कपाल प्रत्यारोपण गर्नु भनेको एउटा कस्मेटिक सर्जरी प्रक्रिया हो। कपाल प्रत्यारोपण गर्नैपर्छ भन्ने छैन। यो व्यक्तिको चाहनामा भर पर्ने कुरा हो। आफ्नो अनुहारलाई आकर्षक देखाउने हो भने प्रविधिको प्रयोग गरेको राम्रो हो। बाहिरको माहोलसँग जोडिन पर्ने, कस्मेटिकसँग जोडिन पर्नेहरूका लागि कपाल प्रत्यारोपण जरूरी पनि हुनसक्छ। कपाल प्रत्यारोपण गर्न सक्ने र आफूलाई आवश्यक पनि रहेकाहरूले कपाल रोपेको राम्रो हुन्छ। कसैलाई कपाल प्रत्यारोपणले व्यक्तित्व र 'कन्फिडेन्स' बढाउन सक्छ।
कपाल प्रत्यारोपण गर्नलाई त्यस्तो निश्चित उमेर समूह भन्ने केही छैन। कसैलाई कपालको अगाडिको पाटो मिलाउन मन लागेको हुन्छ। कसैको वंशाणुगत रूपमै ठूलो निधार भएको छ भने पनि कपाल प्रत्यारोपण गर्न सकिन्छ।
एकपटक कपाल प्रत्यारोपण गरेपछि सधैंका लागि हुन्छ। तर त्यसलाई टिकाउन प्रयास भने गर्नुपर्छ। जस्तो: गमलामा फूल रोप्यो भने त्यसलाई मल दिने, हेरचाह गर्न परेजस्तै कपालको पनि हेरचाह गर्नुपर्छ।
कपाल रोप्ने विभिन्न तरिका हुनसक्छन्। विभिन्न चरणमा गरेर पनि रोप्न सकिन्छ भने एकै पटकमा समेत रोप्न सकिन्छ। हामीले जति कम कपाल रोप्यो त्यति टिक्ने सम्भावना धेरै हुन्छ। एकै पटक धेरै कपाल रोप्यो भने जोगाउन गाह्रो हुन सक्छ भने जहाँबाट कपाल ल्याएको हो त्यसमा पनि असर पर्न सक्छ। त्यसैले एक पटकमा २ देखि ३ हजारसम्म कपाल रोपेको राम्रो हो।
कपाल प्रत्यारोपण गर्नको लागि कुन ठाउँबाट कपाल ल्याउने भन्ने जिज्ञासा हुनु स्वाभाविक हो। त्यसको लागि टाउकोको पछाडिको भागको कपाल ल्याउन सकिन्छ। यदि त्यहाँबाट पुगेन भने दाह्री र छातीको रौंबाट ल्याउन सकिन्छ।
कपाल प्रत्यारोपणका लागि सामान्यत ६ देखि ७ घण्टासम्म लाग्न सक्छ। तर कहिलेकाहीँ डिजाइन गर्नेदेखि सफा गर्नेसम्मको समय लम्बिन सक्ने भएकाले १० घण्टा पनि लाग्न सक्छ।
कपाल प्रत्यारोपण भनेको पनि सर्जरी जस्तै हो तर यो सामान्य सर्जरी हो। रगतको परीक्षण गरेर कपाल प्रत्यारोपण गर्न मिल्ने/नमिल्ने टुंगो लगाउनु पर्छ। सुगर, थाइराइड र बाथ रोगका बिरामी अनि अन्य खालका कतिपय दीर्घ रोगीहरूले कपाल रोप्न मिल्दैन। कपाल रोप्नै नमिल्ने त होइन तर कपाल रोपे पनि नरहन सक्छ।
कपाल प्रत्यारोपण गर्नै नपर्ने अवस्थामा कसरी पुग्ने त भन्नको लागि बेला मौकामा परीक्षण गर्नुपर्छ। जब आफूलाई कपाल झर्दै गएको थाहा हुन्छ, त्यो बेलैमा चिकित्सकसँग परामर्श गरियो भने झर्ने क्रम रोक्न सकिन्छ। कहिलेकाहीँ भिटामिनको कमीले कपाल झरिरहेको हुन्छ। अनि कतिपयको कपाल मनोवैज्ञानिक कारणले झरेको हुन्छ भने कतिको कपाल लुछ्ने बानी हुन्छ। त्यसले पनि कपाल झरेको हुन्छ। कहिलेकाहीँ कपाल टाइट पारेर बाँध्ने गरिन्छ जसले गर्दा कपाल झर्न सक्छ। यसको कारण पत्ता लगाएर बेलैमा उपचार गर्न सके कपाल झर्नबाट जोगिन सकिन्छ।
(कस्ता व्यक्तिले कपाल प्रत्यारोपण गर्न सक्छन् अनि कस्ता व्यक्तिले कपाल प्रत्यारोपण गर्न मिल्दैन? लगायतका विषयमा केन्द्रित रहेर ‘बि एण्ड बि’ अस्पताल र समाज स्किन तथा लेजर क्लिनिकमा कार्यरत छाला रोग विशेषज्ञ डा. पारस श्रेष्ठसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)