चर्चित भारतीय गायक जुबिन गर्गले आफ्ना प्रशंसकहरूका लागि बिहीबार इन्स्टाग्राममा एउटा पोस्ट गरेका थिए। त्यही पोस्ट नै उनको अन्तिम सन्देश बनेको छ।
शुक्रबार ५२ वर्षको उमेरमा सिंगापुरमा स्कुबा डाइभिङ गर्ने क्रममा उनको निधन भयो।
उनको निधनसँगै भारतीय संगीत उद्योगमा शोकको वातावरण छाएको छ। जुबिन हालै एउटा कार्यक्रमका लागि सिंगापुर पुगेका थिए र त्यहीँबाट आफ्ना प्रशंसकका लागि इन्स्टाग्राममा पोस्ट गरेका थिए।
जुबिनले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा लेखेका थिए —
'सिंगापुरका साथीहरू, म तपाईंलाई २० र २१ सेप्टेम्बरमा सिंगापुरको सनटेकमा हुने चौथो 'पूर्वोत्तर भारत महोत्सव' मा निम्तो दिन चाहन्छु। आउनुहोस् र भारतको अद्वितीय भागको अनुभव लिनुहोस्। हामी उत्कृष्ट कृषि, हस्तकला, चिया, नृत्य, फेसन शो र साँझको सांगीतिक प्रस्तुति ल्याइरहेका छौं, जहाँ पूर्वोत्तर भारतका रक ब्यान्ड र र्यापरहरूले प्रस्तुति दिनेछन्। म पूरै फेस्टिभलमा सांस्कृतिक ब्रान्ड एम्बासेडरका रूपमा रहनेछु र २० तारिखको साँझ आफ्ना लोकप्रिय हिन्दी, बंगाली र आसामी गीत गाएर मनोरञ्जन गर्नेछु। म तपाईं सबैलाई निम्तो दिन्छु। यो शनिबार र आइतबार हुनेछ र प्रवेश निःशुल्क छ। सबै आउनुहोस् र हाम्रो समर्थन गर्नुहोस्। चियर्स!'
जुबिन गर्गले बलिउडमा धेरै उत्कृष्ट गीत गाएका छन्। खासगरी सन् २००६ मा इमरान हाश्मी र कंगना रनावतको फिल्म ग्याङ्स्टरको गीत 'या अली' ले उनलाई लोकप्रिय बनायो।
यो गीतका लागि उनलाई २००६ मा ग्लोबल इन्डियन फिल्म अवार्ड दिइएको थियो।
सन् २००७ मा उनको 'जिन्दगी' एल्बम रिलिज भएको थियो। त्यसपछि उनले बंगाली फिल्म 'मोन मने ना' को टाइटल गीत गाएका थिए। उनका लोकप्रिय गीतहरूमा या अली बाहेक सुबह सुबह, मै हूं डन, अब मुझको जीना, दिलरूबा आदि छन्।