नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दास कीर्तिपुरस्थित टियु मैदानलाई मन्दिर मान्छन्।
यही मैदानबाट नेपाली क्रिकेटको विकासको सुरूआत भएको उनको तर्क छ।
'यो मैदान नेपाली क्रिकेटको मन्दिर हो। यही मैदानबाटै नेपाली क्रिकेटको विकास सुरू भएको थियो। यहाँ खेलेर हामी माथिल्लो स्तरमा पुगेका छौं,' शनिबार टियु मैदानमा भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको टिमसँग मैत्रीपूर्ण क्रिकेट खेलेपछि दासले भने।
शनिबार टियु मैदानमा बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनको टिम र विनोदको टिमबीच मैत्रीपूर्ण क्रिकेटको आयोजना गररेको थियो।
सचिनलाई नेपाल ल्याएर टियु मैदानमा क्रिकेट खेल आयोजना गरेकोमा दासले युनिसेफलाई धन्यवाद दिए।
'म युनिसेफलाई धन्यवाद दिन्छु। किनकी आज भगवान हाम्रो मन्दिरमा आउनुभयो,' सचिनलाई क्रिकेटको भगवान मान्ने दासले भने।
बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष र सचिनको क्रिकेट करिअर ३० वर्ष आजै पूरा हुँदा आफ्नो लागि विशेष दिन भएको दासको भनाइ थियो।
सचिनले सन् १९८९ मा आजकै दिन अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो बलको सामना गरेका थिए। पाकिस्तानविरूद्धको खेलमा पहिलो रोजाइमा नोभेम्बर १५ मा डेब्यू गरेका सचिनले नोभेम्बर १६ मा ब्याटिङको मौका पाएका थिए।
त्यसपछि क्रिकेटमा सचिनले सयौं रेकर्ड बनाउन सफल भए।
क्रिकेट इतिहासमा सय सतक प्रहार गर्ने सचिन दुनियाँका एक्ला ब्याट्सम्यान हुन्।
'आज बालअधिकारको महासन्धीमा हस्ताक्षरले मात्र ३० वर्ष पूरा गरेको छैन्, एउटा उत्कृष्ट क्रिकेट करिअरको पनि ३० वर्ष पुगेको छ,' उनले भने, 'जुन करिअरले अर्बौं व्यक्तिलाई प्रोत्साहन गरेको छ। धेरै बालबालिकालाई क्रिकेटमा लाग्न प्रेरित गरेको छ। क्रिकेट छनोटमा गरेमा धेरै धेरै धन्यवाद सचिन। तपाईंले क्रिकेटलाई धनी बनाउन मद्दत गर्नु भएको छ।'
विनोदको मन्तव्यपछि आफ्नो धारणा राखेका सचिनले पनि नेपालमा आएर क्रिकेट खेल्न पाएको क्षणलाई उत्कृष्ट पलको संज्ञा दिए।
'आज मेरा लागि उत्कृष्ट समय रह्यो ,' उनले सुरूमै भने। त्यसपछि भने नेपालीमै उनले 'तपाईंहरूलाई राम्रो लाग्यो? ' भन्दै टियु मैदानमा उपस्थित दर्शकलाई समेत सोधेका थिए।
प्रतिउत्तरमा दर्शकहरूले 'राम्रो लाग्यो' भनेका थिए। मन्तव्यका क्रममा सचिनले अहिले खेलिरहेका बालबालिका देख्दा आफ्नो बाल्यकालको सम्झना आउने बताएका थिए।
उनले सफलता पाउनका लागि अधिकतम अभ्यास गर्नु सुझाव पनि दिए।
उनले असफल हुँदा आत्तिन नहुने भन्दै अघि भने,'असफल हुँदा पनि केहि सिकिन्छ। हामी निरन्तर सकारात्मक सोच लिएर अघि बढ्नु पर्छ।'
टियु मैदानमा सचिनले बालबालिकासँग मिलेर क्रिकेट खेलिरहँदा नेपाली राष्ट्रिय महिला टिमले पनि अवलोकन गरेका थिए।
मंसिर १५ देखि नेपालमै आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) को तयारी गरिरहेका महिला टिमलाई सचिनले 'टिप्स' समेत दिएका थिए। उनले महिला टिमलाई सुझाव दिँदै भने,'कहिल्यै पनि नडराउनुस्,हेलचक्र्याइँ पनि नगर्नुस्, (बी फियरलेस बट डन्ट बी केयरलेस)।'