टिकटकमा हिजोआज एउटा गीत चर्चामा छ।
धेरै प्रयोगकर्तामाझ लोकप्रिय उक्त गीतले भन्छ-
वडाका घोडा, प्रदेशका बाघ, केन्द्रमा हात्ती छन्
जेसुकै गरून् बोल्दैनन् जनता ज्यादै नै जाति छन्।
पाँच मिनेटको प्यारोडी यो गीतका शब्दले ठ्याक्कै नेपाली जनताका बेदना बोलेको छ। कोरोनाभाइरसपछि सरकार र जनताबीचका दूरी र कथा उधिनेको छ।
हामी कुरा गर्दैछौं, ‘लकडाउन गाइजात्रा २०७७’ भित्र समेटिएको प्यारोडी गीतको। जुन गीत हिजोआज मानिसहरूले गुनगुनाउँछन्। उक्त गीतमा सयौं प्रयोगकर्ताले टिकटकमा अभिनय गरेका छन्।
कलाकार शिवशंकरप्रसाद रिजाल (जोगिन्दर पानवाला) ले यसवर्षको गाइजात्रा लक्षित गर्दै ओएसआर डिजिटलबाट युट्युबमा सार्वजनिक गरेको लकडाउनभित्र यस्तै व्यंग्यात्मक शब्दको झटारोले जनतादेखि सरकारलाई प्रहार गरिएको छ।
उक्त गाइजात्रामा अहिलेको सरकारलाई पनि व्यंग गर्दै भनिएको छ-
‘लकडाउन भयो कयौं दिन गयो दिन काट्यो बसेर
दुई तिहाइ सरकार लुट्नमा लाग्यो कम्मरै कसेर।
वडाका घोडा प्रदेशका बाघ केन्द्रमा हात्ती छन्
जेसुकै गरून् बोल्दैनन् जनता ज्यादै नै जाति छन्
कसरी सुध्रिन्छ यो देश कसरी सुध्रिन्छ
सिलाउने प्रयास गर्दैनन् कोही नि झन् धेरै उध्रिन्छ।’
जुलाई १३ मा युट्युबमा सार्वजनिक लकडाउन गाइजात्राभित्रको यो गीत युट्युबमा आइतबारसम्म चार लाख २१ हजार बढी पटक हेरिसकिएको छ।
यो गीतका शब्द उनै कलाकार जोगिन्दरले जुटाएका हुन् भने राधिका हमाल र शशिविक्रम थापाले स्वर भरिदिएर कर्णप्रिय बनाएका छन्। संगीत ओरिजिनल गीत (गोजीमा दाम छैन) बाटै राखिएको हो।
गाईजात्रे गीतमा यस्ता शब्द राख्ने कन्सेप्ट कसरी आयो त? हामीले जोगिन्दरसँग सोध्यौं।
‘गाईजात्रा निकाल्दा एउटा गीत चाहिन्छ भनेर ओएसआरले भन्यो। आधा घण्टा लामो गाइजात्रामा पाँच मिनेटको गीत राख्यो भने हेर्नेलाई पनि रमाइलो हुने। त्यही भएर शब्दहरू कोरें। यसो हेरें बहुत राम्रा देखिए। सुनिए। गाईजात्रामा राख्ने खालको स्वीटेबल प्यारोडी गीत बन्यो। साथीहरूलाई गाउन दिएँ। जब यो सार्वजनिक भयो रातारात हिट!’
टिकटकमा यो गीतका शब्द हिट हुनुमा समसामयिक विषयवस्तु समेटिएको उनले बताए।
‘समसामयिक परिस्थिति क्याच गर्न सकेन भने गाईजात्रा हुन्न। शब्द राम्रा थिए, संगीत पहिलेदेखिकै हिट गीतको हो,’ उनले सेतोपाटीसँग भने, ‘समसामयिक विषयवस्तु र परिस्थिति लक्षित गरेर शब्द बुनेकोले गीत हिट भयो।’
उनले उक्त गीतमा धेरै प्रयोगकर्ताले अभिनय गर्दै टिकटक राखेकोमा खुसी जनाए। अविरल वर्षा हुँदा कच्ची सडक हिलो भएको र मोटरसाइकल चालकहरू हिलोमा लतपतिएका फोटा/भिडिओमा यो गीत राखेर टिकटक हिट भइरहेका छन्।
जोगिन्दरको यो १७ औं गाइजात्रे कोसेली हो। उनले २०५९ सालबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेदेखि वर्षेनी सरकारदेखि जनतासम्मलाई व्यंग कस्दै गाइजात्रे कोसेली ल्याएका छन्।
सर्लाही पिपराभित्ताका उनी २०५२ सालमा एसएससी दिएपछि काठमाडौं आएका थिए। उनी लामो समय सरकारी जागिरे पनि रहे। कलाकारितातर्फ नै जमेपछि पाँच वर्षअघि उनी सरकारी सेवाबाट बाहिरिएका थिए।
उनको लकडाउन गाईजात्रा युट्युबमा धेरै हेरिनुमा नेतालाई व्यंग कस्नु पनि हो।
‘नेतामा आँट छैन हाम्रो सरकारमा दम छैन
जनताको विश्वास गुमेको नेता केहि पनि काम छैन
बन्दा र बन्दी कोरोनापछि भ्रष्टाचार उर्लेको
दश अरब राहत दिएको भनि के खान कुर्लेको।
नक्सा त छापे सबैको साथले फर्काउने आँट छैन
गुमेको भूमि फर्काउन मन छ कसैको साथ छैन
नेताले जनतालाई अनेक थरि कुरा गरेर नचाउने तर मन्त्रीहरू विभिन्न काण्डमा परे भने प्रधानमन्त्रीले जोगाउने गरेको भनेर पनि उनले व्यंग गरेका छन्।
उनले प्यारोडी गरेको गीतले मुख्य गरी भनेको छ, ‘कमिसन खाने हाम्रा यी मन्त्री संकटमा देखियो, कोरोनाभन्दा डरलाग्दो भाइरस नेता पो भेटियो।’
कोरोना महामारीलाई जोड्दै उनले जनताको मर्म नबुझ्ने नेता कोही पनि नभएको उल्लेख गरेका छन्।