जसले व्यवसाय हुर्काए
अचार नेपाली भान्साको स्वादिलो परिकार मात्रै होइन, घर र आफ्नोपनको सम्झना दिलाउने स्वाद पनि हो।
यही स्वाद र सम्झनालाई आफ्नो पहिचान बनाउँदै अघि बढिरहेको छ—घरको अचार।
काठमाडौंको थापागाउँ निवासी आमा कमला श्रेष्ठ र छोरा रोहन श्रेष्ठले आठ वर्षअघि सुरू गरेको यो व्यवसायले मासुको अचारलाई आफ्नो मुख्य उत्पादन बनाएको छ।
सुरूदेखि नै उनीहरूले मासुको अचारलाई प्राथमिकता दिए।
'त्यति बेला बजारमा मासुको अचार एकदमै कम थियो। ठूला सुपरमार्केटमा पनि मासुको अचार धेरै देखिँदैनथे,' कम्पनीका सहसंस्थापक रोहनले भने।
बजारमा देखिएको यही खाली ठाउँलाई अवसरका रूपमा लिँदै घरको अचारले विभिन्न स्वादका मासुको अचार उत्पादन गर्न थाल्यो।
अहिले यहाँ बफ, चिकेन, फिस, मटन र पोर्कका अचार पाइन्छन्। भेजतर्फ डल्ले खुर्सानी, आँप, लप्सी, मुला, कागती, मिक्स भेजिटेबल (तरकारी), मेथी, च्याउ र टिमुरको छोप लगायतका अचार उत्पादन हुन्छन्।
तर, घरको अचारको मुख्य पहिचान भने मासुको अचार नै हो। कुल बिक्रीमा यसको हिस्सा करिब ७० देखि ८० प्रतिशत रहेको रोहनले जानकारी दिए। उनीहरूको उद्देश्य मासुको अचारको बजार विस्तार गर्नुमा मात्रै सीमित छैन। स्वादसँगै स्वस्थकर र हेर्दै खाऊँखाऊँ लाग्ने अचार बनाउनु पनि प्राथमिकतामा छ।
'खानेकुरा सबैभन्दा पहिले हाम्रो आँखाले खान्छ। आँखाले हेर्दा खाऊँखाऊँ हुनुपर्छ,' रोहन भन्छन्, 'त्यसैले हामीले तेल कम देखिने, मासु र मसला छुट्टिने तथा स्न्याक्सजस्तो देखिने बनाएका छौं।'
नामै 'घरको अचार' राखिएकाले स्वादमा पनि घरकै अनुभूति दिने प्रयास उनीहरूले गरेका छन्।
'हामी अदुवा, लसुन तथा अन्य मसला सिलौटामा पिस्छौं। त्यसले स्वादमा अझै मिठास थप्छ,' उनले भने।
घरको अचारको जग भने रोहनकी आमा कमलाले राखेकी हुन्।
कमलाले खाद्य प्रशोधन सम्बन्धी तालिम लिएकी थिइन्। तालिमपछि उनी घरमा कहिलेकाहीँ जाम बनाउँथिन्, तरकारी तथा फलफूल सुकाएर पछि प्रयोग गर्न राख्थिन्। बेकरीका परिकार र अचार पनि बनाउँथिन्।
उनले बनाएको अचार परिवार र आफन्तले पनि मनपराउँथे।
पछि रोहनले बिबिए पढ्दै गर्दा कलेजको 'स्मल बिजनेस एन्ड आन्ट्रप्रेनरसिप' विषयको परियोजनामा आमाले बनाएको अचारको अवधारणा प्रस्तुत गरे। त्यहीँबाट यसलाई व्यावसायिक रूपमा अघि बढाउने सोच बन्यो।
'ममीले बनाएको अचार खानेहरूले मिठो मानेका थिए। त्यसैले सन् २०१८ देखि हामीले व्यावसायिक रूपमै अचार बेच्न थाल्यौं,' उनले सुनाए।
रोहनका अनुसार सुरूमा उनीहरूले बफ र चिकेन अचार बनाए। त्यति बेला सामाजिक सञ्जालमा अहिले जस्तो व्यावसायिक विज्ञापनको प्रतिस्पर्धा थिएन। उनीहरूले फेसबुकका विभिन्न स्थानीय तथा सामुदायिक समूहमा आफ्ना उत्पादनबारे जानकारी राखे।
बिस्तारै अर्डर आउन थाल्यो। तर, करिब दुई वर्षसम्म यो पूर्णकालीन व्यवसायभन्दा पार्टटाइम कामजस्तै रह्यो। कोभिड महामारीपछि भने व्यवसाय विस्तार गर्ने अवसर मिलेको रोहनले बताए।
त्यति बेला मानिसहरू बाहिर गएर सामान किन्न सक्ने अवस्थामा थिएनन्। अनलाइनबाट सामान मगाउने क्रम बढिरहेको थियो। घरको अचार सुरूदेखि नै अनलाइनमा केन्द्रित भएकाले यही परिवर्तनले व्यवसायलाई गति दियो।
'कोभिडमा माग धेरै बढ्यो। त्यसपछि कर्मचारी राख्यौं। उत्पादनहरू पनि थप्यौं,' उनले भने।
व्यवसाय विस्तार हुँदै गए पनि घरको अचारले स्वाद र गुणस्तरमा कमी आउन नदिन थोरै थोरै परिमाणमा उत्पादन गर्दै आएको छ। एक खेपमा १० किलोभन्दा बढी अचार नबनाउने रोहनले बताए।
घरको अचार सामाजिक सञ्जालमार्फत अर्डर गरेर किन्न सकिन्छ। काठमाडौंको बानेश्वर र ललितपुरको झम्सिखेलमा रहेको यसको आफ्नै पसलमा पनि पाइन्छ। काठमाडौं उपत्यकाभित्र घरको अचारकै डेलिभरी टोली छ। कम्पनीले दिउँसो १ बजेसम्म अर्डर गर्ने ग्राहकलाई सोही दिन सामान पुर्याउँछ।
हाल उत्पादन, डेलिभरी र ग्राहक सेवामा गरी १२ जनाले रोजगारी पाएका छन्।
'व्यवसाय बढ्नु भनेको उत्पादन र बजारको आकार मात्र बढ्नु होइन, त्यसको आधार पनि बलियो हुँदै जानु हो,' रोहन भन्छन्, 'त्यसैले घरको अचारले बजार विस्तारलाई पनि उत्पादन क्षमता र गुणस्तरकै गतिसँग जोडेर अघि बढाइरहेको छ।'
अहिले घरको अचारको मुख्य बजार नेपालमै केन्द्रित छ। थोरै परिमाणमा हङकङ र बेलायतमा पनि पुग्न थालेको छ।
तर, लामो समयसम्म राख्न मिल्ने गरी 'प्रिजर्भेटिभ' नहालिने भएकाले टाढाका बजारमा अचार पठाउन चुनौती रहेको रोहनले बताए।
त्यसैले बजार विस्तार गर्ने क्रममा उत्पादनको प्रकृति र आफ्नो क्षमतालाई ध्यानमा राखेर अघि बढ्ने उनको योजना छ।