नेपाल टेलिकमको बिलिङ टेण्डर विवादित बनेको छ।
टेलिकमले गत चैत ५ गते निकालेको टेन्डरमा ३ वटा ठूला कम्पनीलाई सहभागी गराउनबाट बन्चित गराइएको भन्दै ३ कम्पनीले असन्तुष्टि ब्यक्त गरेका छन्।
सप्लाइ, डेलिभरी, इन्स्टलेसन सम्बन्धी रियल टाइम बिलिङ र कस्टमर सिस्टमको भर्चुलाइज प्लेटफम बनाउन टेलिकमले टेण्डर आह्वान गरेको थियो।
टेलिकम बिलिङमा लामो समयदेखि काम गर्दै आइरहेका एम्डक्स, नेटक्र्याकर र सिएसजी ३ वटा कम्पनीले टेलिकमको बिलिङ टेण्डरमा असन्तुष्टि व्यक्त गरेका हुन्।
उनीहरू बजेट कम भएका कारण यस अघिको टेण्डरमा सहभागी भएका थिएनन्। यो भन्दा अघि यही टेण्डर टेलिकमले २०८० चैत १८ गते पनि निकालेको थियो।
त्यो बेलामा पनि आफूअनुकूल कम्पनीलाई टेण्डर दिन थालेको आलोचना भएपछि त्यसबेला स्थगित गरिको थियो।
अहिलेको टेण्डरमा समेत बजेट भने कम तर प्राविधिक रिक्वायरमेन्ट धेरै राखेर पहिलाकै जसरी टेण्डर रद्द गराउने र रद्द भई हालेमा अन्ततोगत्वा हालको बिलिङ सिस्टमको भेण्डर एसिया इन्फोकमलाई नै निरन्तरता दिने र रद्द नभएको खण्डमा कोर नेटवर्कका भेण्डर हुवावे र जेडटिईमध्ये एक कम्पनीलाई टेण्डर पार्ने (जुन बिलिङ सिस्टमको हकमा मापदण्डविपरीत हुन जान्छ) टेलिकमका कर्मचारीको मनसाय देखिएको समेत सिएसजीका प्रतिनिधि राजेश श्रेष्ठले आरोप लगाएका छन्।
उनले भने, 'हामीहरुलाई मापदण्डको चाङ्ग थुपारेर टेलिकमले विवादित कम्पनी एसिया इन्फोकमको नै बिलिङ सिस्टमलाई निरन्तरता दिने नियत देखिन्छ र टेलिकमले बनाएको मापदण्ड पनि एसिया इन्फोकम अनुसार बनाइएको देखिन्छ।'
यस बिलिङ टेण्डर प्रक्रियामा हुवावे र जेडटिइ पनि सहभागी छन्।
टेलिकमका अनुसार कोर नेटवर्क र बिलिङ प्रणालीबीच नजिकको अन्तर्सम्बन्ध रहने भएकाले दुवै प्रणाली एउटै भेण्डरको हातमा हुँदा डेटा हेरफेर हुने जोखिम उच्च हुन्छ।
यसअघि पनि यस्तै एक प्रकरणमा सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन सहसचिव गौरव गिरीको संयोजकत्वमा गठित छानबिन समितिले गरेको अनुसन्धानका क्रममा टेलिकमलाई आर्थिक नोक्सानी पुगेकोमा समितिबाट कारबाही सिफारिस भएपछि नेपाल टेलिकमले हालको बिलिङ सिस्टमको भेण्डर एसिया इन्फोकमको बिलिङ डेटा कोर नेटवर्कको डेटासँग रुजु गर्दा ५२ लाख रूपैयाँ बढी चार्ज गरेको देखिएकोले टेलिकमले सोही रकम बराबरको क्षतिपूर्ति एसिया इन्फोकमलाई तिराएको थियो।
हाल नेपाल टेलिकममा सञ्चालित कोर सेवाहरूमध्ये हुआवेई भेण्डर भएको कोर सेवाहरूमा टुजीमा मोबाइल स्विचिङ सेन्टर होम लोकेसन रजिस्टर भिजिटर लोकेसन रजिस्टर र सरभिङ जिपिआरएस सपोर्ट नोड पर्दछन्।
त्यस्तै थ्री जीमा मोबाइल स्विचिङ सेन्टर, गेटवे मोबाइल स्विचिङ सेन्टर पर्दछन् भने आफैँमा एउटा सिस्टम रहेको पोइन्ट अफ इन्टरसेक्सन पर्दछन्।
जेडटिइ भेण्डर रहेको कोर सेवाहरूमा फोरजीमा इभोल्भ्ड प्याकेट कोर, शर्ट मेसेज सर्भिस सेन्टर र एफटिटीएचमा अप्टिकल लाइन टर्मिनल सेवा पर्दछन्।
माथि उल्लेख गरिएका कोर सेवाहरू र सोसँग सम्बन्धित कोर नेटवर्कमा आवश्यक पर्ने प्रणाली, उपकरणहरू र आवश्यक मर्मत सम्भारका सेवाहरू हाल नेपाल टेलिकमले जो भेण्डरबाट लिइरहेको छ।
ती कम्पनीले बिलिङसम्बन्धी बोलपत्रमा भाग लिन पाउने गरी गैरकानुनी रूपमा मिलेमतो गरी बोलपत्र प्रकाशित गरेकाले टेलिकमका कर्मचारीको नियतमाथि गम्भीर प्रश्न खडा गरेको नेटक्र्याकरका प्रतिनिधि उमेश घिमिरेले बताए।
कुनै ग्राहकले कल गर्दा सामान्यतया कोर सिस्टमले निकालेको कल डिटेल रिपोर्ट बमोजिम बिलिङ सिस्टमले ग्राहकको ब्यालेन्स काट्ने गर्दछ।
कोर सिस्टमले निकालेको कल डिटेल रिपोर्ट बमोजिम बिलिङ सिस्टमले बिल गरेको छ कि छैन भन्ने रेभिन्यु एस्योरेन्स सिस्टमले चेक गर्दछ।
यदि कोर र बिलिङ सिस्टम एकै कम्पनीको भए बिलिङ सिस्टमले राम्रोसँग बिल नगरेको अवस्थामा कुनै समस्याहरू लुकाउन आन्तरिक कर्मचारी वा कम्पनीका प्राविधिकले कोर सिस्टममा डेटा तोडमोड गर्न सक्ने र रेभिन्यु एस्योरेन्स सिस्टमले फरक पत्ता लगाउन नसक्ने हुन्छ।
यसो हुँदा बिलिङमा चुहावट भएको थाहा नपाउने भई कम्पनीको आम्दानी कम हुने हुन्छ।
नेपाल टेलिकमले यसअघि २०७८ जेठ ५ मा दूरसञ्चार प्राधिकरणलाई परामर्श माग्दै कोर र बिलिङ प्रणाली एउटै कम्पनी भएमा हुने जोखिमबारे पत्र लेखेको थियो।
सो पत्रको जवाफमा प्राधिकरणले २०७८ जेठ १७ मा कोर र बिलिङ सिस्टमबीच पारदर्शिता कायम गर्न आवश्यक प्रविधिगत व्यवस्थाको सुनिश्चित गर्न सुझाव दिएको थियो।