प्रतिनिधि सभा बैठकबाट आज संघीय निजामति सेवा विधेयक पारित गर्ने कार्यसूची छ।
विधेयक संसदमा दर्ता भएको लामो समयपछि प्रतिनिधि सभाले पारित गर्न लागेको हो।
मंगलबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका लागि तय भएको कार्यसूचीमा उक्त विधेयक पारित गरिने उल्लेख छ।
सुरूमा सघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले छलफलका लागि प्रस्ताव पेश गर्नेछन्। छलफलपछि उनैले उक्त विधेयक पारितको प्रस्ताव पेस गर्नेछन्।
विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले लामो समय छलफल गरेर जेठ २ गते सर्वसम्मत रूपमा पारित गरी प्रतिनिधि सभामा पठाएको थियो।
त्यसमा कर्मचारीहरूको अवकाशपछिको 'कुलिङ पिरियड'को सबालमा लामो बहससमेत भएको थियो। अन्तिममा २ वर्ष कायम गरी संसदमा पठाइएको थियो।
कुलिङ पिरियडको विषयमा सत्तापक्षकै दलहरूबीच एकमत छैन। २ वर्ष राख्नुपर्नेमा कांग्रेस र एक वर्षको अवधी राख्नुपर्ने एमालेको अडान छ।
यही विषयलाई लिएर मंगलबार तय भएको कार्यसूचीबाट उक्त विधेयक पारितको विषय हट्न सक्ने सम्भावना पनि रहेको कांग्रेसका एक सांसदले बताए।
'कुलिङ पिरियड लगायतका विषयमा सरकारकै असन्तुष्टि छँदैछ। त्यसकारण आजको कार्यसूचीबाट हटाउन पनि खोजिएको छ,' ती सांसदले सेतोपाटीसँग भने।