तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको फिल्म 'वरिष्ठ बलराम' का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। जसमध्ये एउटा पोस्टरमा अभिनेता दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकारहरू पनि छन्।
दयाहाङ र विजयले मुख्य स्थान पाएको पोस्टरमा बाँकी अन्य कलाकारहरूलाई पनि देख्न सकिन्छ। पोस्टरमा दयाहाङ सोचमग्न छन् भने विजय पनि केही सोच्दै रिसाएको भावमा कसैलाई नियालिरहेका छन्। पोस्टरमा अभिनेत्री समृद्धि अर्याल भने मुस्कानमा देखिएकी छन्। दयाहाङ, विजय र समृद्धिसँगै अन्य पाँच कलाकारहरू पनि पोस्टरमा देखिएका छन्। उनीहरू तीनवटा बाइकमा कसैलाई पिछा गरिरहेका छन्। एउटा बाइक भने विजय स्वयंले चलाएका छन्। अर्को एउटा बाइक मधेसीको गेटअपमा प्रदीप चौधरीले चलाइरहेका छन्।
पोस्टरले फिल्मको कथाबारे संकेत गरे पनि स्पष्ट छैन।
अर्को पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ र विजय मात्र छन्। जसमा यी दुई एक–अर्कासँग हात समातेर एक–अर्कालाई रोक्न खोजेको वा एकअर्काविरूद्ध उत्रिएको अवस्थामा देखिएका छन्।
यो पोस्टरले उनीहरू दुई आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेको समेत अनुमान गर्न सकिन्छ।
शीर्षकअनुसार फिल्ममा एकले अर्कोलाई जितेर आफू वरिष्ठ भएको प्रमाणित गर्न चाहने पनि यो पोस्टरले संकेत गरेको छ।
पृष्ठभूमिमा खुला सडक कुनै औद्योगिक क्षेत्रजस्तो देखिन्छ। जहाँ ठूला सवारी साधनहरू (ट्रिपर) देखिएका छन्। जसका कारण दयाहाङ र विजय ठेक्कापट्टामा रहेका हुन कि भन्ने अनुमान पनि लगाउन सकिन्छ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको 'वरिष्ठ बलराम' पोस्ट प्रोडक्सनमा छ। यसमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरूङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन्। सामाजिक कथावस्तुमा आधारित 'वरिष्ठ बलराम' मनकृष्ण महर्जनले छायांकन गरेका हुन्।

