दर्शकमाझ राम्रो चर्चा कमाएको हास्य टेलिसिरियल 'सक्किगोनि' पछिल्लो ६ महिनादेखि प्रसारणमा छैन।
'सक्किगोनि' को टिमले फिल्म 'लाज शरणम्' प्रदर्शनमा ल्याएपछि सिरियल रोकिएको थियो। तेस्रो सिजनको ९३ भागपछि नयाँ सिजनको तयारीका लागि विश्राम लिएको त्यसबेला निर्माण पक्षले बताएको थियो।
सिरियललाई कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले संयुक्त रूपमा लेखन तथा निर्देशन गर्दै आएका थिए। तर, रोकिएको महिनौंसम्म सिरियल पुनः दर्शकमाझ आउन नसक्दा यसको प्रसारणलाई लिएर अन्योल देखिएको छ।
फिल्म 'लाज शरणम्' कुमार कट्टेलको निर्देशनमा बनेको थियो। राम्रो व्यापार गरेको यो फिल्ममा 'सक्किगोनि' का अर्का निर्देशक अर्जुन घिमिरे कार्यकारी निर्माता र कलाकार थिए। यतिबेला भने अर्जुन आफै फिल्म निर्देशनमा व्यस्त छन्। अर्जुनको निर्देशनमा फिल्म 'झरीपछिको इन्द्रेणी' को छायांकन अन्तिम चरणमा पुगेको छ।
गत फागुन १४ गते रिलिज भएको 'लाज शरणम्' मा सागर लम्साल, हरिश निरौला, अर्जुन घिमिरे, प्रियना आचार्य, कमलमणि नेपाल, सीतादेवी तिमल्सेनालगायत सिरियलका धेरै कलाकारहरू जोडिएका थिए।
अर्जुन घिमिरेको फिल्म 'झरीपछिको इन्द्रेणी' मा भने सिरियलबाट प्रियाना आचार्य 'मुन्नी' मात्रै छिन्।
यो फिल्ममा दीपाश्री निरौला, रमेश उप्रेती, गणेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी)का साथमा अर्जुन स्वयंको अभिनय रहनेछ।
'सक्किगोनि' मा काकुको भूमिकाबाट चर्चामा आएका अर्का कलाकार दीपक आचार्य पनि फिल्म निर्देशनमा होमिएका छन्।
सिरियलको क्रियटिभ टिममा समेत रहेर काम गरेका आचार्यले फिल्म 'परान' निर्देशन गरेका हुन्। बिहीबार मात्रै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको यो फिल्म कात्तिक १४ देखि प्रदर्शनमा आउँदैछ। यो फिल्ममा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा छन्। साथमा मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, अञ्जना बराईली, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ।
सिरियल अन्योलमा
सिरियल आउने/नआउनेबारे निर्माण पक्षले स्पष्ट रूपमा आधिकारिक घोषणा भने गरेको छैन। जसका कारण सिरियलको प्रसारणलाई लिएर अन्योलता देखिएको छ।
'सक्किगोनि' रोकिएसँगै यसका केही कलाकारहरू ‘धनपुरे टोल’ नामक सिरियलमा समेत देखिएका थिए। यो सिरियल पनि केही एपिसोडपछि रोकिएको छ।