दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार भएको छ।
मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले रड र लाठी प्रहार गरेर फरार भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको छ।
१० जना जति समूहले कार्यालयमा प्रवेश गरी आक्रमण गरेको गाउँपालिका अध्यक्ष डाँगीले बताए।
उनलाई अहिले तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए।
'विप्लव समूहले नै आक्रमण गरेको हुनुपर्छ। कार्यालयमा पर्चा भेटिएको छ,'उनले सेतोपाटीसँग भने।
फर्साराम डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
(सम्पादन गरिएको)