'यो पास्नीको ड्रेस त मेरो पालामा पनि यही लगाएको हो, अहिले पनि यही नै रहेछ!'
मामाको पसलमा आउने ग्राहकले पास्नीका लुगा हेर्दै बारम्बार गर्ने यही टिप्पणीले क्रिस्टिना खड्काको ध्यान तान्थ्यो।
एउटै किसिमका डिजाइनमा सीमित पास्नीका लुगामा केही नयाँ गर्न सकिँदैन— ग्राहकको यही गुनासोले उनलाई फरक सोच्न प्रेरित गर्यो।
त्यति बेला उनी प्लस टू पढ्दै थिइन्। सानैदेखि व्यापारमा रूचि राख्ने क्रिस्टिनाले ग्राहकको गुनासोलाई सम्भावनाका रूपमा हेरिन्। बजारमा पास्नीका लुगाका नयाँ डिजाइन पाइन्छन् कि पाइँदैनन् भनेर उनी महाबौद्ध र न्युरोडका पसल चहार्न थालिन्।
जहाँ पुगे पनि परम्परागत शैलीका उस्तै डिजाइन बढी देखिन्थे। उनले मौलिक र फरक डिजाइन भेटिनन्।
बजारमा आफूले खोजेजस्तो विकल्प नपाएपछि उनले आफै त्यस्तो डिजाइन बनाउने सोचिन्।
स्कुल पढ्दादेखि नै कापीमा पेन्सिलले विभिन्न बुट्टा कोर्ने उनको बानी थियो। त्यही रूचिलाई व्यवसायसँग जोडेर पास्नीका लुगामा आफ्नै हातले बनाएका बुट्टा उतार्ने निर्णयमा उनी पुगिन्।
'कापीमा पेन्सिलले केही न केही बुट्टाहरू बनाइरहने मेरो बानी थियो,' उनले सुनाइन्, 'पास्नीको ड्रेसको पनि त्यस्तै बुट्टा बनाउन थालेँ।'
आफ्नो सोचलाई काममा बदल्न उनले धेरै लगानी जुटाउनुपरेन। पकेट खर्चबाट बचाएको २५ सय रूपैयाँले कपडा र आवश्यक सामग्री किनिन्।
आफ्ना स्केच र डिजाइनका नमूना तयार पारिन्। मामाको पसलमा आउने ग्राहकलाई ती नमूना देखाइन्। धेरैले मनपराए। त्यसपछि अर्डर आउन थाल्यो। ग्राहकले पास्नीका लुगामा खोजिरहेको नयाँपन नै उनका लागि व्यवसाय सुरू गर्ने आधार बन्यो।
अर्डर आउन थालेपछि क्रिस्टिनाले काम थप व्यवस्थित बनाउँदै लगिन्। दुइटा सेकेन्डह्यान्ड सिलाइ मेसिन घर ल्याइन्। पास्नीका लुगा सिलाउन तीन जना सहयोगी पनि राखिन्।
सन् २०१९ मा उनले 'हाम्रो अनलाइन स्टोर' नामबाट आफ्ना उत्पादन अनलाइनमा राखेर बेच्न थालिन्। लगत्तै कोरोना महामारीका कारण लकडाउन भयो। तर व्यापारमा धेरै असर परेन।
'लकडाउनका बेला पनि पास्नीको लुगाको चाहिँ अर्डर आउँथ्यो,' उनले भनिन्।
त्यति बेला उनको ध्यान पास्नीका लुगामै केन्द्रित थियो।
व्यवसायले सन् २०२३ मा नयाँ ब्रान्डको पहिचान पायो— क्रिस्टल बाई क्रिस्टिना।
यो नाम उनले आफै रोजेकी भने होइनन्। उनका नियमित ग्राहकहरूले उत्पादनको गुणस्तर र नयाँपन मन पराएर 'क्रिस्टल' नाम सुझाएको उनले सुनाइन्।
'क्रिस्टल भनेको मेरा लागि ग्राहकहरूको माया हो,' उनले भनिन्, 'उहाँहरूले आफै दिनुभएको नाम हो।'
ग्राहकले दिएको नामलाई नै ब्रान्ड बनाएकी क्रिस्टिनाले पछि 'क्रिस्टल इन्टरनेसनल ट्रेडिङ' का रूपमा कम्पनी दर्ता गरिन्। व्यवसाय थप व्यवस्थित बनाउँदै लगेकी उनले त्यसपछि फेसन डिजाइनिङको पढाइ पनि सुरू गरिन्।
पढाइकै सिलसिलामा सन् २०२४ मा भारतमा आयोजित 'ग्लोबल टेक्स एक्स्पो' मा सहभागी हुने अवसर पाइन्।
एक्स्पोमा कपडा र ढाका बुन्ने ठाउँहरूको अवलोकन गरेपछि क्रिस्टिनालाई नेपाली ढाकालाई नयाँ ढंगले प्रयोग गरी व्यवसायसँग जोड्ने सोच आयो।
नेपाल फर्किएर उनले ढाकामा नयाँ ढाँचा र डिजाइन तयार पार्न थालिन्। परम्परागत ढाकालाई आधुनिक पहिरनमा ढाल्दै उनले फ्रक, चोली, कुर्ता–सुरूवाल, सल, स्कार्फ लगायत सामग्री बनाउँदै आएकी छन्। बच्चादेखि वयस्कसम्मका लागि पहिरन तयार पार्ने क्रिस्टिनाले ग्राहकको रोजाइ अनुसार डिजाइन र सिलाइमा परिवर्तन गरिदिन्छिन्।
पछिल्लो समय विशेषगरी चाडपर्व र पारिवारिक समारोहमा एउटै परिवारका सदस्यले मिल्दोजुल्दो रङ र डिजाइनका पहिरन लगाउने गरी अर्डर दिने क्रम बढेको उनको भनाइ छ।
क्रिस्टल बाई क्रिस्टिनामा अहिले ग्राहकले पास्नीका १०० भन्दा बढी नयाँ डिजाइनका लुगा पाउँछन्। ढाकामा १० देखि १५ प्रकारका डिजाइन उपलब्ध छन्।
'अब बिस्तारै डिजाइन थप्छु तर ढाकाभन्दा बाहिर जाँदिनँ,' उनले भनिन्।
बानेश्वरस्थित आफ्नै घरबाट सुरू भएको क्रिस्टिनाको व्यवसाय अहिले कलंकीस्थित कारखानासम्म विस्तार भएको छ। कारखानामा ३० जनाले रोजगारी पाएका छन्। तीमध्ये केहीले कारखानामा बसेर र केहीले घरमै लगेर कपडा सिलाउँछन्।
व्यवसायमा क्रिस्टिनालाई उनकी बहिनीले साथ दिँदै आएकी छन्। दुवैको फेसन डिजाइनिङ सम्बन्धी पढाइले नयाँ डिजाइन तयार पार्न सहज भएको उनले बताइन्।
'मैले फेसन डिजाइनिङमा डिप्लोमा गरेको छु। बहिनीले ब्याचलर गरेकी छिन्। त्यसैले सहज भएको छ,' उनले भनिन्।
क्रिस्टल बाई क्रिस्टिनाका उत्पादन अहिले नेपालबाहिर अस्ट्रेलिया, जापान र अमेरिकासम्म पुगिरहेका छन्। पास्नीका लुगाको माग नेपालमा बढी भए पनि ढाकाका आधुनिक पहिरन विदेशमा रहेका नेपालीमाझ लोकप्रिय रहेको उनले बताइन्।
नेपाल र विदेशबाट आउने अर्डरको अनुपात अहिले करिब ५०–५० प्रतिशत छ।
व्यवसाय सुरू गर्दा आफ्ना नयाँ डिजाइन ग्राहकले रूचाउलान् कि नरूचाउलान् भन्ने अन्योल रहेको क्रिस्टिना सम्झिन्छिन्।
'तर ग्राहकबाट पाएको सकारात्मक प्रतिक्रियाले मलाई निरन्तर काम गर्न हौसला दियो,' क्रिस्टिनाले भनिन्।