बिहान झिसमिसे उज्यालो हुन नपाउँदै प्रताप गिरीको दिन सुरू भइसकेको हुन्छ।
भैरहवाको बैंकरोड बस्ने ४८ वर्षीय प्रताप एकाबिहानै मैदा माडिरहेका हुन्छन्। अघिल्लो साँझ भिजाएर राखेको मटर कुकरमा बसाल्छन्।
त्यसपछि मैदा माडेर डोनट बनाउने सामग्री ठेलामा राख्छन् र भीम अस्पताल अगाडिको सडक पेटीतर्फ लाग्छन्।
बिहान ३ बजेदेखि सुरू हुने उनको व्यस्तता ११ बजेसम्म चल्छ। डोनट तारिएको बास्नासँगै ग्राहकको भीड बढ्न थाल्छ। डोनट निकाल्न नपाउँदै ग्राहकको हातमा पुगिसक्छ।
स्याङ्जाको पुतलीबजारबाट कामको खोजीमा आएका प्रतापले भैरहवामा पसिना बगाउन थालेको १५ वर्ष भइसकेको छ। पछिल्ला तीन वर्षदेखि उनी बैंकरोडमा सामान्य ठेलामा डोनट, मटर र चिया बेचिरहेका छन्।
प्रतापले पाककलाको सीप सानैमा बुबा लक्ष्मीकान्तबाट सिकेका हुन्।
'बुवा भारतमा ढाबामा काम गर्नुहुन्थ्यो। उहाँले पसिना बगाएको देखेरै हुर्किएँ,' उनले भने, 'उहाँकै कामबाट प्रभावित भएर मैले खानेकुरा बनाउने पेसा रोजेँ।'
बुबा अहिले बितेर गइसके। उनले सिकाएको सीपलाई प्रतापले गुजाराको आधार बनाएका छन्।
सुरूमा प्रतापको ठेलामा रोटी, परौठा, पकौडा, चाउमिन, मःम लगायत परिकार पाक्थे। ग्राहकलाई धेरै विकल्प दिन सके व्यापार राम्रो होला भन्ने उनको सोच थियो।
तर धेरै परिकार पकाउन र खर्चको हिसाब मिलाउन कठिन थियो।
'धेरै प्रकारका खाजा बनाउन समय र मेहनत दुवै बढी लाग्थ्यो। श्रीमान–श्रीमती दिनभर खटिएर व्यापार गर्दा पनि साँझ हिसाब गर्दा लगानी र श्रम अनुसारको बचत निकै कम हुन्थ्यो,' उनले भने।
धेरै परिकार बनाउँदा मेहनत बढ्ने, सो अनुसार आम्दानी नबढ्ने भएपछि उनीहरूले अर्को उपाय रोजे— थोरै परिकारमा ध्यान केन्द्रित गर्ने।
यही क्रममा उनीहरूले डोनट बनाउन थाले।

डोनट बनाउने निर्णय गरे पनि सुरूआती दिन सहज थिएनन्। ग्राहकको रोजाइमा रोटी–तरकारी र परौठा नै हुन्थ्यो। डोनटले बजारमा आफ्नो पहिचान बनाइसकेको थिएन।
'कहिलेकाहीँ त पकाएका दुई–चार वटा डोनट र भिजाएको एक–डेढ किलो मैदा पनि त्यत्तिकै रहन्थ्यो,' प्रतापले पुराना दिन सम्झिए, 'ग्राहकले अर्डर नै नगरेपछि बाँकी रहेको मैदा पकाएर आफैं खान्थ्यौं।'
तर उनले डोनट बनाउन छाडेनन्। ग्राहकले पनि यसको स्वाद लिन र चिन्न थाले। तातो तेलमा तारिएको डोनट र मटरको तरकारी ग्राहकको रोजाइमा पर्न थाल्यो।
बिस्तारै रोटी र परौठाको तुलनामा डोनटको माग बढ्दै गयो। कुनै समय बिक्री नभएर बाँकी रहने डोनट अहिले माग धान्नै मुस्किल हुने परिकार बनेको छ।
पहिलो दिन एक किलो मैदा पनि खेर गएको थियो। केही सातामै पाँच किलो र त्यसपछि १० किलो मैदा चाहिन थाल्यो। अहिले सामान्य दिनमा ४० किलो र ग्राहकको चाप बढी हुने दिनमा ५० किलोसम्म मैदाको डोनट बनाउँछन्।
प्रतापको अनुमानमा एक किलो मैदाबाट १५–१६ वटा डोनट बन्छन्। त्यस अनुसार दैनिक ४० देखि ५० किलो मैदाबाट ६०० देखि ८०० वटासम्म डोनट तयार हुन्छन्।
'कति पाके भनेर गन्ने फुर्सद कहाँ हुनु,' उनी हाँस्दै भन्छन्, 'कराईबाट निकाल्न भ्याइएको हुँदैन, ग्राहक लाइनमा हुन्छन्। मेरो अनुमानमा दिनमा ६–८ सय वटा पुग्छन् होला।'
उनको ठेलामा डोनटसँगै मटरको तरकारी र चिया पाइन्छ। बिहानको केही घण्टामै दुई सय कपभन्दा बढी चिया बिक्ने उनी बताउँछन्।
सडक छेउको फोटो स्टुडियोको सटर अगाडि बिहान ५ बजेदेखि ११ बजेसम्म डोनट तार्ने, मटर पस्किने र चिया बनाउने काम निरन्तर चलिरहन्छ।
व्यापारको तयारी भने बिहान ३ बजेदेखि नै सुरू हुन्छ। प्रताप उठेर हातमुख धोएर सिधै भान्सामा पस्छन्। अघिल्लो साँझ भिजाएर राखेको मटर कुकरमा पकाउन बसाल्छन्। त्यसपछि मैदा माड्छन्। आवश्यक तयारी पूरा गर्दागर्दै बिहानको ४ बजिसकेको हुन्छ।
तयार सामग्री ठेलामा राखेर उनी बैंकरोड पुग्छन्। त्यहाँ ग्यास बालेर, तेल तताएर डोनट पकाउन थाल्छन्।
'कहिलेकाहीँ तेल तातिसकेको हुँदैन, ग्राहक आइसकेका हुन्छन्। अनि म आफै ढिलो पुगेँ कि जस्तो लाग्छ,' उनी भन्छन्।
बिहानै अस्पताल जाने बिरामीका आफन्त, कर्मचारी, यात्रु र अन्य सर्वसाधारणका लागि उनको ठेला खाजा खाने सजिलो ठाउँ बनेको छ। व्यस्त सडक र नजिकै रहेको भीम अस्पतालका कारण पनि बिहान ग्राहकको चाप बढी हुन्छ।
यति धेरै डोनट बनाए पनि सबै ग्राहकलाई खुवाउन सधैं सम्भव हुँदैन। दैनिकजसो केही ग्राहक डोनट सकिएकाले रित्तै फर्किन्छन्।

हावाहुरी चल्दा वा पानी पर्दा सडक पेटीमा ठेला राखेर व्यापार गर्न कठिन हुन्छ। त्यस्तो बेला उनी घरपछाडिको खाली ठाउँमा डोनट पकाउँछन्। डेरा नजिकै भएकाले ठेला ल्याउन र लैजान पनि सजिलो छ।
'सडक पेटीमा ठेला राख्न फोटो स्टुडियो सञ्चालकले सहजै ठाउँ दिएका छन्,' उनले भने।
प्रतापको यो यात्रामा उनकी श्रीमती लक्ष्मीले पनि साथ दिँदै आएकी थिइन्। श्रीमान–श्रीमती बिहानैदेखि साँझसम्म सँगै खटिन्थे। व्यापार र घरपरिवारको जिम्मेवारी दुवैले बाँडेर सम्हाल्थे।
तर दुई वर्षअघि लक्ष्मीको निधन भयो। त्यसयता प्रतापको जीवन र दैनिकी फेरिएको छ। सबै जिम्मेवारी उनको एक्लो काँधमा आएको छ।
श्रीमती बितेपछि उनले ठेलाको व्यापार चलाउन तीन जना सहयोगी राखेका छन्।
'श्रीमती हुँदासम्म दुई जना मिलेर बिहानैदेखि साँझसम्म काम गर्थ्यौं,' उनले भने, 'एक्लै भएपछि भ्याइँदैन। अहिले बिहान मात्रै ठेला चलाउँछु।'
प्रतापका अनुसार हाल डोनट, तरकारी र चियाबाट उनी दैनिक २० हजार रूपैयाँभन्दा बढीको कारोबार गर्छन्।
'खर्च कटाएर दैनिक आठदेखि १० हजार रूपैयाँसम्म बचत हुन्छ,' उनले भने, 'मैले बनाएको डोनट खान भैरहवा बजारका मात्रै होइन, मणिग्राम र बेलहियाबाट पनि ग्राहक आउँछन्।'
ठेलामा चिया, डोनट बेचेरै उनले आफ्ना तीन जना छोराछोरीलाई राम्रो शिक्षा दिएका छन्।
'जेठी छोरी प्रकृतिलाई उच्च शिक्षाका लागि लन्डन पठाएको छु। अरू दुई जना साना छन्, भैरहवामै पढ्छन्,' उनले भने।
ग्राहकको विश्वासले उनको व्यापारलाई स्थानीय क्षेत्रभन्दा बाहिरसम्म चिनाएको छ। तर बढ्दो माग अनुसार व्यवसाय विस्तार गर्ने उनको चाहना अझै पूरा भएको छैन।
उनी ठेलाको व्यापार व्यवस्थित बनाएर अगाडि बढ्न चाहन्छन्। त्यसका लागि उपयुक्त सटर खोजे पनि अहिलेसम्म पाउन सकेका छैनन्।
'सटर पाए व्यापार व्यवस्थित गर्न र ग्राहकलाई अझ सहज सेवा दिन सकिन्थ्यो होला भन्ने लाग्छ,' प्रताप भन्छन्।
