दसैंको फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'माइतीघर' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे जानकारी दिएको छ।
प्रकाश सपुत र उपासना सिंह ठकुरीबीचको प्रेममा धिरज मगरको प्रवेशपश्चात आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ। केदार घिमिरेको भूमिका रमाइलो रहेको उनका संवादबाट बुझन् सकिन्छ।
ट्रेलर हेर्दा फिल्म सामाजिक कथावस्तुमा पारिवारिक र मनोरञ्जनात्मक बनेको अनुमान गर्न सकिन्छ। फिल्मले तामाङ संस्कृतिको कथालाई पनि उठाएको छ।
रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको 'माइतीघर' मा धिरज मगर, प्रकाश सपुत, केदार घिमिरे, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरूङलगायत कलाकारहरूको अभिनय छ।
मिलन तामाङको निर्देशनमा बनेको फिल्मको लेखक रामशरण पाठक हुन्। निर्माता रविन शेरचन र धिरज तामाङ हुन भने कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल छन्।