आठ वर्षअघिको कुरा हो।
एउटा क्याफेमा विदेशमा पढेर फर्केका तीन युवा सन्दीप पौडेल, सूर्य कार्की र विनय बोगटीको भेट भयो।
बिजनेस, कृषि र सिए (चार्टर्ड एकाउन्टेन्ट) पढेका उनीहरूले कफी पिउँदै नेपालमा केही व्यवसाय गर्ने योजना बनाए। उनीहरूको दिमागमा आयो डेरी। बजारमा चलिरहेका भन्दा फरक र प्रिमियम उत्पादन गर्ने डेरी बनाउने निधो भयो।
तीन जनाले सुरूआतमा ५० लाखका दरले डेढ करोड रूपैयाँ लगानी गरे। अनि सुरू गरे 'डेलिस डेरिज'।
यो कम्पनीमार्फत् ग्रीक योगर्ट (दही) उत्पादन गरेर उनीहरूको व्यावसायिक यात्रा सुरू भयो। डेलिसले छोटो समयमै ठूलो व्यावसायिक फड्को मारेको यसका सह–सञ्चालक सन्दीप पौडेल बताउँछन्।
'डेढ करोडबाट सुरू भएको डेलिसले आज वार्षिक २० करोड रूपैयाँभन्दा बढी कारोबार गरिरहेको छ,' उनले भने, 'सुरूमा दुई/चार वटा उत्पादन मात्रै थिए, ३० भन्दा बढी छन्। यो वर्ष कारोबार ३० करोड रूपैयाँको पुर्याउने लक्ष्य छ।'
उनका अनुसार डेलिसको मुख्य उत्पादन ग्रीक योगर्ट नै हो। सामान्य दहीभन्दा फरक, ग्रीक योगर्ट बनाउन दहीको पानी हटाइन्छ र त्यसपछि विशेष प्रशोधन प्रक्रियाबाट बाक्लो र पोषिलो बनाइन्छ।
नेपालमा व्यावसायिक रूपमा ग्रीक योगर्ट पहिलो पटक डेलिसले नै बजारमा ल्याएको सन्दीपको दाबी छ।
हाल डेलिस ग्रीक योगर्ट चार स्वादमा उपलब्ध छ — क्लासिक (सुगर फ्री), स्ट्रबेरी, मिक्स बेरी र आँप।
क्लासिक स्वाद चिनी बिनाको भएकाले ग्रीक योगर्टको वास्तविक स्वाद बुझ्न चाहनेका लागि उपयुक्त मानिन्छ। अन्य स्वादमा भने प्राकृतिक फलफूल प्रयोग गरिन्छ।
'बजारमा पाइने धेरै खानेकुरामा आर्टिफिसियल फ्लेभर हुन्छ,' सन्दीप भन्छन्, 'हामी फलफूललाई मेसिनबाट प्रशोधन गरेर दहीमा मिसाउँछौं। त्यसैले खाँदा फलका साना टुक्रा पनि आउँछ।'
डेलिस ग्रीक योगर्ट काठमाडौं उपत्यका, पोखरा लगायत सहरका सुपरमार्केट, मार्टहरूमा उपलब्ध छ। सबभन्दा सानो १२५ ग्रामको प्याकेटको मूल्य १६५ रूपैयाँ पर्छ। आइसक्रिम जस्तै देखिने प्याकेजिङले पनि उपभोक्तालाई आकर्षित गरेको सन्दीप बताउँछन्।
डेलिस ग्रीक योगर्ट विशेषगरी ब्रेकफास्टमा रूचाइन्छ। ओट्स, कर्नफ्लेक्स वा फलफूलसँग मिसाएर खाने चलन बढ्दो भएको उनले बताए।
भारतमा सिए पढेका सन्दीप, बेलायतमा कृषि पढेका विनय र अमेरिकामा बिजनेस पढेर फर्केका सूर्यले कृषि क्षेत्रमा नयाँ केही गर्ने हुटहुटी सहित ग्रीक योगर्ट नेपाली बजारमा ल्याउने योजना बनाएका हुन्।
'हामी तीन जना कृषिमा नयाँ उत्पादन ल्याउनुपर्छ भन्ने निष्कर्षमा पुग्यौं,' सन्दीप भन्छन्, 'सामान्य दूध, दही, घिउ त सबैले बेचिरहेका थिए। नयाँ के दिने भन्ने प्रश्नले उनीहरूलाई ग्रीक योगर्टतर्फ डोर्यायो।'
यसपछि उनीहरू ग्रीक योगर्टको स्वाद नेपाली बजारमा पस्किन सकिन्छ भन्ने निष्कर्षमा पुगे। सूर्यले ग्रीक योगर्ट खाए पनि बनाउने प्रविधि थाहा थिएन। उनीहरूले यसबारे खोजी थाले।
ग्रीक योगर्ट उत्पादनबारे बुझ्न तीनै जना भारत पुगे। मेसिन, प्रविधि र प्रक्रिया अध्ययन गरे। नेपाल फर्किएपछि एक वर्ष बजार अध्ययनमै बित्यो। सामान्य दहीभन्दा महँगो ग्रीक योगर्ट नेपाली उपभोक्ताले स्वीकार गर्लान् वा नगर्लान् भन्नेबारे बुझे। नतिजा सकारात्मक आएपछि उनीहरू उत्पादनमा लागेका हुन्।
डेलिसको कारखाना चितवनमा छ। सञ्चालकहरूमध्ये सूर्य संखुवासभाका हुन् भने सन्दीप र विनय चितवनकै हुन्। उनीहरूले चितवनमा दूध सहजै पाइने बुझेका थिए। त्यसैले २०७५ सालमा 'डेलिस डेरिज' दर्ता गरेर एक बिघा जमिन किने।
कोरोना महामारीकै बीच संरचना बनाए र २०७७ सालदेखि उत्पादन सुरू भयो।
उनीहरूले सुरूमा 'पञ्चमी' ब्रान्ड अन्तर्गत दूध र दही बजारमा ल्याएका थिए। चितवन र नवलपरासीका विभिन्न ठाउँमा आफै उत्पादन बोकेर पनि हिँडे।
'कोभिड महामारीका बेला बजारमा ग्रीक योगर्टभन्दा केही सस्तोमा खाना पाउने गरी पञ्चमी पनि ल्याएका थियौं,' सन्दीपले थप भने, 'पञ्चमीले पनि राम्रो बजार लियो। ग्रीक योगर्ट पनि अघि बढ्यो।'
उनीहरू डेलिस बोकेर काठमाडौंका सुपरमार्केटहरू पनि धाए।
'धेरैले राख्न मानेनन्, गुणस्तरमा प्रश्न उठ्यो,' सन्दीपले भने, 'तर निरन्तर प्रयासले डेलिसले बजारमा स्थान बनायो।'
अहिले पञ्चमी र डेलिस ब्रान्डमा दही, घिउ, चिज, पनिर र छुर्पी लगायत ३० भन्दा बढी उत्पादन हुन्छ। छिट्टै आइसक्रिम पनि ल्याउने उनले बताए।
त्यस्तै भर्खरै इलाममा अर्को कारखाना पनि खुलेको छ।