निरज देवकोटालाई पछिल्लो समय देशका विभिन्न ठाउँबाट फोन आइरहन्छ।
कोही प्लास्टिकजन्य फोहोर बेच्न खोज्छन्, कोही त्यही फोहोरबाट बनेका छानाका टायल किन्न चाहन्छन्।
दाङ, तुलसीपुरका ४४ वर्षीय निरजले फोहोर प्लास्टिकबाट टायल बनाउन थालेपछि उनीकहाँ प्लास्टिक बेच्ने र टायल किन्ने दुवैको सम्पर्क बढेको छ।
'दिनकै बीस–तीस फोन आउँछ प्लास्टिक बेच्ने र टायल किन्नेको,' उनले भने।
तुलसीपुरमा उनले उत्पादन गर्ने पोली–स्यान्ड टायल प्लास्टिकजन्य फोहोर र बालुवा मिसाएर बनाइन्छ। उनको उद्देश्य टायल बेचेर आम्दानी गर्नु मात्रै होइन, फोहोरको समस्या घटाउनु पनि हो।
'म नेपालभर प्लास्टिकजन्य फोहोर समस्या मात्रै होइन, तरिका जाने घरको छाना हो भन्ने कुरा बुझाउन र सिकाउन चाहन्छु,' उनले भने, 'प्लास्टिकजन्य सफा चिज (फोहोर) छ भने मलाई बेच्नुहोस्। त्यो बेचेर पैसा कमाउनुहोस् भन्ने मेरो आग्रह छ।'
टायल बनाउन हाल प्लास्टिकका बोरा, कुर्सी र अन्य प्लास्टिकका भाँडाकुँडा प्रयोग भइरहेको छ। पोलिथिनबाट पनि नबन्ने होइन। तर सफा गर्न कठिन हुने उनी बताउँछन्।
निरज पहिले जहाज मर्मत गर्ने प्राविधिक थिए।

तुलसी बोर्डिङ स्कुलबाट एसएलसी पास गरेपछि प्लस–टू पढ्न भारतको चेन्नई गए। त्यसपछि नेपाल आए र टोफेल दिएर फेरि चेन्नई पुगे। त्यहाँ एरोनोटिकल इन्जिनियरिङमा स्नातक गरे। यो विषय जहाज निर्माण तथा त्यसको प्राविधिक पक्षसँग सम्बन्धित छ।
पढाइपछि उनले किङफिसर एयरलाइन्समा जहाज मर्मत गर्ने प्राविधिकका रूपमा काम पाए। करिब सात वर्ष त्यहाँ काम गर्दा मासिक एक लाख रूपैयाँसम्म कमाउँथे। कम्पनी बन्द भएपछि उनको जागिर पनि टुंगियो।
त्यसपछि उनी नेपाल फर्किए। जहाज मर्मतमा प्रयोग हुने सीपभन्दा फरक व्यवसाय गर्ने सोच बनाए।
सुरूमा उनले तुलसीपुरमा जिप्सनका टायल उत्पादन गरे। यो व्यवसाय जिल्लाकै पहिलो थियो। बजार पनि राम्रो भयो।
व्यवसाय सुरू गरेको चार वर्षपछि उनी पढाइसँग सम्बन्धित अवसर खोज्दै अमेरिका पुगे। तर त्यहाँ जहाज मर्मतसम्बन्धी काम पाएनन्। त्यसका लागि थप पढ्नुपर्ने सुझाव पाए।
फेरि पढाइमै अल्झिँदा जीवनको बाटो अन्योलमा पर्न सक्ने ठानेर उनी करिब एक महिनामै नेपाल फर्किए र आफ्नै व्यवसायमा लागे।
जिप्सन टायल व्यवसाय चलिरहेकै थियो। तर बजारमा प्रतिस्पर्धी थपिन थालेपछि उनले नयाँ उत्पादनबारे सोचे। थोरै ग्राहक भए पनि फरक उत्पादन र उही गुणस्तर कायम राख्ने उपाय खोजिरहेका बेला उनको ध्यान प्लास्टिकजन्य फोहोरतर्फ गयो।
'वातावरणमा समस्या सिर्जना गरिरहेको प्लास्टिकलाई उपयोगी सामग्री बनाउन सकिने सम्भावनाबारे अध्ययन गरेँ। त्यसपछि फोहोर प्लास्टिक र बालुवा मिसाएर छाना छाउने टायल उत्पादन गर्ने निर्णय गरेँ,' उनले भने।
तुलसीपुर–५ मा रहेको उनको पुरानो घर भाडामा छ। परिवार तुलसीपुर–६ कालोखोला उकालोस्थित अर्को घरमा बस्छ। त्यही घरको आँगनमा आधुनिक उपकरण जडान गरेर उनले एक वर्षदेखि पोली–स्यान्ड टायल उत्पादन गरिरहेका छन्।


घरकै परिसरमा उद्योग चलाउँदा वातावरणीय असरबारे विशेष सतर्कता अपनाउनुपर्ने निरज बताउँछन्।
'मेरो उद्योगबाट एउटा धूलोको कण पनि वातावरणमा मिसिनु हुन्न भन्नेमा म सचेत र सजग छु,' उनले भने, 'थोरै पनि प्रदूषण हुन्थ्यो भने मैले आफू र मेरो परिवारसँगै बस्ने घरकै आँगनमा टायल उत्पादन किन गर्थेँ हुँला र।'
टायल उत्पादनका लागि चाहिने प्लास्टिकजन्य फोहोर खासगरी उनले कुखुरा फार्म तथा ठूला उद्योगहरूबाट किन्छन्। घर, बजार र उद्योगबाट निस्किने प्लास्टिक छुट्ट्याएर संकलन गर्न स्थानीय तहहरूलाई आग्रह गरे पनि अपेक्षित सहयोग नपाएको उनको भनाइ छ।
निरजको अर्को उद्योग तुलसीपुर–४ बनहरीमा छ। टायल उत्पादनस्थलबाट करिब चार किलोमिटर उत्तरमा पुर्ख्यौली तीन बिघा जमिनमा उनले प्लास्टिक रिसाइकल कारखाना खोलेका छन्।
त्यहाँ प्लास्टिक प्रशोधन गरेर पेलेट बनाइन्छ। त्यसपछि ती पेलेट टायल उद्योगमा ल्याएर बालुवासँग मिसाई टायल उत्पादन गरिन्छ। जिप्सन टायलको व्यवसाय पनि उनले बनहरीबाटै सञ्चालन गरिरहेका छन्।
कारखाना, मेसिन लगायत उपकरणमा मात्रै करिब तीन करोड रुपैयाँ खर्च भएको उनले बताए। भवन, विद्युत् र अन्य संरचनासहित कुल लगानी करिब चार करोड ५० लाख रूपैयाँ पुगेको छ।
'लगानीको ३० प्रतिशत रकम मेरै हो। ७० प्रतिशत बैंकबाट ऋण लिएको हुँ,' उनले भने।


प्लास्टिक प्रशोधन क्रममा निस्किन सक्ने धूलो नियन्त्रण गर्न उनले हालै २५ लाख रुपैयाँ खर्चेर डस्ट कलेक्टर मेसिन पनि जडान गरेका छन्।
निरजका अनुसार टायल उत्पादन सुरू गरेको एक वर्षमै करिब ७५ लाख रुपैयाँको कारोबार भएको छ। काठमाडौंका ग्राहकले माग गरेका आठ हजार टायल अहिले उद्योगमा तयार छन्।
दाङसहित धनगढी, नेपालगन्ज, बुटवल, रूकुमका दुवै जिल्ला, पोखरा, काठमाडौं, गोरखा र जनकपुरसम्म उनले बनाएका टायल पुगेका छन्।
'यी टायलको माग त म पुर्याउनै सक्दिनँ,' उनले भने, 'तर मलाई अब केही नयाँ काम गरौँ भन्ने भोक जागेको छ।'
उनको उद्योगमा हाल दैनिक ३०० वटा टायल उत्पादन गर्ने क्षमता छ। तर विद्युत आपूर्तिको समस्याले दैनिक २०० देखि २५० वटासम्म मात्रै उत्पादन भइरहेको छ। दैनिक एक हजार वटा उत्पादन पुर्याउन सके अझ बजार विस्तार हुन्थ्यो भन्ने उनलाई लागेको छ।
विभिन्न प्रकारका प्लास्टिक छुट्टाछुट्टै प्रशोधन गर्न सके उत्पादन बढाउन सकिने उनी बताउँछन्।
उनका उद्योगमा २५ जनाले रोजगारी पाएका छन्।


कस्तो हुन्छ पोली–स्यान्ड टायल?
यो टायल १५ मिलिमिटर बाक्लो हुन्छ। यसमा चीनबाट ल्याइएको आइरन अक्साइडबाट रङ दिइन्छ।
माटो वा सिमेन्टबाट बनेका टायलको तुलनामा यो बलियो र टिकाउ हुने उनको दाबी छ। ढुवानी क्रममा फुट्ने सम्भावना कम हुने र गाडीले कुल्चिँदासमेत सहन सक्ने उनी बताउँछन्।
'टायल जोड्दा एकअर्कामा अडिने इन्टरलक प्रणाली भएकाले पानी चुहिने समस्या हुँदैन। छानामा हावाको आवतजावतका लागि खाली ठाउँ हुन्छ,' निरजले भने।
यसले घरभित्रको तापक्रम घटाउन मद्दत गर्ने र वर्षामा छानाबाट आउने आवाजसमेत कम गर्ने उनको भनाइ छ।
टायल माइनस ५० डिग्रीदेखि ५० डिग्री सेल्सियससम्मको तापक्रममा पनि आकार परिवर्तन नगरी प्रयोग गर्न सकिन्छ। आगो लागेमा प्लास्टिक पग्लिएर डल्लो बन्ने भएकाले आगो फैलिने सम्भावना कम हुने निरजले बताए।
'यी विशेषता र टिकाउपनका कारण परम्परागत टायलभन्दा दोब्बर टिकाउ हुन्छ,' उनले भने।
इन्जिनियरिङ पढेर नेपाल फर्किएपछि जिप्सन टायल उत्पादन गर्न थालेका निरजलाई सुरुमा परिवारकै सदस्यहरूले प्रश्न गर्थे। विदेशमा पढ्न त्यति धेरै पैसा खर्च गरेर पनि किन टायल बनाउने काममा लागेको भन्ने जिज्ञासा थियो।
व्यवसाय सफल हुँदै गएपछि सबैले कामको प्रशंसा गरे।
'पहिला मलाई आफन्त र घरपरिवारले नै त्यत्रो खर्च गरेर विदेशमा इन्जिनियर पढेर पनि के गरी बसेको होला भन्थे,' निरजले भने, 'मैले काम नलाग्ने फोहोरबाट रंगीन टायल बनाउन थालेपछि सबैले वाह भन्न थालेका छन्।'



