (सिआइपी लाउन्ज) प्रयोग गर्न पाइन्छ।
नेपालका आन्तरिक विमानस्थलहरूमा पनि यो सुविधा प्रयोग गर्न सकिन्छ। सरकार र निजी क्षेत्रले आयोजना गर्ने उद्योग तथा वाणिज्यसम्बन्धी कार्यक्रम र समारोहहरूमा विशेष आमन्त्रण गरिन्छ।
विदेशमा हुने व्यापारिक तथा औद्योगिक मेला र प्रदर्शनीहरूमा नेपालको प्रतिनिधित्व गर्नका लागि प्राथमिकता दिइन्छ।
सार्क क्षेत्रका देशहरू भ्रमण गर्नका लागि सार्क स्टिकर भिसा सहजै उपलब्ध गराइन्छ। सरकारी तथा निजी क्षेत्रका कार्यक्रमहरूमा विशेष बस्ने स्थान तोकिन्छ।
सिआइपी परिचय पत्र र प्रतीक चिह्नको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षको निश्चित स्थानसम्म प्रवेशको सुविधा दिइन्छ।
कसलाई र किन यो सुविधा?
सरकारले लगानी आकर्षित गर्न, निर्यातमा बढवा दिन, व्यापार घाटा न्यून गर्न तथा विदेशी मुद्रा बढाउनको लागि प्रोत्साहन गर्न यो सम्मानको व्यवस्था गरेको हो। कसले के काम गरेको आधारमा यो सुविधा पाउँछ भन्ने विषय पहिले नै निर्क्यौल गरिएको छ। यसको अर्थ, सरकारी उच्च अधिकारीसँग विशेष सम्बन्ध भएको आधारमा वा सोर्सफोर्सको आधारमा यो सम्मान पाइँदैन।
विशेषतः निर्यात उद्योगीले यस्तो सम्मान बढी पाउने गर्छन्। त्यस्तै, रेमिट्यान्स ल्याउन योगदान गर्ने, स्टार्टअप गर्ने, कृषि उद्यम गर्ने तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षलाई यो सम्मान दिइने गरेको छ।
यो वर्ष कसलाई दिइँदैछ?
तेस्रो मुलुकतर्फ सबभन्दा बढी वस्तु निर्यात गर्ने व्यवसायी तथा व्यवसायी कम्पनीको तर्फबाट पाँच व्यवसायीले सम्मान पाउँदै छन्। जसमा: ऊनी गलैंचातर्फ श्री थर्ड आई इन्टरनेसनल, तयारी पोशाकतर्फ श्री नेपाल फेसन प्रालि, ऊनी फेल्टका सामानहरूतर्फ नेसनल एक्सपोर्टस् प्रालि, छुर्पीतर्फ: मनराम हिमालयन ह्याण्डीक्राफ्ट प्रा.लि. र पश्मिना वस्तुतर्फ श्री ट्राइकोट इन्डष्ट्रिज प्रालि छन्।
भारततर्फको रकमको आधारमा सबैभन्दा धेरै निर्यात गर्ने व्यवसायीको तर्फबाट डाबर नेपाल, आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्सले यो सम्मान पाएका छन्।
चीनतर्फको रकमको आधारमा सबैभन्दा धेरै निर्यात गर्नेको तर्फबाट छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल कम्पनी रहेका छन्।
नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ताको तर्फबाट गिफ्टल्याण्ड इन्टरप्राइजेज प्रालिले यो सम्मान पाएको छ।
वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भाव्य वस्तुमध्ये कृषिजन्य वस्तु र जडीबुटी क्षेत्रका वस्तुहरूको सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्ताहरूमध्ये नेपाल एभरेष्ट कार्डामम प्रडक्सन र एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्सले यो सम्मान पाएका छन्।
निर्यात व्यापारमा कुल रकमको आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ताको तर्फबाट जनकपुर रिफाइनरिज कम्पनीले यो सम्मान पाएको छ।
बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी/व्यवसायीको तर्फबाट यो वर्ष पनि आईएमई लिमिटेडले यो सम्मान पाएको छ।
पर्यटन क्षेत्रमा सबभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी/व्यवसायीको तर्फबाट एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले यो सम्मान पाएको छ।
व्यवसायीका प्रतिनिधिमूलक संस्थातर्फ क्रमश नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेलाई यो सम्मानको सूचीमा राखिएको छ।
त्यस्तै, तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा १ अर्ब वा सो भन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरू तर्फबाट द सांग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इण्डस्ट्रिज प्रालि, एभरेष्ट फेसन ललितपुर, त्रिवेणी स्पिनिङ मिल्स, काठमाडौंलाई यो सम्मान दिइएको छ।
व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फ तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल ५ अर्ब वा सो भन्दा बढी निर्यात गर्ने वस्तुगत संघका अध्यक्षहरूलाई मानार्थ सम्मानको रूपमा नेपाल छुर्पी व्यवसायी संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्षलाई यो सम्मानको सूचीमा राखिएको छ।
तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल १५ अर्ब वा सो भन्दा बढी निर्यात गर्ने महासंघका अध्यक्षहरूलाई पनि यो सम्मान दिइएको छ। जसमा नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघ रहेका छन्।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा दुई करोड वा सोभन्दा बढी निर्यात गर्ने स्टार्टअपको तर्फबाट माइन्डफुल क्राफ्ट प्रालिलाई यो सम्मानको सूचीमा राखिएको छ।