काठमाडौं महानगरपालिकाले विभिन्न वडाका ठाउँहरूको नाम चिनाउन नेपाली, रञ्जना लिपि र अंग्रेजीमा राखेको बोर्ड अहिले चर्चामा छ। उक्त बोर्डमा कोर-सिटीका टोलहरूको वास्तविक नाम मासिने गरी चलनचल्तीमा रहेका परिवर्तित नाम लेखिएको भन्दै कतिपय स्थानीयले विरोध गरेका छन्।
उदाहरणका लागि, जुन ठाउँलाई अहिले इन्द्रचोक भनिन्छ, त्यसको वास्तविक नाम वंघ: हो। महानगरले राखेको बोर्डमा नेपाली र अंग्रेजी अक्षरमा इन्द्रचोक लेखेर रञ्जना लिपिमा मात्र वंघ: लेखिएको छ।
सबैले पढ्न सक्ने अक्षरमा इन्द्रचोक लेख्ने, अनि कमैले मात्र उच्चारण गर्न सक्ने रञ्जना लिपिमा वंघ: लेख्दा वास्तविक नाम लोप भएर जाने कतिपयको भनाइ छ। उनीहरू वंघ: पनि नेपाली र अंग्रेजी अक्षरमै लेखेको भए सबैले पढ्न सक्ने र हराउँदै गएको पुरानो नाम फेरि जीवित हुने बताउँछन्। केही व्यक्तिले भने तीन भाषामा स्थान-नाम लेखिनुलाई राम्रै मानेका छन्।
महानगरको यो काम जसलाई ठिक लागेको छ, उनीहरूलाई चित्त बुझ्नुको कारण के हो? अनि जसलाई आपत्ति छ, उनीहरूको आपत्ति केमा हो?
हामीले काठमाडौं कोर-सिटीका विभिन्न वडामा बसोबास गर्ने करिब २५ जना स्थानीयसँग यसबारे कुराकानी गरेका छौं। पढ्नुहोस् उनीहरूको भनाइ जस्ताको तस्तै —
१) प्रयासरत्न तुलाधर, ५८ वर्ष, न्यत
यसरी राखेको ठिकै छ। तर नरदेवी भनेर देवनागरी लिपिमा जसरी लेखिएको छ, रैथाने नाम न्यत पनि त्यसरी नै देवनागरीमै लेखिनुपर्छ। रञ्जना लिपिमा लेखिएको शब्द सबैले नबुझ्न सक्छन्। अरू ठाउँमा पनि यसरी नै वास्तविक नाम भएको बोर्ड राख्न जरूरी छ।
२) राजेश तुलाधर, ६२ वर्ष, न्यत
नेपाल भाषामा मात्र ठाउँको नाम लेख्ने हो भने सबैले नबुझ्न सक्छन्। त्यसरी नबुझ्ने भाषामा लेखिएको कुराको कुनै मतलब हुँदैन। त्यसैले अहिलेजस्तो सबैले बुझ्ने गरी प्रचलित नाम प्रचलित भाषामै लेखिएको ठिकै छ।
३) एञ्जिललाल ताम्राकार, ३८ वर्ष, किलाघ:
हाम्रो टोल नजिकै बांगेमुढा भन्ने ठाउँ छ। दाँत दुख्यो भने त्यहाँका भगवान वास्याःद्यःमा पैसा राखेर किला ठोक्ने धेरै पुरानो चलन हो। कतिपयले त्यहाँ किला ठोक्ने भगवान भएकाले यो ठाउँको नाम किलागल भएको ठान्छन्। तर त्यस्तो होइन। यसको वास्तविक नाम किलाघ: हो र यो नामको पछाडि ऐतिहासिक र सांस्कृतिक अर्थ छ। त्यसैले यसलाई किलाघ: नै भन्नुपर्छ। सांस्कृतिक अर्थ बोकेको नामलाई जे पायो त्यही भनेर बिगार्न पाइँदैन।
न्यत टोल भन्ने नाम पनि न्यतमरू अजिमा मन्दिरबाट राखिएको हो। नरदेवी अस्पताल स्थापना भएपछि अपभ्रंस हुँदै ठाउँको नाम नै नरदेवी भयो। हामीले यसरी नै बोल्दै जाँदा नाम बिग्रिएको हो। हामीले यसरी नै न्यतलाई नरदेवी र किलाघ:लाई किलागल भनेर प्रचार गर्दै गयौं भने पुरानो नाम हराउँदै जान्छ।
त्यसैले नेपाली र अंग्रेजी लिपिमा पनि यहाँको स्थानीय नाम नै लेखिनुपर्छ। केही समय नयाँ पुस्ता अल्मलिएलान्। बिस्तारै उनीहरूलाई बानी पर्दै जान्छ। थाहा नपाउने वा नबुझेकाहरूले सोधखोज गर्छन्। हामीले नसुधार्ने हो भने यो कुरा कहिल्यै सुध्रिन्न।
४) विजय तुलाधर, ६५ वर्ष, कुसुम्बियालाछी
मलाई महानगरको काम चित्त बुझेन। तपाईंले यहाँका बूढापाकालाई इन्द्रचोक कहाँ हो भनेर सोध्नुभयो भने उनीहरू अल्मलिन्छन् र उल्टै सोध्छन्, 'इन्द्रचोक भनेको कता हो?'
तपाईं 'वंघ:' भन्नुस्, उनीहरू तुरून्तै बुझ्छन्।
असनको खास नाम पनि असं मात्रै हो। पहिले मेरो पसल त्यहीँ थियो। अहिले कुसुम्बियालाछीमा छ। महानगर हामीकहाँ पनि बोर्ड राख्न आउँछ होला। हाम्रोमा पहिले जुन नाम छ, त्यही राख्नुपर्छ। स्थानीयले नबुझ्ने पर्वते भाषाको नाम राखेर के काम! यसले त हाम्रो रैथाने नाम लोपै भएर जान्छ नि!
महानगरले पुरानै नामको बोर्ड राख्यो भने कम्तिमा मान्छेलाई यो के हो भन्ने उत्सुकता जाग्छ। उनीहरू सोधखोज गर्छन्। हराउँदै गएको पुरानो नाम ब्युँतन्छ।
५) मध्यरत्न शाक्य, ७० वर्ष, किलाघ:
हाम्रा सबै रैथाने नेवार शब्दहरू पर्वते भाषाको अतिक्रमणले बिगारिसक्यो। कतिपयलाई त यहाँको रैथाने नाम किलाघ: हो भन्ने नै थाहा छैन। पहिलेका मानिसलाई थाहा छ, तर नयाँहरू अल्मलिन्छन्।
त्यसैले तीनवटै लिपिमा हाम्रो प्राचीन स्थानीय नाम नै लेख्ने हो भने मानिसहरूलाई पढ्दा-पढ्दा बानी लाग्छ। एक-दुई दिन अल्मलिएलान्, तर मानिसहरूसँग सोध्दा र हेर्दा–हेर्दै सिकिहाल्छन्।
६) जीवन श्रेष्ठ, ५३ वर्ष, भेडासिं
पुरानो नाम मात्र राख्यो भने विदेशीहरूलाई थाहा हुन्न। नयाँ पुस्ताले पनि बुझ्दैनन्। त्यस हिसाबले पनि महानगरले यस्तो बोर्ड राखेको हुनुपर्छ।
खासमा हुनुपर्ने त पुरानो नाम नै हो। तर त्यसरी राख्दा पनि ठिकै छ।
७) दिपककुमार राजभण्डारी, ६१ वर्ष, भेडासिं
हाम्रा स्थानीय ठाउँहरूको नाम बिगार्नमा पर्वते भाषाको हात छ। नेपाल भाषालाई बीचमा छिराएजस्तो गर्ने, अनि घुमाइफिराइ उनीहरूकै भाषा प्रवर्द्धन गर्ने। अहिले स्थान-नामको बोर्डमा पनि महानगरले त्यही प्रवृत्ति देखायो। यस्तै हो भने हाम्रो भाषाको अस्तित्त्व हराउँदै जान्छ।
८) शिवराज प्रजापति, ६६ वर्ष, केल त्वा:
यहाँ केलटोल भनेर बोर्ड राखेको धेरै वर्ष भइसक्यो। हाम्रो ठाउँको खास नाम 'केल ट्वा' हो। रञ्जना लिपिमा लेखिको त छ तर सबैले बुझ्न सक्दैनन्।
केल टोल भनेर पर्वतेहरूलाई बुझाउन राखेको होला। तर यसो गर्दा मानिसहरूले 'केल ट्वा' भन्ने नै भुलिसके। केही स्थानीयलाई मात्र थाहा छ।
९) पूर्णमान ताम्राकार, ५२ वर्ष, न्यत
यसरी राखेको ठिकै छ। न्यत भन्दा बाहिरका मानिस अनि विदेशीहरूले बुझ्दैनन्। त्यहाँ नेपाल भाषा र अंग्रेजी भाषामा पनि लेखिएकाले मलाई त ठिकै लाग्यो।
१०) रमेश महर्जन, ६१ वर्ष, किलाघ:
यहाँको पुरानो नाम किलाघ: हो। महानगरको बोर्डमा सबभन्दा सुरूमा पर्वते भाषामा किलागल लेखिएको छ। खासमा यहाँको स्थानीय नाम किलाघ: सबभन्दा सुरूमा हुनुपर्ने हो। त्यसबाहेक अंग्रेजी र नेपालीमा लेखिँदा पनि मलाई आपत्ति छैन।
११) पुण्य बज्राचार्य, नघ:
मेरो घर नघःमा हो। यो नाम राख्नुका पछाडि सांस्कृतिक कारण छ। जे मन लाग्यो त्यही भन्न पाइँदैन। यो प्राचीन नेवा: सहर भएकाले नेपाल भाषाबाटै पुरानो नाम राख्नुपर्छ जस्तो लाग्छ।
१२) चन्द्रबहादुर नकर्मी, त्य:र
पहिले यो ठाउँलाई त्य:र भनिन्थ्यो, अहिले धेरैले त्योड भन्छन्। यो ठाउँ जस्तै धेरै ठाउँको नाम अहिले परिवर्तन भइसक्यो। इन्द्रचोक भनेर पनि पछि मात्रै भन्न थालिएको हो। खासमा पुरानो नाम वंघ: हो। नेवार भएको हिसाबले पनि होला, मलाई त पुरानै नाम ठिक लाग्छ।
१३) सानुकाजी महर्जन, यंगल
म पहिले वडा नम्बर २३ मा बस्थेँ। अहिले घर बनाएर २७ वडामा सरिसक्यौं। त्यो ठाउँलाई यंगल भनिन्छ। मेरो पुरानो घर ओमबहालमा हो। तर त्यो ठाउँलाई अहिले सिद्धिचरण मार्ग भन्न थालेका छन्। तरकारी बेच्न भने म त्य:रमा आउँछु।
नाम सबैलाई थाहा हुने हिसाबले नयाँ चलनचल्तीकै भाषामा राख्दा ठिक हो। तर दुइवटै राखेको पनि मलाई ठिकै लागेको छ। ठाउँ चिन्न चलनचल्तीको नामले पनि सजिलो होला।
१४) सुशील श्रेष्ठ, ५५ वर्ष, असं
यो ठाउँको नाम असन भनेर परिचित भए पनि खासमा असं हो। म असंमै जन्मिएको हुँ। ६-७ वर्षको हुँदा हामी सपरिवार किलाघ: सर्यौं। त्यो ठाउँ पनि अपभ्रंस भएर किलागल भएको छ।
बूढाबूढीहरूलाई वंघ:, असं, किलाघ: भनेको थाहा हुन्छ तर इन्द्रचोक, असन, किलागल भन्दा चिन्न अझै गाह्रो छ। यहाँका ८०-९० वर्षका वृद्धवृद्धाहरू नेपाली भाषा बोल्न जाँदैनन्। मलाई चाहिँ सबैले बुझ्ने गरी दुइटै राख्दा ठिक हुन्छ जस्तो लाग्छ। थाहा नभएकालाई इन्द्रचोक भनेको वंघ: भन्ने थाहा हुन्छ। यहीँका स्थानीयले त चिन्ने भइहाले।
१५) चिनिया कंसाकार, जनबहा:
दुईवटा नाम राख्नुभन्दा पहिलेदेखिकै वंघ: राखेको राम्रो। यो नाम हाम्रो पुर्खाले त्यस बेलाको इतिहास, प्रकृति, वातावरण लगायत सबै कुरा हेरेर राखेका थिए। त्यसको केही न केही विशेषता पक्कै छ।
जनबहा:लाई पनि अहिले मच्छिन्द्र टोल भनिन थालेको छ। नयाँ नाम भन्दै जाँदा पुरानो नामले बोकेको अर्थ र महत्त्व हराउँदै जान्छ।
१६) रविन्द्र तुलाधर, असं
हामी इन्द्रचोकलाई वंघ: र मखनलाई मखः भनेर चिन्छौं। महानगरले बोर्डमै नयाँ नाम राख्दा अप्रत्यक्ष रूपमा पुरानो नाम मासिँदै जान्छ। यसरी नाम विस्थापित गर्दै जाने हो भने अन्य कुराहरू पनि विस्थापित हुँदै जान्छन्।
१७) भगवती श्रेष्ठ, ज्या:था
नेपाली भाषामा इन्द्रचोक भने पनि नेपाल भाषामा वंघ: भने पनि एउटै ठाउँ हो। मौलिकताअनुसार वंघ: राख्दा नै ठिक हुन्छ। अहिलेका पुस्तालाई पुरानो नाम थाहा छैन। उनीहरूलाई थाहा नदिने हो भने पुरानो नाम त बिलाएर गइहाल्छ नि।
१८) रमेश श्रेष्ठ, ६५ वर्ष, वंघ:
हामीले आफ्नो भाषामा मात्र हुनुपर्छ भनेर विरोध गरेर हुँदैन। सबैले बुझ्ने र सहज भाषामा हुनुपर्छ।
पहिले इन्द्रचोकलाई वंघ: भनेर चिनिन्थ्यो र नेवारहरूले अहिले पनि त्यही भनेर चिन्छन्। तर बाहिरबाट आएका मान्छेलाई वंघ: कता पर्छ भनेर सोध्यो भने थाहा हुन्न। यसले झन् अलमल बनाउँछ। त्यसैले पुरानो र सबैले बुझ्ने नाम राखेकै ठिक हो।
१९) सुरेश शाक्य, ५० वर्ष, छुस्या गल्ली
हाम्रो टोलको नाम पहिलेदेखि नै छुस्या गल्ली हो। अहिले बोर्ड राख्दा रञ्जना लिपि, नेपाली र अंग्रेजीमा पनि त्यही नाम राखिएको छ। रञ्जना लिपि सबैले पढ्न जान्दैनन्। त्यसो हुँदा नेपाली र अंग्रेजीमा लेखेको अक्षर पढेर बुझ्छन्। मलाई त मन परेको छ।
२०) सूर्यभक्त श्रेष्ठ, ६२ वर्ष, वंघ:
भाषामा के नै छ र? सबैले बुझ्नुपर्छ भन्ने न हो। नयाँ मान्छेलाई चोखाछेँ गल्ली कता हो भनेर सोध्यो भने थाहा नहुन सक्छ। तर बोर्ड राखिदियो भने सहज हुन्छ।
वंघ:को पनि नेपाली र अंग्रेजीमा नाम राखेको छ। तर त्यो चोकबाट ६ वटा ठाउँ पुगिन्छ। कताबाट कता पुगिन्छ भन्ने जानकारी भए अझै सजिलो हुन्थ्यो।
२१) सानुराजा शाक्य, ५५ वर्ष,इतुम्बहा:
म बस्ने टोलको नाम इतुम्बहा: हो तर नेपालीमा इतुम्बहाल लेखिएको छ। नामको काम भनेको मान्छेले ठाउँ चिनून् भन्ने न हो। चिने पुगिहाल्यो। सबैले देख्ने गरी हरियो बोर्डमा इतुम्बहा:सहित तीनवटा भाषामा लेखेको राम्रो लागेको छ।
२२) रबिना राजोपाध्याय, ४६ वर्ष, वंघ:
म वंघ:को भएकाले अन्य ठाउँकाले मलाई वंघ:मी भनेर चिन्छन्। इन्द्रचोक भन्यो भने स्थनीयलाई चिन्न मुस्किल पर्छ। अहिले हाम्रो ठाउँको नाम बिग्रियो।
यहाँ बोर्डमा रञ्जना लिपिमा वंघ: र नेपाली र अंग्रेजीमा इन्द्रचोक भनेर राखिएको छ। अब हामीलाई वंघ:मीको सट्टा इन्द्रचोकेली भनेर मान्छेले बोलाए भने के गर्ने? मानिसलाई वंघ: भनेर भन्न दुई-चार दिन गाह्रो होला, तर बिस्तारै बानी पर्छ।
हाम्रो पुरानो नाम बिगार्न पाइँदैन। त्यसरी बिगार्दा हाम्रो पहिचानमै असर पुग्छ।
२३) गोविन्दबहादुर बशाल, ४५ वर्ष, भेडासिं
मलाई जेसुकै जस्तोसुकै नाम राखे पनि केही फरक पर्दैन।
२४) किरण श्रेष्ठ, भेडासिं
यो ठाउँलाई पहिलेदेखि नै भेडासिं भनेर चिनिन्थ्यो। अहिले बोर्डमा त्यही नाम राखेको छ। तर बोर्डमा नाम राख्दा सुरूमा रञ्जना लिपि, त्यसपछि नेपाली अनि बल्ल अंग्रेजीमा राख्नुपर्थ्यो।
यो ठाउँको रैथाने नाम के हो भनेर पर्यटकलाई देखाउन सबै भाषामा लेखेर राखेको ठिक छ। डिजाइनको हिसाबले पनि पुरानोभन्दा नयाँ राम्रो छ। काठको थाम राखेर पित्तलको पातामा चोकको नाम राखेको मलाई मन परेको छ।
२५) वसन्त राजभण्डारी नकर्मी, ४७ वर्ष, भेडासिं
हाम्रो टोलको नाम भेडासिं राखेको मलाई त मन परेको छ। कतिपय ठाउँमा विरोध भइरहेको मैले सुनेँ। तर किन टोलको नामलाई लिएर विरोध गरेको हो बुझेको छैन।
पहिले यहाँ कुनै बोर्ड थिएन। अब त बाहिरका मानिसले बोर्ड हेरेरै ठाउँको नाम थाहा पाउन सक्छन्। झन तीनवटा भाषामा लेखेर बोर्ड राख्दा चोकको नाम थाहा पाउन सजिलो भएको छ।
***