अबिच्युरी
दसवर्षे सशस्त्र माओवादी द्वन्द्व क्रममा १७ हजारभन्दा बढीको ज्यान गयो। हजारौं घाइते भए। कयौं बलात्कृत।
सरकारी सुरक्षाकर्मी र माओवादी लडाकू दुवै पक्षबाट भएका हत्याहिंसा र मानवअधिकार उल्लंघनका घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै दस्तावेजमा दर्ज छन्।
तिनैमध्ये अमेरिकाको न्यूयोर्कस्थित मानवअधिकार संगठन ‘ह्यूमन राइट्स वाच’ (एचआरडब्लू) ले यससम्बन्धी पहिलो अन्तर्राष्ट्रिय दस्तावेज तयार पारेको थियो।
गौतम बुद्ध र सगरमाथाको देशका रूपमा संसारभरि चिनिने नेपालमा कम्युनिस्ट क्रान्तिका नाममा भइरहेको हत्याहिंसा र बलात्कारका श्रृंखलाबारे पहिलोपटक सघन रूपमा अन्तर्राष्ट्रिय जगतलाई अवगत गराउने उक्त दस्तावेजको श्रेय तेजश्री थापालाई जान्छ।
अन्तर्राष्ट्रिय मानवअधिकार अभियन्ता तथा अधिवक्ता थापा नेतृत्वको समूहले घटनास्थल भ्रमण र पीडित पक्षसँगको कुराकानीबाट गरेको वृहत अनुसन्धानकै आधारमा ह्यूमन राइट्स वाचले उक्त प्रतिवेदन तयार पारेको थियो।
मानवअधिकार संरक्षण अभियन्ताका रूपमा कम उमेरमै अन्तर्राष्ट्रिय ख्याति कमाएकी उनै तेजश्रीको ५२ वर्ष उमेरमा न्यूयोर्कमा मंगलबार निधन भएको छ।
पूर्व परराष्ट्रमन्त्री तथा कूटनीतिज्ञ भेषबहादुर थापा र पूर्व राष्ट्रसंघीय कर्मचारी रीता थापाकी छोरी तेजश्री ५२ वर्षकी थिइन्। उनको निधन आकस्मिक भएको बताइएको छ।
उनकी बहिनी मञ्जुश्री थापा लोकप्रिय लेखक हुन् भने छोरी माया यसै वर्ष अक्सफोर्ड विश्वविद्यालय पढ्न जाँदैछिन्। उनका भाइ इञ्जिनियर भाष्कर थापाको २०७० असारमा निधन भएको थियो।
तेजश्रीले माओवादी द्वन्द्व क्रममा भएका यौनहिंसा र शोषणमाथि पनि अनुसन्धान गरेकी छन्। साना बालिकाहरूमाथिको हिंसामा उनको सहानुभूति थियो।
ह्यूमन राइट्स वाचका अनुसार उनले माओवादी लडाकूहरूले भर्ती गरेकी एक किशोरीलाई सैनिक हिरासतमा भेटेकी थिइन्।
ती किशोरी दोहोरो भिडन्तमा परेर घाइते थिइन्। सैनिक हिरासतमा उनीमाथि थप दुर्व्यहार भइरहेका थिए।
यी सब देखेर तेजश्रीले आफूलाई सम्हाल्न सकिनन्।
सरकारी सुरक्षाफौजले हिरासतमा रहेको बन्दीलाई न्यायिक प्रक्रियामा लैजानुको साटो दुर्व्यवहार गरेको देखेपछि तेजश्रीले यसविरुद्ध आवाज उठाइन्।
सरकारी स्तरमा र कूटनीतिक रूपले समेत घटना उजागर गरेपछि बल्ल ती किशोरीमाथिको दुर्व्यवहार रोकिएको ह्यूमन राइट्स वाचले जनाएको छ।
तेजश्रीको मानवअधिकार संरक्षण अभियान नेपालमा मात्र सीमित थिएन। उनले बाल्कन, बंगलादेश र श्रीलंकाको द्वन्द्वमा पनि काम गरेकी थिइन्।
सन् १९६६ मा काठमाडौंमा जन्मेकी तेजश्रीलाई उनका परिवार र साथीभाइहरू ‘तेज’ भनेर बोलाउँथे। वेल्सली कलेज र कोर्नेल ल स्कुलमा पढेकी तेजश्री सन् २००४ मा ह्यूमन राइट्स वाचमा आबद्ध भएकी हुन्। उनी त्यहाँ दक्षिण एसियाका लागि वरिष्ठ अनुसन्धानकर्ता थिइन्।
मानवअधिकार कानुन, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय राजनीति, द्वन्द्वपछिको न्याय र पुनर्स्थापना लगायतमा उनको विशेषज्ञता थियो।
मानवअधिकार संरक्षण क्षेत्रमा उनको करिअरको सुरुआत महिला हिंसाविरुद्ध राष्ट्रसंघीय विशेष प्रतिनिधिका रूपमा भयो। यही क्रममा उनले राष्ट्रसंघीय मानवअधिकार आयोगका लागि श्रीलंकाको गृहयुद्धमा भएका लैंगिक हिंसामाथि अनुसन्धान गरेर प्रतिवेदन तयार पारिन्।
त्यसपछि तत्कालीन युगोस्लाभियाका लागि गठित अन्तर्राष्ट्रिय अपराध ट्राइब्यूनलमा काम गरिन्। हेगस्थित उक्त ट्राइब्यूनलमा झन्डै दस वर्ष काम गर्दा उनले यौनहिंसामाथि अनुसन्धान गरेकी थिइन्।
त्यहाँबाट उनी ह्यूमन राइट्स वाचमा आबद्ध भएकी हुन्।
ह्यूमन राइट्स वाचको अनुसन्धानकर्ताका रूपमा तेजश्रीले मानवअधिकार उल्लंघन घटनाका पीडित पक्ष र घटनामा संलग्न व्यक्ति दुवैसँग अन्तर्वार्ता गर्थिन्।
नेपाल र श्रीलंकाको द्वन्द्वमा भएका मानवअधिकार उल्लंघन छानबिन क्रममा उनले दुर्गम ठाउँहरूमा समेत पुगेर दुवै पक्षको अन्तर्वार्ता गरेकी थिइन्। यी दुवै देशमा भएका यौनहिंसा, यातना र बर्बरताबारे उनले दस्तावेज तयार पारेको ह्यूमन राइट्स वाचले जनाएको छ।
श्रीलंकामा गृहयुद्ध जारी रहँदा उनले सरकारी पक्षको जवाफदेहीता र पीडित पक्षको संक्रमणकालीन न्यायका लागि थुप्रै चिठीपत्र आदानप्रदान गरेकी थिइन्। ‘त्यतिबेला चिठीपत्र र दस्तावेज लेख्दालेख्दा उनी यतिसम्म एकोहोरिएकी थिइन्, सपनामा पनि तिनै कुरा बर्बराइरहेकी हुन्थिन्,’ तेजश्रीको सम्झनामा ह्यूमन राइट्स वाचले लेखेको छ।
सन् २०१७ अगस्टमा तेजश्रीले म्यानमारबाट खेदिएका वा भाग्न बाध्य पारिएका रोहिंगा मुस्लिम समुदायमाथि अनुसन्धान गरेकी थिइन्। त्यतिबेला म्यानमारको सैनिक शासकबाट भएको अत्याचार सहन नसकेर रोहिंगा मुसलमानहरू बंगलादेश छिर्ने क्रम ह्वात्तै बढेको थियो।
हजारौं हजार रोहिंगा मुसलमानहरू बंगलादेश र म्यानमारको सीमाक्षेत्रमा शरणार्थी जीवन बिताउन थालेका थिए। अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीका रूपमा उक्त शरणार्थी शिविर पुग्नेमा तेजश्री पहिलो समूहकी अभियन्ता थिइन्।
म्यानमारको सैनिक शासनले 'जातीय सफाया' का रूपमा रोहिंगा मुसलमानमाथि गरेको हत्याहिंसा, अत्याचार र बलात्कारका घटनामाथि अनुसन्धान गरेर उनले प्रतिवेदन तयार पारिन्।
यस्ता थुप्रै घटनामा सत्ताबाट आमजनतामाथि भएको अत्याचारविरुद्ध उनले प्रखर आवाज उठाएकी थिइन्। आफ्नो कामका लागि जुनसुकै समय जहाँ जान पनि तत्पर रहन्थिन्। जोखिम वा खतरामा रहेका व्यक्तिलाई सहयोग गर्न हर समय तयार हुन्थिन्। जसलाई भेट्न पनि निर्धक्क जान्थिन्।
उनले मानवअधिकार तथा राजनीतिक कार्यकर्ता, पत्रकार र द्वन्द्वबाट पीडित परिवारका सदस्यहरूसँग घन्टौं घन्टा समय बिताएकी थिइन्।
तेजश्रीको निम्ति मानवअधिकार संरक्षणको काम व्यावसायिक मात्र थिएन, त्योभन्दा बढी उनको व्यक्तिगत रनाहा थियो। उनी आफूले भेटेका व्यक्तिको ख्याल राख्थ्नि् र उनीहरूको पीडा हटाउन परामर्श दिन्थिन्।
यिनै विशेषताले तेजश्रीलाई अन्तर्राष्ट्रिय मानवअधिकार संरक्षणमा एक तेजस्वी अभियन्ताका रूपमा स्थापित गराएको छ।