इङ्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा सोमबार बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ।
बंगलादेशले दिएको २६३ रनको लक्ष्य पछ्याउन आएको अफगानिस्तान ४७ ओभरमा २०० रन बनाउँदै अलआउट भएपछि बंगलादेशले जित हात पारेको हो।
अफगानिस्तानका लागि समिउल्लाह शिनवारीले ४९, कप्तान गुलबदिन नैबले ४७, रहमत शाहले २४ तथा नजीबुल्लाहले २३ रनको पारी खेले।
अफगानिस्तानलाई २०० मै रोक्ने क्रममा बंगलादेशका अलराउण्डर शाकिब अल हसनले सर्वाधिक ५ विकेट लिए।
उनका अलावा मुस्तफिजुरले २ विकेट लिदां सैफुद्दीन तथा मुसैस्सकले समान १-१ विकेट लिए।
जितसँगै बंगलादेश अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ। अब उसले भारत तथा पाकिस्तानसँग खेल्न बाँकी छ।
त्यसअघि साउथह्याम्टनमा टस जितेको अफगानिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेटको क्षतिमा २६२ रन बनाएको थियो।
बंगलादेशका लागि मुस्फिकर रहिमले सबैभन्दा बढी ८३ रनको योगदान दिए। उनले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सकिब अल हसनले ५१ रन जोडे। उनले ६९ बलको सामना गर्दा १ चौका प्रहार गरे।
त्यसअघि ओपनर लिन्टन दास १६ रन र तमिम एकबाल ३६ रनमा आउट भएका थिए। सौम्य सरकार ३ रनमै आउट हुँदा मोहमुदुल्लाहले २७ रन र मोसाडक हुसेनले ३५ रनको योगदान दिए।
बलिङमा अफगानिस्तानका मुजिर उर रहमानले ३ विकेट लिए। गुल्बादिन नइबले २ विकेट हात पार्दा दाउलात जार्डान र मोमहद नाबीको नाममा १–१ विकेट रह्यो।