प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै विरोधमा छन्। तर दुई दल आआफ्नै ढंगले अघि बढिरहेका छन्।
गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले सङ्गठित रूपमा पैसा उठाएको विषय भिजिट भिसा प्रकरणका रूपमा चर्चित छ।
एउटै मुद्दा भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरेको सहकार्यको प्रस्ताव अस्वीकार गरेको छ।
राप्रपाले भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै संसद बहिष्कार गरेको छ भने रास्वपाले नाराबाजी र वेल घेराउ गर्दै आएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भिजिट भिसा प्रकरणको छानबिनको इस्युमा दुवै दल एक ठाउँमा भए पनि कुराकानी नभएको बताएका छन्।
‘अहिले हामी इस्यूमा एकै ठाउँमा छौँ। तर आवश्यक पर्यो भने कुराकानी गरेर संयुक्त रूपमा पनि जान सक्छौँ,’ लिङ्देनले भने, ‘अहिले हामी आआफ्नो ढङ्गले यो विषयमा जोडिएका छौँ।’
तर राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले भिजिट भिसा प्रकरणमा आफूहरूले राखेको सहकार्यको प्रस्ताव रास्वपाले अस्वीकार गरेको सेतोपाटीलाई बताए।
‘मिलेर जान हामीले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग प्रस्ताव गर्यौँ,’ शाहीले सेतोपाटीसँग भने, ‘सहकार्य गरेपछि एकजुट भएर दुवै पार्टी वेल घेराउमा जान पनि सकिन्छ। सडक आन्दोलन गरे पनि सँगै गरौँला भनेर प्रस्ताव गरेको हो।’
जबाफमा परियारले भिजिट भिसा प्रकरणको मुद्दामा आफ्नो पार्टी एक्लै अघि बढ्ने बताएको शाहीले उल्लेख गरे।
रास्वपा नेतृत्वसँग कुराकानीको प्रयास सफल नभएको शाहीले दाबी गरे। राप्रपासँग सहकार्य गर्दा राजावादीको आरोप लाग्ने डरले रास्वपालाई सताएको शाहीको जिकिर छ।
राप्रपाले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संसदमा बोल्दा रास्वपाका सांसदहरू आफू उभिएको ठाउँबाट नबसेकोमा पनि चित्त दुखाएको छ। जबकि रास्वपाका प्रमुख सचेतक बोल्दा राप्रपाका सांसदहरू सिटमा बसेका थिए।
‘हाम्रो पार्टीका सांसद बोल्दा रास्वपाका सांसदहरू बसेनन्। जबकि उनीहरू बोल्दा हामी बस्यौँ,’ शाहीले भने, ‘रास्वपाले संसदीय धर्म निभाउन पनि जानेन।’
संसद बैठकमा वेल घेराउ गरेर नाराबाजी गरिरहेको रास्वपाले प्रतिपक्षी दलका सांसदहरू बोल्दा संसदमा नाराबाजी रोकेको थियो। तर राप्रपा प्रमुख सचेतक शाहीले रास्वपा सांसदहरूले माओवादीका सांसद बोल्दा नाराबाजी रोकेकोमा आश्चर्य प्रकट गरे।
‘माओवादीले धोका नदिएको भए सभामुखले पेल्न सक्दैन थिए। तर उही माओवादीलाई सपोर्ट गरिरहेका छन्। त्यसरी समर्थन गर्ने गलत कुरा भयो’, शाहीले भने, ‘साथ दिने प्रतिपक्षी बोल्दा विरोध जनाउने अनि धोका दिने माओवादी बोल्दा समर्थन गर्ने प्रवृत्ति देखियो।’
राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार संसदमा प्रतिपक्षी दलहरूले बोल्ने क्रम चलिरहँदा नाराबाजी रोकेको थियो। रास्वपाका सांसद मनिष झाले प्रतिपक्षी दलसँग एकताबद्ध रहेको देखाउन नाराबाजी रोकेको सेतोपाटीलाई बताए।
सांसद झाले संसदको अवरोधबाट पछि हटेको माओवादीलाई १८ दिन साथ दिएकोमा धन्यवाद दिएका थिए। उनले माओवादी केन्द्रसँग पारपाचुके भए पनि मायाप्रति कायम रहेको टिप्पणी गरेका थिए।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले रास्वपाका सांसद शाहीसँग फोनमा सामान्य कुराकानी भएको स्वीकार गरे। तर औपचारिक रूपमा सहकार्यको कुनै प्रस्ताव नआएको बताए।
‘हाम्रो पार्टीमा राप्रपासँग जोडिनु हुँदैन भन्ने मत बलियो छ,’ परियारले भने, ‘राप्रपा व्यवस्थाविरूद्ध छ। हाम्रो विरोधमा उहाँहरूले साथ दिने एउटा कुरा भयो तर आन्दोलनमा सहकार्य गर्नु हुँदैन भन्ने हाम्रो धारणा छ।’