प्रायः म बेलुका ६ बजेतिर तरकारी किन्न जान्छु। शनिबार घट्टेकुलो चोकमा तरकारी किन्न अलि चाँडै नै गएँ। बिदाको दिन भएकाले म त्यो दिन चाँडै गएको थिएँ। अरुबेला त्यही चोकबाट मैले ८ बजेतिर मात्रै तरकारी किन्ने गर्छु।
शनिबार करिब ६ बजेको हुँदो हो, मैले ४० रुपैयाँको आधा केजी बोडी र ९० रुपैयाँमा एक धार्नी आलू किनेँ। तरकारीको मूल्य बढेको हो? भनेर सोध्दा व्यापारीले ‘हो’ भन्यो। केही बढेको त रैछ नै। शनिबारको दिन नै खाना खाइसकेपछि यसो चोकतिर फ्रेस हुन निस्कएँ। त्यतिबेला साढे ८ जति बजेको थियो। मैले अघि तरकारी किनेको व्यापारी चिच्याउँदै थियो, ‘आलु लैजानुहोस् ७० रुपैयाँ धार्नीमा ।’
मैले सोधेँ ‘अघि किन ९० रुपैयाँ भनेको, खै मलाई पैसा फिर्ता दिनोस्’ उसले भन्यो ‘अघि तपाईले रोजेर राम्रा राम्रा आलु लैजानुभयो, तपाईले छाडेको आलु अहिले बेच्दैछु, त्यै भएर अलि सस्तो दिएको’ रे।
बेलुका ८ बजेपछि त्यही तरकारी वा फलफूलको मूल्य ब्यापारीले पहिलेको भन्दा कममा दिँदा रहेछन्। एउटै तरकारी वा फलफूलको मूल्य सुरुमा घटाउन नमान्ने ब्यापारीहरु साँझ छिप्पिँदै जाँदा भने मूल्य घटाउँदा रहेछन्।
फलफूलमा पनि मैले त्यस्तै भोगेको छु। त्यतिबेलै मैले ७० रुपैयाँको एक केजी आँप किनेँ। जवकि ६ बजेतिर त्यहाँ मैले कतै पनि १ सय रुपैयाँभन्दा कममा आँप किन्न पाएको थिएन।