इसराइलको कृषिकर्म र सहकारी अभ्यासबारे बुझ्ने उद्देश्यसहित आठ दिनअघि त्यहाँ पुगेका विराटनगरका मेयर नागेश कोइराला अहिले संसारकै ध्यान खिचेको भयानक युद्धको साक्षी बनिरहेका छन्।
मध्यपूर्वका दुई देश इसराइल र इरान बिहीबारदेखि युद्धमा होमिएका छन्। इसराइलले गरेको आक्रमणको बदलामा इरानले लगातार जबाफी हमला गरिरहेको छ। आधुनिक हतियारले सुसज्जित यी दुई देशबीच अनियन्त्रित रूपमा चलिरहेको गोलाबारीले विश्वकै टाउको दुखाइरहेका बेला नेपालबाट भ्रमण गर्न गएका मेयर कोइराला युद्धग्रस्त इसराइलमै अड्किएका छन्।
उनी इसराइली राजधानीबाट झन्डै ३० किलोमिटर दुरीमा रहेको सेफाइम सहरको एक सहकारी अतिथि गृहमा बसेका थिए। त्यहाँ उनीसहित विभिन्न मुलुकबाट गएका पाहुना पनि छन्। युद्ध सुरू भएको दिनदेखि उनीहरू सबै बंकरमा लुकेर बस्न बाध्य छन्। साइरन बज्नेबित्तिकै हुर्ररर बंकरभित्र छिर्छन्, साइरन थामिएपछि बाहिर निस्कन्छन्। घरीघरी बंकरभित्रै छिरिरहनु पर्ने भएकाले रातको धेरै समय बंकरभित्रै बित्छ उनको।
'बंकरभित्र र बाहिर गर्दै पाँच दिन बित्यो, अब त नेपाल फर्कन पाइने दिनको प्रतीक्षामा छु,' सोमबार दिउँसो सेतोपाटीसँग फोनमा कुरा गर्दै मेयर कोइरालाले भने, 'यो पाँच दिनमा जे भोगेँ, जे देखेँ; यस्तो त संसारका कसैलाई नपरोस् जस्तो लागिरहेको छ।'
इसराइलले बिहीबार इरानमाथि हमला सुरू गर्दा मेयर कोइराला त्यहाँ पुगेको तेस्रो दिन हुँदै थियो। उनी जेठ २६ गते इसराइल पुगेका थिए।
इसराइलकै विदेश मन्त्रालयको निमन्त्रणमा विश्वका अरू देशका जनप्रतिनिधिसहित त्यहाँ पुगेका उनीहरूलाई आधुनिक कृषि र सहकारीका नमूना स्थलहरू घुमाउने कार्यक्रम थियो।
'हरेक ठाउँमा तीन–तीन दिन घुम्ने, बस्ने र बुझ्ने अनि अन्तर्क्रिया गर्ने कार्यक्रम तय थियो,' कोइरालाले भने, 'सेफाइमको भ्रमण सकिएको मात्र थियो, इसराइलले इरानमाथि हमला सुरू गर्यो। त्यसलगत्तै देशैभर आपतकाल लाग्यो। अहिले हामी सेफाइमकै सहकारी अतिथि गृहमा बसिरहेका छौं।'
उनका लागि यी पाँच दिन जीवनकै सबभन्दा नौलो र त्रासद अनुभवका दिन बनेका छन्। यही त्रासद अनुभवबीच पनि उनी १७ जना फिलिपिनो जनप्रतिनिधिसँगै सकेसम्म रमाएर बस्ने प्रयास गरिरहेका छन्।
विराटनगरका मेयर नागेश कोइरालाले इसराइलको बंकरबाट पठाएको तस्बिर।
त्यसो त मेयर कोइरालालाई असाध्यै 'बिन्दास' स्वभावका व्यक्ति भनेर चिनिन्छ। विराटनगरमा मेयरकै कुर्सीमा बसिरहँदा पनि अनौपचारिक शैलीमा पेस भएर सबैसित हाँसोठट्टा गर्नु उनको विशेषता हो।
उनको यो बिन्दासपन युद्धग्रस्त इसराइली भूमिमा पनि कायम छ। फोन र भिडिओ कलमा कुराकानी भइरहँदा उनी निश्चिन्त सुनिन्थे। उनी भन्दै थिए, 'केही भइहाले भइहाल्छ, किन टाउको दुखाउनु? फिलिपिन्सका साथीहरूसँग रमाएर बसिरहेका छौं।'
नेपालमा महानगरको मेयर हुनु व्यस्तताको चुलीमा पुग्नुजस्तै हो। दिनरात व्यस्त रहने उनको दैनिकीमा यति बेला भने ठूलो ब्रेक लागेजस्तो भएको छ। उनका अनुसार बिहानदेखि राति अबेरसम्म त्यही अतिथि गृहकै कोठा र परिसरमा टहलिएर बितिरहेको छ।
'यहाँ त काम भनेकै खाने र सुत्ने मात्र छ,' उनले भने, 'दिनमा एकपटक इसराइली सरकारी टोलीसँग जुम मिटिङ हुन्छ। व्यस्तता भनेको त्यत्ति हो। सहरै थर्काउने गरी कति बेला साइरन बज्छ र बंकरभित्र छिरौं भन्ने अर्को व्यस्तताको कारण बनेको छ। त्यत्ति हो।'
विराटनगरमै जन्मे–हुर्केका कोइरालाले भारत र अस्ट्रेलियामा पढेका थिए। ती देशमा बस्दा उनले यस्तो युद्धबारे सुनेका थिए, देखेका थिएनन्। नेपालमा दशकभन्दा लामो समय चलेको माओवादीको सशस्त्र विद्रोहका कथा उनले दिनहुँजसो सुनेका थिए। तर विराटनगरमा त्यस्तो प्रत्यक्ष युद्धको अनुभव गर्नुपरेन। पाँच दिनयता उनले देखेको र भोगिरहेको नियति भने एकदमै त्रासद रहेको उनको भनाइ छ।
'यहाँ रातभर आकाशमा बिजुली चम्केजसरी चारैतिर उज्यालो पार्दै मिसाइलहरू घुमिरहेका हुन्छन्,' उनले भने, 'विराटनगरमा तिहार र छठ बेला पटाका र साना बमहरू पड्के जसरी ठूला बमका आवाज सामान्य लाग्न थालिसक्यो।'
उनका अनुसार इरानी पक्षले इसराइलतिर मिसाइल प्रहार गर्नेबित्तिकै सहरै थर्काउने गरी साइरन बज्छ। मोबाइलमा सन्देश पनि आउँछ।
'जस्तोसुकै गहिरो निन्द्रामा पर्ने मानिस पनि त्यो साइरनको आवाजले नब्युँझी छोड्दैन,' उनले भने, 'साइरन बजेको डेढ मिनेटभित्र सबै जना बंकरभित्र पुगिसक्छन्। बंकरभित्र पुगेको १०, १५ या २० मिनेटभित्र मोबाइलमा फेरि बाहिर निस्कनू भन्ने सन्देश आउँछ। त्यसपछि बाहिर निस्कने हो।'
पछिल्लो १२ घन्टाभित्र आफूसहितको टोली चारपटक बंकरभित्र छिरिसकेको जानकारी दिँदै उनले थपे, 'सुरू सुरूमा त कतिपटक बंकरमा पसियो भन्ने गन्दै थिएँ। अहिले त दिक्कै लाग्ने गरी पस्नुपर्छ, त्यसैले गन्नै छाडिदिएँ।'
इसराइलको प्रतिरक्षा प्रणाली आफूलाई बलियो र भरपर्दो लागेको उल्लेख गर्दै उनले त्यही प्रणालीले सुरक्षित रहन सकेको बताए।

गोलाबारी र विष्फोटका ठूला आवाज लगातार आइरहे पनि कहाँ, के, कति क्षति भयो भन्नेबारे धेरै थाहा हुन नसकेको उनको भनाइ छ। टेलिभिजन तथा अन्य सञ्चारमाध्यमले प्रसारण गर्ने सूचना पाइरहेको जानकारी दिँदै उनले भने, 'इसराइली सरकारसँग नियमित सम्पर्क पनि भइरहेको छ।'
इरान र इसराइलबीच युद्ध सुरू नभइदिएको भए आज सोमबार मेयर कोइराला नेपालका अरू जनप्रतिनिधिहरूसँगै इसराइलको नटानिया भन्ने ठाउँमा आधुनिक कृषि र सहकारीबारे बुझिरहेका हुने थिए। निर्धारित कार्यक्रमअनुसार शनिबार १४ तारिखको दिन नेपालको थप टोली त्यहाँ जाने तय भएको थियो। त्यो टोलीसँग कोइराला पनि मिसिने थिए। तर युद्ध सुरू भएपछि अरू नेपाली जनप्रतिनिधि नेपालमै रोकिए। पहिले नै इसराइल गइसकेका कोइराला भने उतै अड्किए।
'युद्ध सुरू भएपछि नेपालबाट आउने भनिएका अरू जनप्रतिनिधिहरू आउन पाउनुभएन,' उनले भने, 'म पनि युद्धकै कारण जाने भनिएका कुनै पनि ठाउँ जान पाइनँ।'
उनले विराटनगरमा रहेका परिवारजनसँग नियमित सम्पर्क भइरहेको बताए र आफ्नो परिचित शैलीमा भने, 'उनीहरू पनि आत्तिएका छैनन्, म पनि धेरै आत्तिएको चाहिँ छैन। आत्तिए पनि नडराई आत्तिइरहेको छु।'
हामीले मेयर कोइरालासँग कुराकानी गर्न उनलाई फोन गर्दा इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित पनि सँगै थिए। त्यही क्रममा राजदूत पण्डितसँग पनि हामीले कुराकानी गरेका छौं।
'एक्लै हुँदा न्यास्रिनुहोला कि भनेर म बेला बेला मेयरसाबलाई भेट्न आइरहेको छु,' राजदूत पण्डितले भने, 'अहिले पनि उहाँलाई भेटेर मात्र अफिस जाऊँ भनेर आएको हुँ। मान्नुभयो भने मेरै अफिसतिर जाऊँ भन्दैछु।'
राजदूत पण्डितले मेयर कोइरालालाई आफ्नै निवास जाऊँ भनेर पटक पटक अनुरोध गरिसकेका छन्। तर फिलिपिन्स र नेपाली टोलीको नेता बनेका कारण उनले आफ्नो टोली छाडेर राजदूतसँग हिँड्न मन गरेका छैनन्।
'टोली नेता बन्ने अनि साथीहरू छाडेर हिँड्ने कुरा त भएन नि!' उनले भने।
विराटनगरका मेयर नागेश कोइराला र इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित। तस्बिर स्रोत: नागेश कोइराला
राजदूत पण्डितका अनुसार अहिलेसम्म इसराइलमा रहेका सबै नेपाली सुरक्षित छन्। दुई देशको सरकारी कार्यक्रममार्फत् इसराइल पुगेका नेपालीको संख्या २ हजार जति छ। त्यसबाहेक कृषि क्षेत्रमा काम गर्न गएका ३५० जना छन् भने विद्यार्थी ७ जना छन्। त्यस्तै, भारतीय पासपोर्ट बोकेर गएका नेपालीको संख्या १ हजार हाराहारी छ। अन्य देशबाट इसराइल पसेका नेपालीहरू पनि छन्।
'इसराइलमा ५ देखि ७ हजार नेपाली होलान् भन्ने अनुमान छ,' राजदूत पण्डितले भने, 'तर यहाँ ठ्याक्कै कति नेपाली छन् भन्नेबारे नेपाल र इसराइल दुवैलाई थाहा छैन।'
इसराइलमा विभिन्न कामले बसिरहेका सबै नेपाली सुरक्षित रहेको उनले जानकारी दिए। परराष्ट्र मनत्रालयका अनुसार इरानमा पनि १२ जना नेपाली छन्। उनीहरू पनि अहिलेसम्म सुरक्षित अवस्थामै छन्।
राजदूत पण्डितले विराटनगरका मेयर कोइरालालाई अर्को कुनै छिमेकी देशको भिसा लगाएर सुरक्षित ठाउँमा पठाउन दूतावास लागिपरेको जानकारी दिए।
'यहाँबाट अढाई घन्टाको मोटर दुरीमा जोर्डनको सिमाना पर्छ। हिजो फिलिपिन्सको एउटा समूह जोर्डनतिरै गएको छ,' उनले भने, 'हामी पनि मेयरसाबलाई सकेसम्म जोर्डनको भिसा मिलाउने प्रयासमा छौं। भएन भने इजिप्टको भए पनि मिलाउने प्रयास गरिनेछ। यहाँ विमानस्थल खुल्ने सम्भावना पटक्कै देखिएन। त्यसैले यो प्रयासमा लागेका छौं।'
नियमित तालिकाअनुसार मेयर कोइराला जुन २० तारिखमा नेपाल फर्कने कार्यक्रम थियो। तर इसराइलका कुनै पनि विमानस्थल तत्काल खुल्ने सम्भावना नदेखेकै कारण अन्य विकल्प खोजी गरिएको राजदूत पण्डितले बताए।
'अब हामी यहाँको सरकारी टोलीसँग पनि छलफल गर्दैछौं,' उनले भने, 'उहाँलाई सकेसम्म छिटो सुरक्षित र लामो पर्खाइ नहुने ठाउँमा पठाउने कोसिस गरिरहेका छौं।'
***