च्याट–जिपिटी बनाउने कम्पनी ओपनएआईले मंगलबार आफ्नो पहिलो एआई–सञ्चालित वेब ब्राउजर 'च्याट–जिपिटी एटलस' सार्वजनिक गरेको छ।
धेरै विश्लेषकले यसलाई गुगल क्रोमको सबभन्दा ठूलो प्रतिद्वन्द्वी मानिरहेका छन्।
कम्पनीका सिइओ सेम अल्टम्यानले च्याट–जिपिटी एटलसले परम्परागत ब्राउजर अनुभवलाई पूर्ण रूपमा बदल्नेछ। यसमा एड्रेस बारको सट्टा सिधै च्याट–जिपिटी इन्टरफेस प्रयोग हुनेछ।
एटलसको पहिलो संस्करण अहिले एप्पलको म्याक–ओएसमा मात्र उपलब्ध छ। प्रयोगकर्ताहरूले आफ्नो च्याट–जिपिटी खाता प्रयोग गरेर लग–इन गर्न सक्छन्।
त्यही च्याट इन्टरफेसबाट वेब सर्च, वेबपेज खोल्ने र सामग्री संक्षेपीकरण जस्ता सुविधा प्राप्त गर्न सकिन्छ।
ओपनएआईले जनाएअनुसार यसमा पेड 'एजेन्ट मोड' पनि हुनेछ। यो फिचरले प्रयोगकर्ताको निर्देशन अनुसार स्वतः इन्टरनेट खोजेर जानकारी संकलन गर्ने र त्यसको सारांश पेस गर्ने काम गर्छ।
यो लन्च त्यति बेला आएको हो, जब ओपनएआई आफ्नो एआई प्रविधिलाई व्यावसायिक उत्पादनहरूमा रूपान्तरण गर्न र राजस्वका स्रोतहरूमा विविधता ल्याउने दिशामा कदम बढाइरहेको छ।