बाह्र वर्षको उमेरमा घर छाडेर भारतको राजस्थान पुग्दा अर्जुन धोबीसँग न भविष्यको कुनै योजना थियो, न त कमाइ गर्ने ठूलो सपना।
घरको कलह र पढाइप्रतिको अरूचिले उनलाई बाल्यकालमै परदेश पुर्याएको थियो। पाँच वर्षसम्म अरूको आइसक्रिम पार्लरमा काम गर्दा उनले वर्षभरि पाउने पारिश्रमिक जम्मा एक हजार भारतीय रूपैयाँ थियो।
तर त्यही पाँच वर्षमा उनले पैसाभन्दा मूल्यवान एउटा सीप सिके। आज त्यही सीप उनको जीवनको आधार बनेको छ।
एउटा ठेलाबाट सुरू भएको व्यवसाय सात वटा ठेलासम्म फैलिएको छ। आइसक्रिमसँगै होटल र कफी सप पनि सञ्चालन गरिरहेका अर्जुन अहिले आफ्नै ठाउँमा सात जनालाई रोजगारी दिन सक्ने उद्यमी बनेका छन्।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–९, मंगलापुर चोकमा उनको 'श्री कन्हैया आइसक्रिम' ठेलामा स्ट्रबेरी, भ्यानिला, चकलेट र कुरौनी स्वादका आइसक्रिम पाइन्छन्। बदाम सेक र विभिन्न प्रकारका कफी पनि ग्राहकको रोजाइमा पर्छ।
'सामान्यतया जाडो मौसममा आइसक्रिमको बिक्री घट्छ। त्यसैले मःम, चाउमिन, चटपटे, चाट र कफी बिक्रीलाई प्राथमिकता दिन्छु,' ३५ वर्षीय अर्जुनले भने।
अर्जुनको बाल्यकाल भने सहज थिएन। बुबा मदिरा पिउँथे। घरमा प्रायः झैझगडा भइरहन्थ्यो। घरको तनावले उनको पढाइमा असर पारेको थियो। स्कुलमा हुँदा पनि उनको ध्यान पढाइभन्दा घरको वातावरण र पारिवारिक समस्यातिरै जान्थ्यो।
पढाइमा कमजोर भएपछि उनी अनुत्तीर्ण हुन्थे। स्कुल र घरमा गाली खानुपर्थ्यो। यसले उनलाई पढाइबाट झन् टाढा बनाउँदै लग्यो।
'स्कुलमा हुँदा पनि घरको झगडा सम्झिरहन्थेँ। पढ्न मनै लाग्दैनथ्यो। पढाइमा ध्यान नगएपछि पास हुने कुरा नै भएन,' अर्जुन विगत सम्झिन्छन्।

लगातार फेल भएपछि उनी १२ वर्षको उमेरमा गाउँका दाइहरूसँग भारतको राजस्थान पुगे। बाल्यकालमै परिवार छाडेर अपरिचित ठाउँमा काम गर्न पुग्नु उनका लागि सहज थिएन।
उनले एउटा आइसक्रिम पार्लरमा काम पाए। त्यहाँ आइसक्रिम बनाउन, सामग्री मिलाउन र बेच्न थाले। पाँच वर्षसम्म त्यहीँ बसेर उनले आइसक्रिम बनाउने व्यावहारिक सीप हासिल गरे।
त्यति बेला वर्षभरि काम गर्दा उनी एक हजार भारतीय रूपैयाँ पारिश्रमिक पाउँथे। खान र बस्न कम्पनीले नै दिएको थियो।
'पैसा कमाउनेभन्दा पनि आइसक्रिम बनाउन सिक्ने उद्देश्य थियो। वर्षभरि काम गर्दा एक हजार रूपैयाँ पाइन्थ्यो। तर मैले सीप सिकिरहेको थिएँ,' अर्जुनले भने।
पाँच वर्षपछि नेपाल फर्केर उनले गाउँमै आफ्नो सीप प्रयोग गर्न चाहे। तर उनीसँग पुँजी थिएन। आफन्तसँग ऋण माग्दा पनि उनलाई पत्याएनन्।
मन नभए पनि केही समयपछि उनले विदेश जाने सोचे। मामाहरूले सहयोग गर्ने आश्वासन दिएका थिए। त्यही समयमा उनले गुरू मान्ने कृष्ण बानियाँले विदेश नजान सुझाए। आइसक्रिम पसल खोल्न आवश्यक रकम जुटाइदिने आश्वासन दिए।
उनलाई नेपालमै व्यवसाय गर्ने हिम्मत जुट्यो।
बुबाले चिनजानका एक व्यक्तिबाट २० हजार रूपैयाँ ऋण खोजिदिए। कृष्णले पनि चिनजान र जमानीका आधारमा थप रकम जुटाइदिए।
'म अहिले जुन स्थानमा पुगेको छु, सबै कृष्ण गुरूको देन हो। उहाँले त्यति बेला साथ नदिनुभएको भए सायद म विदेश भासिएको हुन्थेँ,' अर्जुन भन्छन्।
कृष्णकै सुझावबाट प्रभावित भएर उनले आइसक्रिम पार्लरको नाम 'श्री कन्हैया आइसक्रिम' राखेका हुन्। उनका लागि यो नाम व्यवसायको पहिचान मात्र होइन, कठिन समयमा साथ दिने व्यक्तिप्रतिको सम्मान पनि हो।
२०६८ सालमा तिलोत्तमाको भलवारी चोकबाट उनले एउटा ठेलामा आइसक्रिम बेच्न थाले। आइसक्रिम बनाउने र ठेलामा राखेर ग्राहकसम्म पुर्याउने उनको दैनिकी बन्यो। सुरूआती दिनमा दैनिक १० देखि १५ लिटर दूधबाट आइसक्रिम बनाउँथे। अहिले दैनिक ३०० देखि ४०० लिटर दूधको आइसक्रिम बनाउँछन्।

ग्राहक बढ्दै गएपछि उनले अर्को ठेला थपे। उखुको जुस पनि बेच्न थाले। व्यवसायमा भाइ मनोज धोबीलाई पनि जोडे।
त्यसपछि तिलोत्तमाका विभिन्न चोक, फुटपाथ र हाटबजारमा उनको व्यापार विस्तार हुन थाल्यो। अहिले उनीसँग सात वटा ठेला छन्। ती सबै ठेला दिनहुँ तिलोत्तमाका कोटिहवा, गणेशपुर, गोरकट्टा, सेमरा, भलवारी लगायत हाटबजारमा पुग्छन्।
'गर्मीमा एउटा ठेलाबाट दैनिक सातदेखि आठ हजार रूपैयाँसम्मको कारोबार हुन्छ,' उनले भने, 'आइसक्रिमको व्यापार मौसममा निर्भर हुन्छ। त्यसैले आम्दानी पनि सधैं एकनास हुँदैन।'
यही चुनौती बुझेर उनले व्यवसायलाई आइसक्रिममा मात्र सीमित नराखेका हुन्।
व्यवसाय विस्तारसँगै परिवारका अन्य सदस्य पनि यसमा जोडिएका छन्। मःम बनाउन आमा तेरसी र बुहारी अञ्जलीले सहयोग गर्छन्। भाइ मनोजले सामग्री तयारीको काम सम्हाल्छन्। श्रीमती लक्ष्मी पनि व्यवसायमा सक्रिय छिन्। बुबा महेश धोबीको भने मृत्यु भइसकेको छ।
'घरको समस्याबाट टाढिन बाल्यकालमै घर छाडेर हिँडेको थिएँ। अहिले आफ्नै कमाइबाट परिवारलाई एकै ठाउँमा राख्न सफल भएको छु। यो त मेरो लागि भाग्यको कुरा हो,' अर्जुन भन्छन्।
१५ वर्षअघि करिब एक लाख रूपैयाँ लगाएर सामान्य ठेलामा आइसक्रिम बेच्न थालेका अर्जुनको व्यवसायमा अहिलेसम्म २० देखि २५ लाख रूपैयाँसम्म लगानी भइसकेको छ।
बनावट र प्रकृति अनुसार एउटा आइसक्रिम ठेला बनाउन डेढ लाखदेखि चार लाख रूपैयाँसम्म खर्च भएको छ। मःमको ठेलामा मात्रै करिब साढे तीन लाख रूपैयाँ लगानी गरिएको उनी बताउँछन्।
व्यवसायबाट भएको आम्दानीले उनले जग्गा किनेर साढे दुईतले घर बनाएका छन्। अर्को ठाउँमा घडेरी किनेका छन्। आफ्नो र भाइको बिहे लगायत पारिवारिक खर्च पनि यही व्यवसायको आम्दानीबाट व्यवस्थापन भएको छ।
उनकी छोरी अहिले कक्षा सातमा पढ्छिन्। भाइका दुई छोरा कक्षा पाँच र दुईमा पढ्छन्।

उनको व्यवसाय अरूका लागि रोजगारीको माध्यम पनि बनेको छ। व्यवसायमा परिवारका सदस्यबाहेक सात जना कर्मचारी कार्यरत छन्। काम र अनुभव अनुसार उनीहरूले मासिक १५ हजारदेखि २० हजार रूपैयाँसम्म तलब पाउँछन्।
'कर्मचारीको बसोबास र खानपान व्यवस्था म आफैले गरिदिएको छु,' अर्जुनले भने।
व्यवसाय बढेसँगै अर्जुनका जिम्मेवारी र चुनौती थपिएका छन्।
परिवारका सदस्य, कर्मचारी र पाहुनासमेत गरी १५ जनाका लागि दैनिक खानाको व्यवस्था गर्नुपर्छ। नयाँ ठाउँमा ठेला सञ्चालन गर्दा लामो समय कर्मचारी टिकाउन कठिन हुने उनको अनुभव छ। कहिलेकाहीँ हिसाबकिताबमा पनि समस्या आउँछ।
बुटवलको देवीनगर क्षेत्रमा भएको उनको व्यवसायमा यस्तै समस्या आएका थिए। त्यसैले अहिले उनी ठेला संख्या बढाउनुभन्दा सञ्चालनमा रहेकालाई व्यवस्थित बनाउने सोचमा छन्।
'सफलताको अर्थ पैसा कमाउनु मात्रै होइन। घरका सबै सदस्य एउटै घरमा बसेर काम गर्न पाउनु मेरा लागि सबभन्दा ठूलो सन्तुष्टि हो,' अर्जुन भन्छन्।

