नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल २३ वर्षका भए। २० वर्षकै कलिलो उमेरमा नेपाली राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका रोहितले पछिल्लो तीन वर्ष नेपाली क्रिकेटलाई कुशल नेतृत्व गरिरहेका छन्।
उनको नेतृत्वमा नेपालले कठिन परिस्थितिमा एकदिवसीय मान्यता जोगायो। पहिलो पटक एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानविरूद्ध खेल्यो।
रोहितको कप्तानीमा नेपालले गत वर्ष वेस्ट इन्डिज र अमेरिकामा आयोजना भएको टी-२० विश्वकप खेल्यो। दक्षिण अफ्रिका र बंगलादेश जस्ता आइसिसीका स्थायी सदस्यविरूद्ध गज्जबको खेल देखायो। त्यतिबेला दोस्रो पटक विश्वकप खेलेको नेपालले आगामी वर्ष भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्दैछ। गत महिना ओमानमा भएको विश्वकप छनोटको च्याम्पियन बनेर नेपालले सन् २०२६ को टी-२० विश्वकप खेल्न लागेको हो।
टी-२० मा उत्कृष्ट खेलिरहेको नेपालले विश्वकपमा छनोट हुनुअघि युएईमा भएको टी-२० सिरिजमा वेस्ट इन्डिजमाथि २-१ को सिरिज जित निकालेको थियो। यो नेपालले आइसिसीको स्थायी सदस्य विरूद्धको खेलेको पहिलो सिरिज मात्र थिएन पहिलो जित पनि थियो।
टी-२० मा राम्रो प्रदर्शन गरिरहेको नेपालले एकदिवसीय खेलमा भने अपेक्षाकृत खेल्न सकिरहेको छैन। आइसिसी विश्वकप लिग-२ का सिरिजमा खराब प्रदर्शन गरिरहेको नेपालका लागि रोहितले बिहीबार शतक प्रहार गरे।
रोहितले बिहीबार युएईविरूद्ध शतक प्रहार गरे। लिग-२ अन्तर्गत युएई विरूद्धको खेलमा १०९ रन जोड्ने क्रममा रोहितले १३० बल खेलेर ५ चौका र २ छक्का प्रहार गरे।
अन्तर्राष्ट्रिय क्रिकेटमा रोहिको यो दोस्रो एकदिवसीय शतक हो। यसअघि उनले सन् २०२२ मा पपुवा न्युगिनीविरूद्ध घरेलु मैदानमा शतक प्रहार गरेका थिए। सो खेलमा उनले १२६ रन बनाएका थिए। रोहित नेपालका लागि एकदिवसीय खेलमा दुई शतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्। यसअघि नेपालका लागि सात ब्याटरले शतक प्रहार गरेका थिए। तत्कालीन कप्तान पारस खड्का, अनिल साह, भीम सार्की, कुशल मल्ल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र आसिफ शेखले नेपालका लागि १- १ एकदिवसीय शतक प्रहार गरेका छन्।
उनले एकदिवसीय खेलमा ७४ खेल खेल्दा २ शतक र ११ अर्धशतकको मद्दतमा १९ सय रन पूरा गरिसकेका छन्।
भरपर्दो ब्याट्सम्यान रोहितले पछिल्लो समय कुशल कप्तानको छवि बनाएका छन्। उनी सन् २०७९ को कात्तिकमा कप्तान नियुक्त भएका थिए।
कप्तान नियुक्त भएपछि उनले नेपाललाई अभूतपूर्व सफलता दिलाएका छन्।
पौडेलले १६ वर्षको उमेरमा आफ्नो पहिलो एकदिवसीय खेल खेलेका थिए। तेस्रो खेलमा नै उनले एकदिवसीयमा अर्धशतक बनाएर सबैभन्दा कम उमेरमा यो कीर्तिमान बनाउने खेलाडी बनेका थिए। २० वर्ष ७३ दिनको उमेरमा उनलाई एकदिवसीय टोलीको कप्तान बनाइएको थियो। जुन एकदिवसीय इतिहासमा दोस्रो सबभन्दा कम उमेरका कप्तानको रेकर्ड हो।
पौडेल कप्तान बनेको समय नेपाल क्रिकेटका लागि निकै कठिन थियो। तत्कालीन कप्तान सन्दीप लामिछाने बलात्कारको आरोपमा निलम्बित भएको उक्त समय नेपाल विश्वकप सुपर लिग २ को अंक तालिकामा पुछारमा थियो। तर पौडेलको कप्तानीमा नेपालले १२ एकदिवसीय खेलमध्ये ११ वटा जितेर २०२३ जुनमा जिम्बाब्वेमा भएको विश्वकप छनोटमा स्थान सुरक्षित गर्यो। त्यसको केही समयपछि उनलाई टी-२० टोलीको पनि कप्तानी दिइयो र उनको नेतृत्वमा नेपालले २०१४ पछि पहिलो पटक टी-२० विश्वकपका लागि छनोट भयो।
पौडेलले ब्याटिङमा मुख्यत इनिङ्ग्स सम्हाल्ने भूमिका खेल्ने गरेका छन्। जुन भूमिका उनले बिहीबार युएईविरूद्ध पनि पूरा गरे।
उनी एकदिवसीयमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याट्सम्यान हुन्। यस्तै उनी नेपालका लागि सबै ढाँचामा सर्वाधिक रन बनाउने खेलाडीमध्ये एक हुन्।
उनले २०७५ को साउनमा नेदरल्यान्ड्सविरूद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका थिए। डेब्यू गर्दा रोहित १५ वर्ष ११ महिनाका थिए। कम उमेरमा ओडिआई डेब्यू गर्ने उनी विश्वकै चौथो कान्छा खेलाडी हुन्।
नवलपरासीको बर्दघाट-१४ मा जन्मेका रोहित परिवारका कान्छा छोरा हुन्। उनका बुवा कुमार पौडेल इन्डियन लाहुरे थिए। सचिन तेन्दुलकरका फ्यान पनि। उनी छोरालाई डाक्टर, इन्जिनियर वा अरू केही होइन क्रिकेटर नै बनाउने चाहन्थे।
रोहितका फुपूका छोरा बासुदेव थापाले २००१ मा यू-१९ टोलीबाट खेलिसकेका थिए। उनी पनि रोहितसँगै बस्थे।
उनी पढ्ने स्कुलमा पनि कहिलेकाहीँ क्रिकेट टुर्नामेन्ट हुन्थे। रोहित पढाइमा अब्बल थिएनन् तर क्रिकेटमा भने चौका र छक्का हानिदिन्थे।
सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टी-२० विश्वकप खेल्यो। त्यो प्रतियोगितामा नेपालले खेलेका सबै खेल उनले टेलिभिजनमा हेरे। त्यतिञ्जेलसम्म रहर पूरा गर्न क्रिकेट खेल्ने रोहितले त्यसपछि सोचे-अब म साँच्चै क्रिकेट खेल्छु।
आफ्नो मनको कुरा उनले आमा पाल्जिसलाई सुनाए- म क्रिकेट सिक्न काठमाडौं जान्छु। धेरै बाबुआमा एसएलसी सकेपछि मात्र कलेज पढ्न छोराछोरीलाई काठमाडौं पठाउँछन्। रोहितलाई पनि डर थियो, नाइँ, हुन्न भनिदिन्छन् कि!
आमाले रोहितको कुरा बुवालाई सुनाइन्। बुवाले हुन्न भनेनन् बरू काठमाडौंमा बस्ने भतिजीलाई क्रिकेट एकेडेमी खोज्न लगाए।
केही दिनपछि उनी दाइसँग सीमावर्ती भारतीय बजार ठुटीबारी गए। आफूलाई चाहिने बल, ब्याट,पञ्जासहित अरू किट किने। ती सामान किन्न २५ हजार खर्च भयो। बालुवाटारमा दिदीको डेरा थियो। उनी त्यहीँ बसे। साता दिनपछि १५ सय रूपैयाँ तिरेर बालुवाटार क्रिकेट एकेडेमी भर्ना भए।
एकेडेमीमा उनले डेढ वर्ष क्रिकेट सिके। बालुवाटार एकेडेमी टुर्नामेन्टमा भाग लिन्थ्यो। उनी पनि खेल्न जान्थे। त्यसरी जाँदा नै हो उनले टिभीमा देखेका राष्ट्रिय खेलाडीलाई प्रत्यक्ष देखेको। उनीसँगै क्रिकेट सिक्ने एकजना साथीले भने- यहाँभन्दा दिल्लीमा राम्रो क्रिकेट सिकाउँछ। हामी पनि उतै गएर सिकौं। उनले फेरि ममीलाई भने-म अब दिल्ली गएर क्रिकेट सिक्छु। परिवारले नाइँनास्ती गरेनन्। रोहित एक्लै दिल्ली हान्निए। गुरुचरण सिंह एकेडेमीमा चार महिना जति ट्रेनिङ गरे। अनि घर फर्किए।
सन् २०१६ को डिसेम्बरमा श्रीलंकामा एसिसी यू-१९ एसिया कप हुँदै थियो। त्यो प्रतियोगिता खेल्ने नेपाली खेलाडीको टुंगो थिएन। टिम बनाउन देशभरि ट्यालेन्ट हन्ट गरियो। राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, यू- १९ का प्रशिक्षक विनोद दास, प्राविधिक विशेषज्ञ रमन सिवाकोटी धनगढी, नेपालगञ्ज र भैरहवा गए।
भैरहवामा हुने ट्यालेन्ट हन्टबारे रोहितका दाइले थाहा पाएछन्। उनलै भने- त्यहाँ तँ जा। २०१५ को नोभेम्बरमा रोहितले ट्यालेन्ट हन्टमा भाग लिए। उनी छानिए।
त्यसपछि उनी यू-१९ को क्याम्पको लागि काठमाडौं आए। ट्यालेन्ट हन्टबाट आएका र पहिला खेलाडीसहित ५२ जनाको क्याम्प सुरू भयो। अर्को चरणमा २२ जना पुगे। रोहित त्यसमा परे। २२ जनाबाट श्रीलंका जाने १५ जनाको नाम छानियो। त्यसमा पनि रोहित अटाए।
धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो संस्करणमा उनलाई काठमाडौं गोल्डेन्सले किन्यो। त्यसमा उनले सम्झनलायक प्रर्दशन गर्न सकेनन्। यो बीचमा सिनियर टोलीको क्याम्पमा परे। त्यहाँ पनि उनले आफूलाई अब्बल साबित गर्न सकेनन्।
त्यसपछि काठमाडौंमा एभरेष्ट प्रिमियर लिग (इपिएल) भयो। भैरहवा गोल्डेन्सबाट खेलेका रोहित प्रतियोगितामा चम्किए। तल्लो क्रममा आएर उनले म्याच जिताउन महत्वपूर्ण पारीहरू खेलेर टिमलाई फाइनल पुर्याउन ठूलो योगदान दिए।
तेस्रो पटक उनी सिनिएर क्याम्पमा परे। क्याम्पमा भएको बेला छानिएका खेलाडीबीच भएको पहिलो खेलमा ५० रन हाने। त्यसपछि घाइते भए पनि उनी वर्ल्ड क्रिकेट लिग डिभिजन २ खेल्न नामिबिया जाने टिममा अटाए।
राजधानी छिरेको झन्डै ४ वर्षपछि २०७४ को फागुनमा रोहित नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरे, नामिबियाविरुद्ध। पहिलो खेलमा उनले शरद भेषावकरसँग ४० रनको साझेदारी गरे। आफूले १७ रन जोडे।