धादिङको मलेखु भण्डारा सडक खण्डको तुनिखोलामा यात्रुवाहक जीप दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको छ।
बेनिघाट रोराङको ताल्तीबाट पृथ्वीराजमार्गको मलेखुतर्फ २३ जना यात्रु लिएर आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप बिहीबार बिहान ९ बजेतिर गजुरी गाउँपालिका वडा नम्बर २ तुनिखोलामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका हुन्।
तिहार मानेर फर्किएका यात्रु लिएर गाउँबाट पृथ्वीराजमार्गतर्फ आइरहेको उक्त जीप तुनिखोलामा आएपछि एक्कासी अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोलामा खसेको स्थानीय भरत बराकोटीले बताए।
जीप दुर्घटनाको खबर आएलगत्तै प्रहरी, रेडक्रसकर्मी, स्वयंसेवक टोली र स्थानीयले घाइतेहरूको उद्धार गरी उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु पठाएको पनि बराकोटीले जानकारी दिए।
सो दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूमा गजुरी गाउँपालिका २ का २३ वर्षका अच्युत सिलवाल, वर्ष २५ का भीम सिलवाल, वर्ष १५ का विवश सेढाई, गजुरी ३ का २२ वर्षका दिनेश तामाङ, बेनिघाट रोराङ २ छापडाँडाका नवराज खरेल, वर्ष १८ की सरस्वती रेग्मी, ताल्तिकी वर्ष ३४ का शान्तिमाया तामाङ, बेनिघाट रोराङ ४ का वर्ष २४ का नरेश सिलवाल र मकवानपुर मनहरी ३ का वर्ष २८ को सुनिल दर्जी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
क्षमता भन्दा धेरै यात्रु लिएर आएको जीप कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।