चकलेटको मिठासमा रक्सीको स्वाद थपियो भने कस्तो बन्ला?
यही फरक प्रयोगले जन्माएको हो, 'चोको रक्सी'।
यसका सर्जक हुन् ललितपुर, झम्सिखेलकी धारणा शाह र काठमाडौंको छाउनीका निकेश श्रेष्ठ।
चोको रक्सी डार्क चकलेटमा नेपाली घरेलु मदिराको स्वाद मिसाएर बनाइएको हो।
'हामीले बजारमा केही नयाँ ल्याउन चाहेका थियौं। त्यही क्रममा चकलेटमा मदिरा मिसाएर नयाँ स्वादको लिक्वेर चकलेट ल्याएका हौं,' धारणाले भनिन्।
उनका अनुसार ४५ प्रतिशत कोको भएको डार्क चकलेटमा मदिरा मिसाइन्छ। चकलेटको गाढा स्वाद र मदिराको सुगन्धबीच सन्तुलन कायम गर्नु यसको विशेषता हो। चकलेटको गुणस्तर कायम राख्दै मदिराको स्वादलाई पनि उत्तिकै महत्त्व दिइने उनले बताइन्।
चोको रक्सीले ह्विस्की, ब्रान्डी, रम र भोड्काको स्वादमा चकलेट उत्पादन गर्दै आएको छ। प्रत्येक स्वादको आफ्नै विशेषता रहेकाले ग्राहकले आफ्नो रूचिअनुसार छनोट गर्न सक्छन्।
नेपालमा लिक्वेर चकलेट धेरैका लागि नयाँ उत्पादन हो। धारणाका लागि भने नौलो थिएन।
करिब १२ वर्षअघि नै उनले विदेशी लिक्वेर चकलेट चाखेकी थिइन्। उपहारका रूपमा पनि पाउँथिन्। त्यसको स्वाद र बनाउने तरिकाले उनलाई त्यतिबेला नै आकर्षित गरेको थियो।
'कसैले विदेशबाट के ल्याइदिऊँ भनेर सोधे म लिक्वेर चकलेट नै मगाउँथेँ। यसको स्वाद र अवधारणा मलाई निकै मनपर्थ्यो,' उनले भनिन्, 'त्यही बेलादेखि यो कसरी बनेको होला भन्ने जिज्ञासा जागेको थियो।'
विदेशी चकलेटप्रतिको यही रूचि आफ्नै व्यवसाय सुरू गर्ने सोचसँग जोडियो।
उनी सन् २०११ मा कानुन विषय पढ्न भारत गएकी थिइन्। त्यहाँ हुँदादेखि नै उनलाई नेपाल फर्केर केही नयाँ काम गर्नुपर्छ भन्ने लागिरहेको थियो।
सहसंस्थापक निकेश श्रेष्ठले पनि भारतमै व्यवसाय विषयमा स्नातक तह पढेका थिए। पढाइकै क्रममा उनीहरूको चिनजान भएको थियो।
नेपाल फर्केर उनीहरूले उत्पादन क्षेत्रमा काम गर्ने सोचे। लिक्वेर चकलेटप्रतिको पुरानो रूचि र बजारमा नयाँ उत्पादन ल्याउने चाहनाले चोको रक्सीको अवधारणा तयार भयो।
उनीहरूले दुई लाख ५० हजार रूपैयाँ लगानी गरे। लगानी गर्नुअघि बजारको अवस्था बुझ्न र उत्पादनको सम्भावना पहिल्याउन समय खर्चिएको धारणाले बताइन्।
सुरूमा उनीहरूले विभिन्न स्वादका चकलेट बनाए र परीक्षण गरे। परिवारका सदस्य, आफन्त र साथीहरूलाई चखाए। करिब दुई महिनाको प्रयासपछि चाहेजस्तो स्वाद तयार पार्न सके।
सन् २०२१ सेप्टेम्बरमा सामाजिक सञ्जालमार्फत चोको रक्सी सार्वजनिक गरे। पहिलो पटक सात बट्टाको माग आयो। नयाँ उत्पादन भएकाले यसको अवधारणा ग्राहकलाई बुझाउन र बजारसम्म पुर्याउन सहज थिएन।
'बजारमा नौलो भएकाले यसको अवधारणा बुझाउन र ग्राहकसम्म पुग्न मेहनत गर्नुपर्यो,' धारणाले भनिन्।
साथीभाइ र आफन्तलाई भेट्दा, जन्मदिन वा अन्य विशेष अवसर तथा उत्सवमा चकलेट उपहार दिने चलनलाई चोको रक्सीले आफ्नो बजार विस्तारको अवसरका रूपमा लिएको छ।
यसका साथै कम्पनीहरू लक्षित कर्पोरेट गिफ्टिङमा पनि यसको सम्भावना देखिएको उनले बताइन्।
'हामी चकलेटबाट स्वादको अनुभव मात्र होइन, फरक अनुभूति पनि दिन चाहन्छौं। प्रियजनलाई उपहार दिँदा वा कुनै उत्सव मनाउँदा यो कुराकानीको नयाँ विषय पनि बन्न सक्छ,' उनले भनिन्।
तर उत्पादनको गुणस्तर कायम राख्नु महत्त्वपूर्ण छ। चकलेटको ताजापन जोगाउन नियमित रूपमा नयाँ ब्याच तयार गर्ने र मूल्यलाई सकेसम्म पहुँचयोग्य बनाउने विषयमा ध्यान दिइएको उनले बताइन्।
हाल चोको रक्सी ६ वटा र नौ वटाको बक्समा उपलब्ध छ। ६ वटाको बक्सको मूल्य एक हजार २५० रूपैयाँ र ९ वटाको एक हजार ६५० रूपैयाँ पर्छ। ग्राहकले चोको रक्सीको इन्स्टाग्राम, फेसबुक, टिकटक र ह्वाट्सएपमार्फत अर्डर गर्न सक्छन्।
कम्पनीले आगामी दिनमा आफ्नै पसल खोल्ने योजना बनाएको छ। नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने लक्ष्य पनि छ।
'तर त्यसका लागि सम्बन्धित देशका नियम तथा प्रक्रिया पूरा गर्नुपर्ने चुनौती छ,' उनले भनिन्।
चकलेट र मदिराको संयोजनबाट फरक स्वाद पस्किरहेको चोको रक्सी वयस्क उपभोक्तालाई लक्षित उत्पादन हो।
यो बालबालिकाका लागि बनाइएको उत्पादन होइन। रोगी र गर्भवतीका लागि पनि यो उपयुक्त हुँदैन।
'मदिरा खान मिल्ने उमेर भएकाले पनि आफ्नो स्वास्थ्य र अन्य अवस्था ध्यानमा राखेर खानुपर्छ,' धारणाले भनिन्।