जेन–जी आन्दोलनमा तोडफोड र आगजनीले क्षति भएका व्यक्तिगत भवन, व्यापारिक स्थल र सरकारी कार्यालय यतिबेला धमाधम पुनर्स्थापित हुँदैछन्।
र, त्यसलाई पुनर्स्थापना गर्न जेन–जी पुस्ता र स्थानीय नै जागरूक भइरहेका छन्।
मध्यपुर थिमीमा रहेको प्रहरी वृत्त पनि स्थानीयको जागरूकतामा जिर्णोद्धार भइरहेको छ। आगलागीले रङ उडेर फुंग भएको यो भवन यति बेला आफ्नै रङमा फर्किँदै गएको हामी देख्न सक्छौं।
बिहीबार दिउँसो प्रहरी परिसर पुग्दा कोही भवनमा रंगरोगन गरिरहेका थिए, कोही कुँचो लगाइरहेका। कोही प्लम्बिङ गर्दै थिए, कोही वायरिङ।
भवन प्रवेश गर्ने गेटको छेउमा 'प्रहरी वृत्त पुनर्स्थापनाका लागि आर्थिक सहयोग' भनेर लेखिएको थियो। एउटा भित्तामा चौकी बनाउन आर्थिक सहयोग गर्नेहरूको लामो सूची टाँसिएको थियो।
जेन–जी आन्दोलनको पहिलो दिन भदौ २३ गते भएको व्यापक दमन गरेका कारण प्रहरीप्रति सहानुभूति हराएकाले कार्यालय जलाइँदा पनि बचाउन कोही अघि नसरेको स्थानीय अनिश वैद्य बताउँछन्।
चौकी जलाउने समूहमा भने स्थानीयभन्दा बाहिरकै मान्छे बढी रहेको उनको भनाइ छ।
उनका अनुसार प्रहरीले दिनभरि चौकीको बचाउ गरे। रात परेपछि थप क्षति हुने डरले चौकी छाडेर हिँडे। त्यसपछि ८–९ बजेतिर प्रदर्शनकारीहरूले चौकी जलाएका थिए।
चौकी जलेपछि स्थानीयलाई त्यही रात प्रहरी चौकीको महत्त्व महसुस भएको उनी बताउँछन्।


'जेन–जी आनदोलन क्रममा थुप्रै कैदी जेलबाट भागेका थिए। कतिपय त हातहतियारसमेत लिएर हिँडे। त्यसले समाजमा लुटपाट र चोरीको डर थियो। जब यो डर महसुस भयो, हामीले प्रहरी चौकी जलाउनु गलत काम भयो भन्ने बुझ्यौं,' वैद्यले भने।
'प्रहरीसँग जनताको मुठभेठ भइरहन्छ। आन्दोलनमा हामी हान्छौं, उनीहरू पनि हान्छन्। प्रहरी र जनताको सम्बन्ध तितो–मिठो हुने भए पनि एकअर्कालाई दुवै चाहिन्छ। प्रहरी नभई समाज टिक्दैन र समाज नभई प्रहरी। त्यही भएर हामीले चौकी बनाउन स्थानीयलाई आहवान गर्यौं।'
अर्का स्थानीय महेश कारञ्जितले यसैमा थपे, 'सडक विस्तारको विरोधमा लाग्दा प्रहरीले हामीलाई कतिपटक थुनेका छन्। अहिले हामी त्यही चौकी पुनर्स्थापना गर्न लागिपरेका छौं।'
थिमिको चौकीमा आगजनी भएको पर्सिपल्टसम्म धुवाँ उडिरहेको थियो। टुटेफुटेका सामान यत्रतत्र थिए।
स्थानीयले सबभन्दा पहिला चौकी सफा गरे। भोलिपल्ट क्षतिको भर्पाइ के–कसरी गर्न सकिन्छ भनेर डिएसपीसँग छलफल गरे र भवन बनाउन रकम संकलन गर्न थाले।
उनीहरूले रङ पसल, वायरिङ, आल्मोनियम र ग्लास पसलबाट त उधारोमा पनि सामान ल्याएका छन्। पैसा संकलन भएपछि चुक्ता गर्ने भनेका छन्।
थिमि नजिकैको नीलबाराही मन्दिरसम्म पुग्ने बाटो बनाउने अभियानमा यसरी नै चन्दा संकलन गरेर काम गरेकाले यसपालि सहज भएको स्थानीय बताउँछन्।

अनिशका अनुसार अहिलेसम्म करिब ११ लाख रूपैयाँ संकलन भइसकेको छ। बिहीबार मात्र घरदैलो कार्यक्रममार्फत १ लाख ७५ हजार संकलन गरेको उनले बताए। त्यसमा थिमि मात्र नभई नजिकका सरस्वती खेल, नीलबाराही र गठ्ठाघरबाट पनि व्यक्तिगत र सामूहिक सहयोग प्राप्त भएको छ।
'आर्थिक सहयोगबाहेक कसैले फलामे ढोका त कसैले रङ पनि दिनुभएको छ। कसैले कम्प्युटर, डसना, प्लाई, टेबल–कुर्सी पनि सहयोग गर्नुभएको छ,' उनले भने, 'प्रहरी चौकी बनाउन सहयोग गर्नु भनेको प्रहरीसँग नजिक हुने अवसर पनि हो। हामीले स्थानीयमार्फत चौकी बनाउन खोज्नुको एउटा कारण प्रहरीले जनताप्रति र स्थानीयले प्रहरीप्रति अपनत्व राखोस् भनेर हो।'
अधिवक्तासमेत रहेका अनिशले अगाडि भने, 'प्रहरीलाई आपत् पर्दा उच्च ओहोदाका मानिस होइन, जनताकै साथ र सहयोग चाहिँदो रहेछ भन्ने उनीहरूले बुझून्। अब कुनै जोखिमपूर्ण निर्णय लिनुपर्दा जनतालाई ध्यानमा राखेर कदम चाल्ने अडान लिन सकून्। प्रहरीमा जनउत्तरदायी भावना आओस्।'
यसरी स्थानीयकै सहयोगमा प्रहरी चौकी बनाइँदा आपराधिक प्रवृत्तिका मानिस र जेलबाट भागेका कैदीको मनोबल घटेको हुनुपर्ने उनको अनुमान छ।
स्थानीयले यही आइतबारबाट सेवा सुरू हुने गरी प्रहरीलाई भवन सुम्पने तयारी गरेका छन्।
प्रहरी वृत्तका डिएसपी नवराज ढुंगानाका अनुसार उपत्यकाका प्रहरी वृत्तहरूमा मध्यपुर थिमिको भवन सबभन्दा ढिला तोडफोड र आगजनीमा परेको थियो। उनीहरूले रातको ९ बजेसम्म प्रदर्शनकारीको सामना गरे र रात परेपछि छाडेर गएका थिए।
'काठमाडौं उपत्यकाका सबै प्रहरी वृत्तले प्रदर्शनकारीसँग हार मानेर छाडेर गइसकेका थिए। हामीले छाड्ने बेला आफूसँग भएका हातहतियार, गोली, केही महत्त्वपूर्ण कागजात, मिसिल र कम्प्युटरहरू जोगाउन सक्यौं,' उनले भने, 'हामीसँग ११ वटा गाडी थिए, त्यसलाई पनि जोगाउन सफल भयौं।'
प्रदर्शनकारीले चौकीमा रहेका केही बाइक चोरेर लगेका थिए। तीमध्ये दुइटा बाइक फिर्ता ल्याइएको छ भने बाँकी अनुसन्धानमै छन्।
नवराजका अनुसार यहाँको वृत्त जलेपछि प्रहरीहरू क्षति नभएको बालकोट चौकीमा बस्दै आएका छन्। मुद्दामामिला जिल्लाले हेर्दै आएको छ।
'स्थानीय बासिन्दाले प्रहरी पनि मान्छे नै हुन् भन्ने जुन भावना लिएर काम गरिरहनुभएको छ, त्यो एकदम सराहनीय छ। उहाँहरूले छिट्टै हामीलाई भवन पुनर्स्थापना गरेर हस्तान्तरण गर्ने भन्नुभएको छ। त्यसपछि हामी यहीँबाट नियमित काममा फर्किनेछौं,' उनले भने।
***
