आफ्ना बा-आमा सबैलाई महान् लाग्नु स्वाभाविक हो। हामी अधिकांश छोराछोरी स्वभावमा मात्र ग्रहण गर्छौँ, व्यवहारमा भने उतार्न बिर्सिन्छौँ। हामीलाई जन्माएर यो धर्तीमा अवतरण गराउनु भएको छ त अहिले हामी आ–आफ्नो खुट्टामा उभिएका छौँ। कल्पना मात्र गरौँ त यदि उहाँहरू नहुने हो त म यो, मैले यो गरेँ भन्न कहाँ सक्छौँ र! अझ बा-आमाबाट टाढा रहेका सन्तानले म यस्तो विकसित देशमा बसेको छु भन्ने मौका कहाँ पो पाउँदा थियौँ र!
यहाँ कुरा सम्पन्न देशमा बसेका छोराछोरीको मात्र होइन, नेपालभित्र नै सँगै या कारणवश छुट्टिएर रहेका सन्तानको पनि गर्दै छु। आफ्नो आधा जीवन छोराछोरीको लालनपालनमा लगाउने प्रशस्त आमाहरू देखेको छु। हुन पनि आफू नखाएर सन्तानलाई खुवाउने सोच आफू आमा भएपछि थाहा हुँदो रहेछ।
यस्ता अनगिन्ती त्याग र समर्पण हाम्रा लागि हाम्रा आमा-बाले गर्नु भयो र हामीले हाम्रा सन्तानको लागि गर्दै छौँ। अनि त्यही सन्तानले आफ्ना आमा-बाको लागि सोची रहेका छन् त? अहँ! कदापि सोच्दैनन्। यहाँ करिब एक प्रतिशत सन्तानले आफ्ना बा-आमालाई घुम्नको लागि घुमाउन भनेर आफू गएको देश लग्दछन् त बाँकी सब आफ्ना सन्तान हेराउन लाने हुन। उहाँहरू बुढाबुढी हुनुभयो। कमाउने समयमा हामीलाई यो पुग्दैन कि, त्यो पुग्दैन कि भनी भनी आफ्ना रहरहरू त्यतिकै मारेर बाँच्नुभयो। हामीलाई रहर हुन्छ भने हामी पनि त तिनै बा-आमाका सन्तान हौँ नि, उहाँहरूलाई रहर छैन होला त! अवश्य छ तर देखाउन चाहँदैनन्। आफ्ना सन्तानले दुःखले कमाएको सम्पत्ति सकिन्छ कि भन्ने पिर गर्नुहुन्छ।
मेरो साथी मिना हाल फिनल्यान्डमा बस्दछिन्। उनी नेपाल पाँच/छ वर्षमा एक पटक आउँछिन् अनि आफ्नो छोराछोरी बुढासँग मस्तले नेपाल घुम्छिन्। अर्को पटक नेपाल आउँदा घुम्ने ठाउँ पनि फिक्स गरेर जान्छिन्। बाआमालाई फिनल्यान्ड लिएर गइन्। तर कतै घुमाएको, कतै रेस्टुरेन्टमा लगेर खुवाएको कतै कहीँ देख्न पाइएन। नेपालमा रहेका बाआमालाई हवाईजहाज चढ्नु नै ठुलो कुरा भयो। साथै आफ्ना नातिनातिनासँग छोराछोरीसँग रहनु नै अहोभाग्य भइसक्यो।
हुन पनि आफू र आफ्नो परिवार बच्चाबच्ची भइसकेपछि त्यही नै संसार लाग्दो रहेछ। त्यसैले जे जति रमाउने हो आफ्ना हुँदा रमाउने रहेछ। जब आफ्नाले अरूको हात समाउँछन् या भनौँ छोराले बुहारी अनि छोरीले ज्वाइँ बिहे गरेर बनाउँछन् तब उनीहरूको संसार अर्को भइसक्दछ। उनीहरूसँग साथ लागेर घुम्न पाउन धेरै नै गाह्रो हुन्छ।
यसो हेर्दा लाग्छ, हाम्रा बाआमा त्यो जमानाका पात्र हुन् जसले हामीभन्दा धरै सन्तान जन्माए अनि उही सन्तानको शिक्षा-दीक्षामा आफ्नो सारा जीवन खर्च गरे। आफ्ना रहर मारेर हाम्रा जिम्मेवारी पूरा गराउन दिनरात मेहनत गरे। आफ्ना छोराछोरी अमेरिका अस्ट्रेलिया जानु नै आफ्नो ठुलो उपलब्धि ठानेर घरखेत बेचेर भए नि पठाए। अहिले बुढेसकालमा एक्लै जीवन निर्वाह गर्न बाध्य छन्।
सबैका छोराछोरीले आमाबालाई छोडेको म भन्दिनँ तर यहाँ बहुसङ्ख्यक बाआमा एक्लाएक्लै जीवन निर्वाह गर्न बाध्य छन्। उता सन्तानको पनि आफ्नो जीवन निर्वाह गर्न पनि गाह्रो छ। आफ्नो देशमा त कम्ता संघर्ष गर्नु पर्छ झन् ती त अर्काको देश, काम नगरी आफ्नै नागरिक त भोकै बस्नुपर्छ भने हामी त गएर बसेका मान्छे। आफ्ना बाआमालाई लगेर राख्ने भनेको आफ्नो सन्तान हुर्काउन मात्र हो।
बच्चा हेर्ने ठाउँमा राख्दा आफ्नो कमाइभन्दा बढी पैसा खर्च गर्नु पर्दछ। बाआमा बुढाबुढी भइसक्नु भयो कतै जान आँट हुँदैन र छोराछोरीले जहाँ जता जाने भन्छन् त्यतै जाने हो। घर, खेत, बारी गरेर दिनहरू काटिरहेकालाई विदेशको बन्द कोठामा बस्न नातिनातिना हेर्न पनि गाह्रो हुन्छ र त छोराछोरी हुर्किने जेलसम्म बसेर आफ्नै भूमि फिर्ता हुन्छन्।
मेरा बाआमा त मेरा हुन् नि, कसरी कुन तरिकाले मनाउने जन्मेदेखि थाहा छ। त्यसैले छोराछोरीले आफ्ना बाआमालाई कर गर्न सकिन्छ न कि ज्वाइँले बुहारीले। घुमाउने डुलाउने भनेको आफ्नै सन्तानले हो, आफ्ना छोराछोरीले हो। तर पनि बाआमालाई जाम हामी कतै घुम्न भन्यो कि एउटै उत्तर आइहाल्छ, पैसा छैन। पैसा म हाल्छु नि भन्दा तेरो पैसा सकिन्छ भन्ने पिर पनि छ। आफ्नो सन्तानको उन्नति प्रगति हेर्ने रहर सबैको बाआमालाई छ।
घरमा ४/४ जना सन्तानको लालनपालनमा लगाउनु भयो। सानोमा कतै घुमेको, कतै फिल्म हेर्न गएको याद छैन। स्कुलबाट गए हो नत्र गइएन। आफूले लगे पो छोराछोरीले लान्छन् भनिन्छ तर हाम्रो बाआमाको केसमा यो कुरा लागु हुँदैन। मेरा मात्र होइन, सबैका बाआमा जो अहिले ६०/७० को हाराहारीमा हुनुहुन्छ, सबैको सन्तानले बाँचेको समय हो। अनि हामी अहिले हाम्रो समय बाचेका छौँ, थोर बहुत कमाएर, थोर बहुत रमाएर अनि थोर बहुत खाएर। मात्र यो भन्न चाहन्छु, त्यो रमाउने पाटोमा आफ्ना बाआमालाई पनि सामेल गराऊ।
हामी कमाउने भएदेखि सब जना मिलेर उपत्यकाका विभिन्न सहरमा बिदाको दिन पारेर घुम्न गइरह्यौँ। बिहे अघि पनि देशको विभिन्न जिल्ला घुम्न भनेर लिएर गएका थियौँ। त्यसपछि धेरै वर्षपछि परार साल पोखरा गइयो। हरेक वर्ष एक-एक ठाउँमा जाने भन्ने सोच छ। दिदीहरूको आ-आफ्नो समस्याले मैले आफैले यो वर्ष मुक्तिनाथ जाने योजना बनाए तर बाआमालाई लानलाई साँच्चै मलाई साह्रै गाह्रो थियो।
कोभिडमा मरेर बाँच्नु भएको मेरा बालाई त्यति माथि लान डर पनि थियो। फेरि भन्ने बित्तिकै कहाँ गइहाल्ने हुन् र सम्झाउन पर्यो। बल्ल बल्ल मान्नु भयो र गएपछि चाहिँ कान्छी छोरीले चार धाम घुमाए सरि आनन्द भयो रे। घुम्न, मिठो चिज खान कसलाई पो मन हुँदैन र! वर्षभरि कमाएको दुख गरेको यही आफ्नासँग थोर बहुत रमाउने त हो, घुम्ने हो नत्र त जीवन बाचेको के अर्थ!
पछि सन्तानका लागि सोच्ने दिन गए। हामी हाम्रा बाआमाभन्दा दुई कदम अगाडि भयौँ भने हाम्रा सन्तान हामीभन्दा चार कदम अगाडि छन्। उनीहरूका लागि हामीले जति नै बचत गरेर राखिदिए पनि त्यो थोरै नै हुन्छ। उनीहरूलाई राम्रो शिक्षा दिने हो, मन लागेका क्रियाकलाप गर्न दिने हो, खान लगाउनबाट वञ्चित गर्नु भएन। बेलाबेलामा उनीहरूलाई पनि सँगै लिएर जाने हो घुमाउन।
सात वर्षको मेरो छोराले मुक्तिनाथ देखेर आयो। संसार देखाउने रहर छ हेरौँ कति सक्दछु। आफूले कमाएको पाँच प्रतिशत आफ्नो लागि छुटाउने। हाम्रा लागि बाँचेका हाम्रा बाआमाको लागि छुटाउने। उहाँहरू मरेर गएपछि केही गर्न चाहेर पनि गर्न सकिँदैन। जे गर्ने हो बाचुन्जेल गर्ने। जिउँदा देवताको पूजा र सम्मान हरेक छोराछोरीले गर्ने हो त आमाबाले दुख पाउने थिएनन्।
सधैँ झैँ यो तीज र पञ्चमीको बिचको दिनमा हामी घुम्न जान्थ्यौँ। यो पालि दिदीको छोरा सानो भए नि दिदीले जाने भनेर पुष्पलाल पार्क जाने अनि फिल्म हेर्ने प्लान बनायौँ। पहिला त बुबा मान्नु भएन, म फिल्म हेर्दिनँ भन्नुभयो। पछि त हामीले जबरजस्ती लगेर गयौँ र हेरिसकेपछि धेरै नै खुसी हुनुभयो। माग्ने राजा फिल्म पनि राम्रो परिवार मिलेर हेर्न मिल्ने खालको, घुम्दा नि धेरै नै रमाइलो भयो। आमाको घुँडा दुखेको छ भन्दै हुनुहुन्थ्यो। हामीले घुम्दा हिँड्दा धन्न दुखेसो गर्नु भएन। यस्ता सानातिना पिर त बुढा भएका बाआमालाई लिएर जाँदा हुन्छ नै तर लिएर त जानु पर्दछ।
आफ्नासँग घुम्नुको मज्जा नै बेग्लै हुन्छ। लिएर जान त सासू-ससुरालाई नि मन त हुन्छ तर कर गर्ने अधिकार आफ्ना बाआमालाई जस्तो छैन। कम्ता मनाउनु पर्दछ। त्यसरी कहाँ हामीले सक्दछौँ र आफ्ना बाआमालाई जसरी।
म जति पटक जन्मघर जान्छु, आफ्नो उमेर सँगै बाआमा पनि बुढो हुँदै गइरहेको देख्दा एक खालको त्रास उत्पन्न हुन्छ। उहाँहरूसँगको दूरी कल्पना गर्दा नि मन भारी भएर आउँछ। अझ कति ठाउँ घुम्न लाने मन छ। समय बिताउन मन छ। अफिस, छोराको पढाइ, आफ्नो जिम्मेवारी सब चिजमा रुमलिदा बाआमालाई फोन गर्ने फुर्सद नि हुँदैन कहिलेकाहीँ। तर हरेक दिनको सुरुवात गर्दा धर्ती मातासँगै जन्म र कर्म दिने बाआमालाई नमन गर्दछु।