धादिङका पुष्कर सेढाईं सन् २०२४ को जनवरीमा बुल्गेरिया पुगे। केही दिन त्यहाँको केएफसीमा काम गरे। अझै बढी कमाइ गर्ने उद्देश्यले जुन महिनामा ग्रीस गए।
मासिक नेपाली रूपैयाँ एक लाखदेखि दुई लाखसम्म कमाइ हुन्छ भन्ने जानकारी पाएर उनी ग्रीस गएका थिए। बुलगेरियामा पनि साह्रै नराम्रो थिएन तर बढी कमाइ हुने लोभले ग्रीस पुर्याएको थियो।
'बुल्गेरियामा मासिक ७० हजार (रूपैयाँ) कमाइ हुन्थ्यो। अस्थायी बसोबासको कार्ड समेत बनेको थियो। धेरै कमाउने लोभमा दलालको भर परेर यता (ग्रीस) आएँ,' पुष्करले भने, 'दलालले मेरो ९ सय युरो खाइदियो। मेरो साथमा पासपोर्ट र बुलगेरियाको कार्ड समेत छैन।'
ग्रीस पुगेर पुष्करले केही दिन एउटा कृषि फर्ममा काम गरे। हाल एउटा ट्रान्सपोर्ट कम्पनीको वेयर हाउसका लागि काम गर्छन्।
उनी जसोतसो मासिक साढे आठ सय युरो बचाउँछन्, नेपाली रूपैयाँ करिब एक लाख ३१ हजार।
कम्पनी सञ्चालकले ग्रीसमा कानुनी ढंगले बस्ने व्यवस्था मिलाइदिने भनेका छन् तर उनीसँग पासपोर्ट छैन। उनको पासपोर्ट र बुलगेरियामा अस्थायी बसोबासका लागि पाएको कार्ड पाकिस्तानी एजेन्टसँग छ।
उनी नेपाली एजेन्टको कुरामा भर परेर पाकिस्तानी एजेन्टको सम्पर्कमा पुगेका थिए।
उनलाई नेपाली एजेन्ट को थियो भन्ने पनि राम्रो जानकारी छैन। सामाजिक सञ्जालमा देखेको आकर्षक विज्ञापनका आधारमा कुरा गरेर पाकिस्तानी एजेन्टको सम्पर्कमा पुगेका थिए।
उनलाई एजेन्टको भर परेर बुलगेरिया छाडेकामा पछुतो भएको छ। सबै पक्ष राम्ररी नबुझी फस्नु हुने थिएन भन्ने लागेको छ।
'मैले भिडिओ कलमा कुरा गरौं भन्दा उनीहरू मानेनन्। टिकटकमा विज्ञापन देखेका भरमा म ग्रीस आउनु हुने थिएन। यहाँ यसरी फस्ने नेपाली धेरै छन्,' उनले भने, 'कसैकसैले राम्रो छ पनि भनेका छन्। दलालको च्यानल (सञ्जाल) बुझ्नै नसकिने रहेछ।'
उनका अनुसार ग्रीसमा काम गर्न धेरै राम्रो छ, धेरै कमाइ हुन्छ भनेर नेपाली कामदार पुर्याउन सक्दा दलालको कमाइ राम्रो हुँदो रहेछ। दलालहरू आफ्नो कमाइका लागि कामदार फसाउन अनेक विज्ञापन बनाएर लोभ्याउँदा रहेछन्।
'नेपाली कामदार ग्रीस पुर्याउन दलालले बसोवासको कार्ड तयार छ भन्छ। ग्रीसमा पाकिस्तानी र बंगालदेशीहरूको दबदबा छ। उनीहरू मिलेर नेपालीलाई ठग्छन्,' पुष्करले भने, 'यहाँ मेरो जस्तै हालतमा पुगेका नेपाली धेरै छन्। कोही यतैबाट इटाली र स्पेन जान्छन्।'
दलालले फिर्ता नदिई उनको पासपोर्ट हात लाग्ने छैन। फिर्ता नपाए नयाँ बनाउनुको विकल्प हुँदैन। पासपोर्ट बनाइदिने नेपाली घुम्ती टोली नआई नयाँ बन्दैन।
एक वर्षअघि अस्ट्रियाबाट घुम्ती टोली ग्रीस पुगेको उनले बताए। ग्रीसमा बुलगेरिया, रोमानिया, क्रोएसिया, पोल्यान्ड लगायत देशबाट नेपालीहरू पुग्ने गरेका छन्। 'सिजनल कामदार' का रूपमा बुलगेरिया र क्रोएसिया लगायत देशमा पुगेकालाई दलालले ग्रीस पुर्याउने गरेका छन्। सिजनल कामदारको भिसा नथपिने भएकाले दलालले नेपाल नफर्की ग्रीस जान प्रेरित गर्छन्।
'ग्रीसमा कामको अभाव छैन। कृषिमा जति पनि काम पाइन्छ तर ठेकेदारले बीचमै पैसा खाइदिन्छ। कामदारले थोरै मात्र पाउँछ,' पुष्करले भने, 'कतिपय ठेकेदारले पैसा नै दिँदैनन्। ग्रीस पुर्याउने दलालले पनि त्यसैबाट कमाउँछ।'
दलालले भने जस्तो राम्रो नभएपछि पुष्कर बुलगेरिया फर्किन खोजेका थिए। पासपोर्ट र बुलगेरियाको अस्थायी बसोबास कार्ड फिर्ता नपाएपछि ग्रीसमै बस्न बाध्य भए।
पुष्कर नेपालमा मोटरसाइकल वर्कसप चलाउँथे। धेरैले उधारोमा काम लगाउने र पैसा नदिने समस्याले हैरान भएर बुलगेरिया गएका थिए। दलालको भर परेर ठक्कर खाएपछि उनले आफ्नो जस्तो समस्यामा अरू नेपाली कामदारहरू नपरून् भन्ने ठानेका छन्। नेपाल छाड्नुअघि कम्पनी, काम र आम्दानीबारे राम्ररी बुझ्न उनको सुझाब छ।
'सामाजिक सञ्जालमा आउने विज्ञापनको भर नपर्नुहोला। त्यस्ता विज्ञापनमा आकर्षक पाराले, जादु नै हुने जसरी लोभ देखाएको हुन्छ। त्यस्तो लोभमा नपर्नुहोला,' उनले भने।
जुन देशका लागि आएको हो, त्यही देशमा काम गर्न र सबै कुरा पक्का नभई त्यो देश नछोड्न पनि उनको सुझाव छ।
'दलालको भर परेर अर्को देश जानुभयो भने मेरोजस्तै हालत हुन सक्छ। जुन देशको भिसा लिएर आउनुभएको हो, त्यहीँ बस्नुभयो भने कुनै समस्या पर्दा उजुरी दिन पाइन्छ,' पुष्करले भने, 'विदेशमा नेपालीलाई फसाउने नेपाली नै हुन्छ। कसैले प्रलोभन देखाउँदैमा नपत्याउनु होला।'
एउटा देश छाडेर अर्कोमा जानु परे दलालको भरमा नभई आफ्नै क्षमताले प्रक्रिया चलाउन उनी सुझाव दिन्छन्।