काठमाडौंको गर्मी चर्केको दिउँसो। जिल्ला प्रशासन कार्यालय अगाडि लामबद्ध भीड। घाम चर्किरहेको छ, मान्छे थपिँदै छन्।
एक बाबु, चिन्तित अनुहारमा छोरीलाई हकार्दै थिए।
'कम्तीमा फाइल त काउन्टरमा दिएर आउन सक्थ्यौ! यहाँ हामी लाइनमा उभिँदा आधा घण्टा सकिन्छ!'
छेउमै मेरो छोरो बसेको थियो। उसलाई त्यो संवाद सुन्नु त परै जाओस्, वरिपरि के भइरहेको छ भन्ने पनि थाहा थिएन।
ऊ मोबाइलको पर्दामा गेम जित्नैमा व्यस्त थियो। उसको त्यो मौनता कुनै गम्भीर चिन्ताको संकेत थिएन, तर एक किसिमको डिजिटल नसा थियो।
आजका किशोरकिशोरीहरू—जसलाई हामी 'जेन जी' भन्छौं—उनीहरूको चेतना सिधा प्रत्यक्ष संवादमा देखिँदैन। उनीहरू प्रतिक्रिया दिन्छन्, तर संवादहरू इमोजी, स्टोरी र म्यासेजका रूपमा मात्रै।
यस्तै, भिडभाडमा, अर्को बाबु छोरीलाई सिधै अगाडि जान आग्रह गर्दै थिए।
'चिन्ने मान्छे छन्, अगाडि जान पाइन्छ।' तर छोरी भने अडिग थिइन्। लाइनमै बसेर काम सक्न पर्छ। उसलाई बुवाले अरूका पालो मिचेर अगाडि लान खोज्नुभएको मन परेको थिएन।
साँच्चै भन्नुपर्दा, जेन जीलाई अनुशासन थाहा छ। उनीहरूको अनुशासन अभिभावकहरूको चटारो शैलीभन्दा फरक छ।
हामी, बाबु-आमा पुस्ता, सबै काम छिटो गरिनुपर्छ भन्ने हतारको मनस्थिति बोकेर हुर्कियौं। उनीहरू भने—सिस्टम बुझ्छन्, अनि नियम पालना गर्न सक्ने धैर्य राख्छन्, यद्यपि घामको अनि अव्यवस्थाको गुनासोका पहाड नै छन् उनीहरूसँग।
प्रशासनिक भवनहरूमा देश छोड्ने चाहना लिएर आउने युवाहरूको भीड हरेक दिन बढ्दै गएको छ। ती युवा, जसलाई देश छाड्ने भनेर अपमान गरिन्छ।
तर यो केवल विदेश प्रेम होइन, यो त न्याय र सम्भावना खोज्दै गरिएको यात्रा हो। जब मेरिटलाई छायामा पारेर सिफारिसको सत्ताले शासन गर्छ, तब युवाहरूको सपना उड्छ हावामा होइन हवाईजहाजमा।
'जेन जी' आज धेरै कुरा बोल्दैनन्। उनीहरू त कुरै गर्नु हुँदैन भन्ने शैलीमा हुर्किएका छन्। तर यसको मतलब उनीहरू अचेत छन् भन्ने होइन। उनीहरूलाई मात्रै सबै कुरा च्याटबक्समै राखेर उत्तर दिन सहज लाग्छ।
यिनीहरू पहिलो पुस्ता हुन् जसले जन्मदेखिनै अनलाइन संसार देखेका छन्। स्क्रिन नै पाठशाला थियो, अनलाइन नै मन बहलाउने, अनि रूने-हाँस्ने पनि।
केही दिनअघि, एउटा सामाजिक कार्यक्रममा निमन्त्रणा बाँड्ने प्रसंग आयो।
बैठकमा भनियो- निम्तो कसरी पठाउने छलफल भयो। यो मान्छेलाई ह्वाट्सएप, उसलाई भाइबर, अर्कोलाई इन्स्टामा। दुरदराजका लागि अन्तिम उपाय इमेल। यीभन्दा अरू उपाय भएन।
तर पछि पत्ता लाग्यो, केही मानिस त त्यही बैठक भइरहेको घरको तीन घर पछाडि बसिरहेका थिए। तर ती डिजिटल माध्यम कहीँ थिएनन्। त्यसैले उनीहरूलाई बोलाउन सकिएन।
शारीरिक रूपमा निकट तर डिजिटल दुनियाँबाट टाढा भएकै कारण उनीहरूलाई भेट्ने कुरा कसैलाई दिमागमै आएन।
यो कथा केवल 'जेन जी' को हैन, यो त हाम्रो समाजले आफै बनाएको दुविधा हो। छिटो गर। छोडिदे देश। बोल्दैनन् भन्ने गुनासाहरू छन्, तर त्यही सन्तान नियम पालना गर्दै लाइनमा उभिएको कुरो हराएको छ ठूला कथाहरूका बीच।
हामी जुन अभावमा हुर्कियौं, उनीहरू ती अभाव टार्ने प्रयासमा छन्। उनीहरूको मौनता हाम्रै चिच्याहटको प्रतिबिम्ब हो। त्यस अर्थमा जेन जी फरक छन्। तर त्यो फरक हुनु दोष होइन।
सायद उनीहरू हामीभन्दा बढी इमानदार छन्। हाम्रा आँखामा उनीहरू आँखा जुधाएर कुरा नगरे पनि उनीहरूकै तरिकामा दुनियाँसँग उनीहरू लडिरहेका छन्।
उनीहरूलाई दोष दिन्छौं, तर बुझ्न खोज्दैनौं। अब दोष होइन, संवाद आवश्यक छ। जेन जीको मौनता, हाम्रो गलफत्ती, अनि दुवै पुस्ताबीचको असन्तुलन मिलाउनु नै अहिलेको सामाजिक आवश्यकता हो।