अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको सम्बन्धमा छलफल गर्न भन्दै क्लबहरूलाई पत्राचार गरेको छ।
यद्यपी यो छलफल एन्फामा नभइ युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा हुने भएको छ। बिहीबार दिउँस एक बजेका लागि बोलाइएको उक्त छलफलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको पनि उपस्थिति हुने एन्फाको पत्रमा उल्लेख छ।
‘युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताबाट अखिल नेपाल फुटबल संघका पदाधिकारी र ए डिभिजन क्लबसँग सहिद स्मारक ए डिभिजन लिग सम्बन्धमा छलफल गर्न तपशिल बमोजिमको समय र स्थानमा यहाँका क्लबका अध्यक्ष/महासचिवज्यूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु,' एन्फाले १४ वटा ए डिभिजन क्लबलाई पठाएको पत्रमा भनिएको छ।

मन्त्रालयमा बैठक डाकिएपछि एन्फाका पूर्व अध्यक्ष तथा ए डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बैधानिकतामा प्रश्न उठाएका छन्।
‘गलत परम्परा बसाल्न को लाग्छन् कुन्नी? खेलकुद मन्त्रालयले सहिद स्मारक लिगको बैठक आयोजना गर्ने रे! खेलकुदको कुन ऐन, नियम, कार्यविधि र निर्देशिकाको आधारमा मन्त्रालयले गर्ने हो? एन्फाको पत्रको आमन्त्रणमा मन्त्रालयमा क्लबहरूको वैठक रे! अनि विषय सहिद स्मारक लिग। अब एन्फाको कार्यलय नै खेलकुद मन्त्रालयमा सारे हुन्न र? लिग मन्त्रालयले गर्ने हो कि कसो? के एन्फा नलायक नै भयो त लिगको बैठक पनि मन्त्रालयमा गर्नुपर्ने! अब एनएसएल, एपिएल आदि खेलको पनि निर्णय संघको निमन्त्रणामा मन्त्रालयतिरै गर्ने परम्पराको सुरुआत। सस्तो लोकप्रियताले होइन विधि र विधानलाई स्थापना गर्ने परम्पराको सुरुआत नै जेनजी आन्दोलनको उद्देश्य हो जस्तो मलाई लाग्छ,’ शेर्पाले सामाजिक सञ्जालमा लेखेका छन्।
एन्फाले गत असोज अन्तिम साता यो वर्ष गर्ने भनेको सहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने घोषणा गरेको थियो।
पुस ६ देखि गर्ने भनेको लिगका लागि क्लबहरूले समय मागेपछि यो वर्ष होम एन्ड अवे लिग नहुने एन्फाको भनाइ थियो।
साथै यो वर्ष शीर्ष डिभिजनको लिग गर्ने भनेर एन्फाले त्यतिबेला घोषणा गरेको थियो भने छठपछि क्लबहरूसँग छलफल गर्ने बताएको थियो। एन्फाले ए डिभिजन लिग नगरेर राष्ट्रिय लिग गर्ने समेत संकेत दिएको थियो।
एन्फाले त्यतिबेला शीर्ष लिग भनेर स्पष्ट खुलाउन नसके पनि ए डिभिजन लिगको अघिल्लो संस्करण शीर्ष ६ क्लब र प्रदेश स्तरको प्रेसिडेन्ट लिग खेलेका ४ क्लब गरी १० क्लबबीच राष्ट्रिय लिग गराउने संकेत गरेको थियो।
त्यसअघि क्लबहरूसँगको एन्फाको बैठक पटक पटक स्थगित भएको थियो।
पछिल्लो पटक २०७९/२०८० को लिग २०८० को जेठ २३ सकिएको थियो। चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको साढे दुई वर्षपछि एन्फाले अर्को लिग गर्न लागे पनि अझै अन्योल कायमै छ।
पछिल्लो लिग सकिएको तीन वर्षपछि अर्को लिग गर्न लागेको एन्फामाथि समयमै लिग गर्न नसकेको भन्दै चर्को आलोचना हुने गरेको छ।