नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्षसम्म गफ चुट्ने काम मात्रै गरेको आरोप लगाएका छन्।
काठमाडौं क्षेत्र नम्बर ५ मा आज आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै महतले ओली सरकारले संस्थागत भ्रष्टाचार गरिरहेको पनि बताए।
‘ओली सरकारले मनपरितन्त्र चलाएका छन्,’ उनले भने, ‘संवैधानिक निकाय सरकारले जे चाहन्छ त्यही गर्नुपर्छ भन्ने मनपरि तरिकाले चलाएका छन्, यसले लोकतन्त्र सुरक्षित गर्दैन।’
नेकपाले नेपालमा विदेशी चलखेल बढाएको पनि उनको भनाइ छ।
‘नेपालमा विदेशी चलखेल बढ्यो। चीन र भारतका मानिस आइरहेका छन्। उनीहरू किन आइरहेका छन्? हाम्रो पक्षमा कि अर्को भन्ने साविती बयान लिन आइरहेका छन्,’ उनले भने, ‘यस्तो हुनु विडम्बनापूर्ण हो।’
ओली सरकारले आकाश पाताल जोड्ने गफ चुटे पनि काम नगरेको आरोप उनले लगाएका छन्।
‘दुई वर्षसम्म यो सरकारले आकाश पाताल जोड्ने कुरा गर्यो। गफ चुट्ने अनि काम गर्न पर्दैन?,’ उनले प्रश्न गरे, ‘कम्युनिष्टको बदमासीको भण्डाफोर गर्ने काम अब कांग्रेसको हो।’
प्रधानमन्त्री ओलीले रेल र पानीजहाज ल्याउने कुरा गरे पनि दुई वर्षसम्म सर्भेसमेत नभएको उनको भनाइ छ।
‘खोइ रेल र पानीजहाज? कुरैकुरामा जनतालाई रनभुल्लमा पार्ने? गफैले जनता अगाउँछन् भनेर गफ लगाइदिने?’ उनले प्रश्न गरे।
सरकारको अर्जुनदृष्टि नै सत्ता भएको उनले बताए।