गोपाल किराती नेकपा (माओवादी केन्द्र)मै फर्किएका छन्।
सोमबार माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँग तीन बुँदे सहमति गरी माओवादी केन्द्रमै फर्किएका हुन्।
आइतबार मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे सहमति गरी पार्टी एकता गर्ने निर्णय गरेका थिए।
नेकपाका महासचिव चिरन पुन, नेकपा साजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका थिए।
किराती २०७४ मा माओवादी केन्द्रबाट अलग्गिएका थिए।
माओवादी केन्द्रबाट अलग भएपछि किरातीले देशभक्त समाजवादी मोर्चा गठन गरेका थिए।
प्रचण्ड र किरातीबिच भएको सहमतिमा विगतमा भएका वैचारिक -राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने सहमति भएको छ।
यस्तो छ तीन बुँदे सहमति
१. विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने । जसको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता-संघर्ष-रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान गर्न सामर्थ्य आर्जन गर्ने।
२. कमरेड गोपाल किरातीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने।
३. उपरोक्त सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने।
